+
+

टेनिसका सर्वाधिक सफल खेलाडी नाडाल

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ १७ गते १७:०७

१७ माघ, काठमाडौं। स्पेनिस टेनिस खेलाडी राफेल नाडालले आइतबार मेलवर्न पार्कमा सम्पन्न अष्ट्रेलियन ओपनको फाइनलमा रसियन डानिएल मेदभेदेभलाई हराएर २१औं ग्राण्डस्लाम उपाधि जित्ने कीर्तिमान बनाए ।

दोस्रो पटक अष्ट्रेलियन ओपनको उपाधि उचालेका नाडाल २१औं ग्राण्डस्लाम जित्ने पहिलो खेलाडी बने । उनले अर्का दुई प्रतिस्पर्धी स्वीट्जरल्याण्डका रोजर फेडेरर र सर्वियाका नोभाक जोकोभिच भन्दा १ उपाधि बढि जितेका छन् ।

फेडेरर र जोकोभिचले समान २० उपाधि जितेका छन् । सर्वाधिक ग्राण्डस्लाम उपाधि जितेको हिसाबले पनि ३५ वर्षीय टेनिसको सर्वाधिक सफल खेलाडीको रुपमा स्थापित भएका छन् ।

सन् २००५ मा फ्रेन्च ओपनको उपाधि जित्दै पहिलो ग्राण्डस्लाम उपाधि जितेका नाडालले १७ वर्षमा २१ उपाधि जितेका हुन् ।

नाडाल, फेडेरर, जोकोभिचलाई आधुनिक टेनिसको बीग थ्री मानिन्छ । त्यसमा पनि नाडाल कीर्तिमान बनाउँदै एक स्टेप अघि बढिसकेका छन् ।

कोरोनाको खोप नलगाए पछि अष्ट्रेलियाको भिसा रद्द भएर विश्व नम्बर १ खेलाडी जोकोभिच घर फर्कनु र स्वीस स्टार फेडेरर चोटका कारण कोर्ट बाहिर रहँदा यस पटक बिग थ्रीका नाडाल मात्र अष्ट्रेलियन ओपनमा खेलेका थिए ।

गत सिजन फाइनलमा जोकोभिचसंग पराजित भएका रसियन मेदभेदेभ लगातार दोस्रो पटक मेलवर्नमा फाइनल खेल्दै थिए । २०२१ को अन्तिम ग्राण्डस्लाम युएस ओपन जितेका मेदभेदेव लगातार दोस्रो उपाधि जित्ने अभियानमा थिए ।

तर नाडाले दुई सेटले पछि परेको स्थितीमा उत्कृष्ट पुनरागमन गर्दै मेदभेदेभलाई ५ सेटमा हराए । ५ घण्टा २४ मिनेट चलेको खेलमा नाडालले मेदभेदेभलाई २-६, ५-७, ६-४, ६-४, ७-५ ले पराजित गरे ।

उनी सन् १९६५ मा रोय एमरसनपछि सुरुको दुई सेट गुमाएर पनि अष्ट्रेलियन ओपन जित्ने पहिलो खेलाडी बने ।

अष्ट्रियन ओपनमा यो दोस्रो लामो फाइनल हो । सन् २०१२ मा नाडाल जोकोभिचसंग फाइनलमा पराजित हुँदा उक्त खेल ५ घण्टा ५३ मिनेट चलेको थियो ।

यस जितपछि नाडालले अष्ट्रेलियन ओपनको फाइनलमा ४ हारको श्रृङ्खलालाई तोडेका छन् । सन् २००९ पछि पहिलो पटक अष्ट्रेलियन ओपन जितेका नाडाल चारवटै ग्राण्ड्सलाम कम्तीमा २ पटक जित्ने चौथो खेलाडीसमेत बनेका छन् ।

नाडालले कीर्तिमानी १३ पटक फ्रेन्च ओपनको उपाधि जितेका छन् भने युएस ओपनर ४ पटक र विम्बलडन ओपन २ पटक जितेका छन् ।

कीर्तीमानी २१ औं पटक ग्राण्डस्लाम उपाधि जितेपछिको एक कार्यक्रममा नाडाल भावुक बनेका थिए । उनले डेढ महिनाअघि मात्र आफू टेनिस टुरमा खेल्न सक्षम छु भन्ने समेत थाहा नभएको बताउदै यो आफ्नो सबैभन्दा भावनात्मक क्षणमध्ये एक भएको बताए ।

‘गुड इभिनिङ । होइन गुड मर्निङ ! नाडालले आफ्नो घडी हेर्दै बोल्न सुरु गर्दा स्थानीय समय अनुसार रातीको साढे १ बजेको थियो ।

‘मेरो लागि, यो अचम्मको छ । इमान्दार भएर भन्नुपर्दा, डेढ महिना अघि, मलाई थाहा थिएन कि म फेरि टुरमा खेल्न सक्षम हुनेछु, ‘नाडालले भने, ‘नि:सन्देह, यो मेरो टेनिस करियरको सबैभन्दा भावनात्मक महिनाहरू मध्ये एक हो ।’

नाडालले २९ ग्राण्डस्लाम फाइनल खेल्दा २१ मा उपाधि जितेका छन् । फेडेरर र जोकोभिचले ३१ पटक फाइनल खेल्दा समान २० पटक उपाधि जितेका छन् । रोड लेभर एरेनाको पृष्ठभूमिमा एक महिलाले राफा इज दि जीओएटी (गोट) साइन देखाएकी थिइन् ।

अहिलेका लागि उपाधि जितेको हिसावमा पनि नाडाल टेनिसको ‘गोट’ नै हुन् ।

सुरुवाती सफलता

युवा अवस्थादेखि नै नाडाल टेनिसमा अब्बल थिए । जतिबेला उनी आफू भन्दा पाका खेलाडीलाई हराउँथे ।

उनले ८ वर्षको उमेरमा यू-१२ को क्षेत्रीय उपाधि जितेका थिए । १२ वर्षको हुँदा उनले स्पानिस र युरोपियन उमेर समूहको जुनियर उपाधि जिते । १५ वर्षमा उनी प्रो (व्यावसियक) बने र दुई वर्षपछि उनले फेडेरर विरुद्ध आफ्नो पहिलो खेल जिते ।

१९ वर्षको उमेरमा नाडालले डेब्युमै फ्रेन्च ओपनको उपाधि जिते । त्यसपछि १६ संस्करण हुँदा नाडालले १२ पटक त फ्रेन्च ओपन नै जिते ।

नाडालले २००८ र २०१९ मा विम्बल्डन जिते । यस्तै २००९ मा अष्ट्रेलियन ओपन जिते र २०१० को युएस ओपनमा जोकोभिचलाई फाइनलमा पराजित गर्दै करियर स्लाम (चारै ग्राण्डस्लाम जित्ने) पूरा गरे ।

चारै ग्राण्डस्लाम जित्ने नाडाल सबैभन्दा युवा खेलाडी समेत बने ।

नाडाल र आन्द्रे आगामी मात्र त्यस्ता खेलाडी हुन्, जसले करियर ग्राण्डस्लामका साथै ओलम्पिक स्वर्ण पदकसमेत जितेका छन् । नाडालले २००८ को बेइजिङ ओपम्पिकमा स्वर्ण जितेका थिए ।

घुँडा, खुट्टा र नाडीको चोटका कारण नाडालको करियरमा केही ब्रेक भएको थियो जसले गर्दा उनले ११ ग्राण्डस्लाम खेल्न पाएनन् ।

सन् २०१५ र २०१६ मा ग्राण्ड स्लामको सेमिफाइनलमा पुग्न नसकेपछि केहीले उनको ग्रेटेस्ट मोमेन्ट पछाडि परेको प्रतिक्रिया दिएका थिए ।

तर नाडालले २०१७ मा दशौँ फ्रेन्च ओपन उपाधि जिते र त्यही वर्ष सेम्टेम्बरमा युएस ओपन पनि जिते ।

नाडाल, पिट साम्प्रास र केन रोसवेलले मात्र टिन एज, ट्वेन्टिज र थर्टीजमा ग्राण्डस्लाम उपाधि जितेका छन् ।

नाडालले जितेका २१ ग्राण्डस्लाम उपाधि

अष्ट्रेलियन ओपन (२ पटक) : २००९, २०२२

फ्रेन्च ओपन (१३ पटक) : २००५, २००६, २००७, २००८, २०१०, २०११, २०१२, २०१३, २०१४, २०१७,२०१८, २०१९, २०२०

विम्बलडन ओपन (२ पटक) : २००८, २०१०

युएस ओपन (२ पटक) : २०१०, २०१३, २०१७, २०१९

एपी र एएफफीबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?