+
+
मेरो जीवनशैली :

बिहान फ्रेस भइसकेपछि पितृलाई सम्झिन्छु : माओत्से गुरुङ

सम्झना विक सम्झना विक
२०७८ माघ १७ गते १२:५९

१७ माघ, काठमाडौं । जीवन्त अभिनयका कारण दर्शकमाझ लोकप्रिय कलाकार हुन्, माओत्से गुरुङ । नाटकको पृष्ठभूमिबाट आएका गुरुङलाई टेलिशृंखला ‘दलन’ले धेरै दर्शकमाझ परिचित गरायो । त्यसपछि उनले ठूलो पर्दाका चलचित्रमा अभिनय गरे । उनले ‘कबड्डी-कबड्डी’ र ‘पुरानो ढुंगा’मा गरेको जीवन्त अभिनयलाई निकै रुचाइयो ।

पोखरामै बसेर कलाकारितामा सक्रिय गुरुङ यदाकदा म्युजिक भिडियोमा पनि अभिनय गर्छन् । उनले कर्णदासको स्वर रहेको ‘पुरानो ढुंगा’गीतमा गरेको अभिनयलाई अझै पनि दर्शकहरुले सम्झिन्छन् ।

गुरुङ अभिनयका साथै निर्देशन पनि गर्छन् । उनी विशेषगरी गुरुङ भाषाका चलचित्र निर्देशन गर्दछन् । गुरुङ कला, संस्कृति र रीतिरिवाजलाई सिनेमाको माध्यमबाट अभिव्यक्त गर्न चाहने कलाकार माओत्से गुरुङको दिनचर्या कस्तो छ ? उनका रुचिहरु के के छन् ? लगायतका विषय उनकै शब्दमा-

फ्रेस भएपछि पितृलाई सम्झिन्छु

मेरो उठ्ने तालिका जाडो र गर्मी मौसमअनुसार फरक हुन्छ । जाडोमा साढे ६ बजे र गर्मीमा पाँच बजे उठिसक्छु । उठ्नासाथ दुई गिलास मनतातो पानी पिएसँगै आधा घण्टादेखि ४५ मिनेटसम्म हिँड्छु ।

अनि घर आएर फ्रेस हुन्छु । फ्रेस भइसकेपछि पितृलाई सम्झिएर पूजा गर्छु । त्यसपछि कालो चिया पिउँछु । नास्तामा रोटी, वन तरुल, मकै भटमास हुन्छ भने कहिले बेलुका बनाएको बासी मःम पनि तताएर खान्छु । मेरो घर फर्किने समय प्रायः साँझ छ बजे हो । काम धेरै छ भने त जति पनि बज्न सक्छ ।

मेरो खाना

खानाको मामलामा म एकदमै सजिलो छु । बिहानको खाना ११ देखि साढे ११ बजेसम्म खाइसक्छु । बिहान घरमा पाकेको कोदो वा मकैको ढिंडो, दाल भात तरकारी यस्तै हुन् । बेलुकाको खाना ७ बजे खान्छु । बेलुका म भात खान्नँ । बेलुका २-३ वटा रोटीसँग तरकारी हुन्छ ।

गुन्द्रक भट्टको झोलसँग ढिंडो मेरो प्रिय खाना हो । समय मिल्दासम्म खाना बनाउँछु । रुपा ताल र बेगनास तालको सिरानमा हुर्किएको मान्छे भएकाले पनि माछा धेरै मन पर्छ । मलाई आफैंले बनाउने परिकारमा माछा मीठो लाग्छ । श्रीमती, आफन्त र साथीभाइले पनि माछा स्वादिलो बनाउँछ भन्छन् । बेलुका १० देखि ११ बजेसम्म सुतिसकेको हुन्छु ।

मेरो पहिरन

म साधारण लुगा लगाउने मान्छे हुँ । मेरो ज्यानमा लुगा फिट हुनुप¥यो । जाडोमा न्यानो बनाउने र गर्मीमा शीतलता दिने लुगा नै मेरो रोजाइमा पर्छ । मेरो शरीर एकदमै मोटो भएकाले जिन्स भने लगाउँदिनँ । कपडाको पाइन्ट, हाफ पाइन्ट, सर्ट, टीसर्ट यस्तै धेरै लगाउँछु ।

सिर्जनाको समय

म सिनेमा लेख्छु भनेर कहिले पनि लेख्न सक्दिनँ । सिनेमा बनाउन वा लेख्नको लागि कुनै न कुनै घटनाले छुनुपर्छ । पढेर, कसैको कथा सुनेर वा घटना देखेर नै हुने हो । लेख्नकै लागि भनेर कलम कापी समाएर म लेख्न सक्दिनँ । अरुका सिनेमामा काम गर्र्दा मेरो चरित्रको बारेमा कथाकार तथा निर्देशक बसेर छलफल गर्छु । चरित्रमा डुबेर काम गर्छु ।

मेरो रुचि

अभिनयसँगै मेरा अन्य रुचि धेरै छन् । तरकारी, फूल रोप्न, गोडमेल गर्न एकदमै मन पर्छ । जवानीको बेलामा खेलकुदप्रति एकदमै रुचि थियो । टेलिभिजनमा फुटबल, क्रिकेट हेर्छु ।  साथीभाइसँग स्नुकर पनि खेल्छु ।

यात्रा गर्न पनि धेरै मन पर्छ । समय मिल्दासम्म यात्रामा निस्किन्छु । सिनेमा हेर्न त मनपर्ने भइहाल्यो । म सबै प्रकारका सिनेमा हेर्छु, तर यथार्थपरक सिनेमाले मलाई तान्छ । इरानी, रसियन लगायत विदेशी तथा स्वदेशी सिनेमा हेर्छु । पुस्तक पढ्नु मेरो अर्को रुचि हो । समाज नबुझेको मान्छेले सिनेमा बनाउन पनि सक्दैन र अभिनय गर्न पनि । पुस्तकले यसमा धेरै सहयोग गर्छ । आजभोलि आँखा कमजोर भएकाले पढ्न अलि गाह्रो हुन्छ । त्यसैले उपन्यास, आख्यानहरु युटुयबमा सुन्छु ।

तस्वीरहरु : माओत्से गुरुङको फेसबुकबाट

लेखकको बारेमा
सम्झना विक

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?