
१७ माघ, काठमाडौं। पोर्चुगलमा आइतबार भएको संसदीय निर्वाचनमा सत्तारुढ समाजवादी पार्टीले अनपेक्षित बहुमत प्राप्त गरेको छ ।
प्रधानमन्त्री एन्टोनियो कोस्टाको मध्य-बामपन्थी दल सोसलिस्ट पार्टीले २३० सिटका लागि सम्पन्न संसदीय निर्वाचनमा ११७ सिट जितेको अन्तर्राष्ट्रिय समाचार माध्यमले जनाएका छन्। योसँगै अघिल्लो चुनावमा १०८ सिट जितेको सत्तारुढ दलले प्रस्त बहुमत प्राप्त गरेको छ ।
कोभिड-१९ को महामारीबीच सम्पन्न अग्रिम चुनावमा सत्तारुढ दललाई धक्का लाग्ने अपेक्षा गरिएको थियो । निर्वाचनअघि भएका मत सर्वेक्षणले समेत सत्तारुढ मध्य-बामपन्थी समाजवादी पार्टीप्रति जनसमर्थन घट्दै गएको देखाएका थिए । तर मत परिणाम भने ठीक उल्टो आएको छ ।
‘प्रस्ट बहुमतको अर्थ निरपेक्ष शक्ति भन्ने होइन । यसको अर्थ एक्लै शासन गर्ने भन्ने होइन’, विजयी भएपछि प्रधानमन्त्री कोस्टाले भने, ‘यसको अर्थ जिम्मेवारी थपिएको र पोर्चुगलका सबै जनतासँग मिलेर सबैका लागि शासन गर्ने भन्ने हो ।’
आइतबार सम्पन्न निर्वाचनमा दक्षिणपन्थी दल चेगाले समेत यसअघि भन्दा बढी सिट जित्दै संसदमा तेस्रो ठूलो दल बनेको बीबीसीले जनाएको छ । अघिल्लो निर्वाचनमा केबल १ सिट जितेको उक्त दलले १२ सिट पुर्याएको हो। प्रमुख प्रतिपक्षी एवं मध्य-दक्षिणपन्थी दल सोसल डेमोक्रेटले ७१ स्थानमा जीत हात पारेको समाचारमा उल्लेख छ ।
सत्तारुढ दलले संसदमा पेश गरेको बजेट अस्वीकृत भएपछि त्यहाँका राष्ट्रपति मार्सेलो रेबेलो डी सुजाले नोभेम्बरमा संसद विघटन गरी अग्रिम चुनावको घोषणा गरेका थिए । कोस्टाको नेतृत्वमा रहेको गठबन्धन सरकारमा सहभागी बामपन्थी दलले असहयोग गरेपछि संसदबाट बजेट पारित हुन सकेको थिएन ।
प्रतिक्रिया 4