+
+

७० करोडको राष्ट्रिय पुस्तकालय भवनको ठेक्कामा सेटिङ !

रवीन्द्र घिमिरे रवीन्द्र घिमिरे
२०७८ माघ १७ गते २१:४०

१७ माघ, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गतको नेपाल राष्ट्रिय  पुस्तकालयले जमलमा बनाउन लागेको पुस्तकालय भवन निर्माणका लागि गरेको टेन्डरमा प्रतिस्पर्धा खुम्च्याएको भन्दै प्रश्न उठेको छ । गत माघ १० गते मन्त्रालयले गरेको टेन्डरमा प्रतिस्पर्धा सीमित गरिएकोले मिलेमतोको आशंका गरिएको छ ।

मन्त्रालयले प्रकाशित गरेको टेन्डरअनुसार १० वर्षभित्र कम्तीमा ५७ करोड ७४ लाख ९८ हजार रुपैयाँ बराबरको एउटा डबल बेसमेन्ट भवन निर्माण गरेको कम्पनी मात्रै ठेक्कामा सहभागी हुन पाउँछन् । मन्त्रालयका एक अधिकारीका अनुसार सकेसम्म थोरै कम्पनी सहभागी गराउने र एउटा मात्रै कम्पनीलाई प्राविधिक मूल्यांकनमा पास गराउने पूर्वयोजना अनुरुप नै ठेक्का प्रकाशित भएको हो ।

‘एउटा ज्वाइन्ट भेन्चर कम्पनीलाई ल्याउने योजनाअनुसार टेन्डर प्रकाशन भएको हो’ ती अधिकारीले भने,’टेन्डरमा अधिकतम योग्यता र शर्त एउटा कम्पनीलाई मात्रै मिल्ने गरी तोकिएको छ भने केही योग्यता सो कम्पनीसँग जेभीमा आउने तय भएको अर्को कम्पनीसँग मात्रै मिल्ने गरी राखिएको छ ।’ ७० करोड लागत अनुमानको यो भवनको ठेक्का १-२ प्रतिशत मात्रै घट्ने गरी तय भएको ती अधिकारीको दावी छ ।

नेपालमा डबल बेसमेन्ट भवन निर्माणको अनुभव हासिल गरेका कम्पनीको संख्या सीमित छ, त्यसमाथि भवनको बेसमेन्ट निर्माणभित्र पनि साना-साना क्राइटेरिया तोकेर प्रतिस्पर्धा खुम्च्याइएको छ । टेन्डरको सूचनाअनुसार एउटै भवनमा प्रतिबेसमेन्ट १३८५ वर्गमिटरमा ६०० एमएम मोटाइको १४ मिटर गहिरो पाइलिङ गरेको कम्पनी मात्रै यो ठेक्काको प्राविधिक मूल्यांकनमा पास हुनसक्छ । त्यति मात्रै नभएर डबल बेसमेन्टमा एम ३० र त्यसभन्दा माथिको क्रंक्रिटिङको विशेष अनुभव (४००० घनमिटर) मागिएको छ । यसले एउटै भवनमा डबल बेसमेन्टमा मात्रै काम गरेको अनुभवले नहुने र क्रंक्रिटिङका ठूलो काम गरेको अनुभव पनि चाहिने छ ।

शहरी विकास तथा भवन निर्माण विभागका एक इन्जिनियरका अनुसार स्वच्छ प्रतिस्पर्धा हुने गरी भएका यो भन्दा ठूला भवनका ठेक्कामा पनि यस्ता ‘स्पेसिफक’ अनुभव र योग्यताहरु मागिंदैन । ‘नेपालमा डबल बेसमेन्ट भवन बनाउन थालेको धेरै वर्ष नै भएको छैन, त्यसमाथि डबल बेसमेन्टभित्रै पनि यति स्पेसिफिक योग्यता पूरा गन सक्ने कम्पनी एक-दुई वटा मात्रै छन्,’ ती अधिकारीले भने,’यो पनि अनुभव माग्ने नाममा पहिल्यै कम्पनी छनोट गरेर ठेक्का गर्ने क्रमको सिलसिला हो ।’

अझ रोचक के छ भने मूल रुपमा पुस्तकालय भवनको लागि भएको टेन्डरमा कम्तीमा ५०० जना अट्ने अडिटाेरियम र सभाहल निर्माण गरेको अनुभव पनि अनिवार्य गरिएको छ । यस्तो अनभुव नेपालमा समानान्तर निर्माण सेवासहित केही सीमित कम्पनीसँग मात्रै भएको व्यवसायी बताउँछन् । समानान्तर निर्माण सेवाले गोदावरी, सुर्खेत लगायतका स्थानमा हालसालै ठूलो क्षमताको सभाहल बनाएर अनुभव हासिल गरेको छ । यस्तो अनुभव हालसालै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार ठहर गरेको काठमाडौं महानगरपालिकाको प्रशासनिक भवनको ठेक्कामा पनि यस्तै स्पेसिफिक प्राविधिक योग्यताहरु राखिएको थियो ।

यो ठेक्कामा प्राविधिक रुपमा योग्य हुन मन्दिर तथा पुरातात्विक क्षेत्रमा निर्माणको काम गरेको अनुभव पनि मागिएको छ । त्यसैगरी अन्तर्राष्ट्रिस्तरको पुस्तकालय भवन बनाएको योग्यता पनि चाहिने भनिएको छ । अन्तर्राष्ट्रियस्तरको पुस्तकालय भवन निर्माण अनुभव नेपालमा निकै सीमित कम्पनीसँग छ ।

के भन्छ पुस्तकालय ? 

राष्ट्रिय पुस्तकालयका प्रमुख दशरथ मिश्र आफू हालसालै मात्रै पुस्तकालयको प्रमुख लाइब्रेरियन भएर आएको र यसअघि नै टेन्डरका लागि सबै प्राविधिक तयारी भएकाले यसबारे धेरै विषय थाहा नभएको बताउँछन् ।

‘टेन्डरको सूचना प्रकाशित भएको छ, फागुन एक गते प्रि-बिड मिटिङ हुन्छ,’ उनले भने,’त्यही बेला निर्माण व्यवसायीले अन्याय महशुस गर्नुभयो भने गुनासो गर्न सक्नुहुन्छ ।’ यसबारे सोही दिनमा प्राविधिकहरुले टेन्डरबारे उठेका प्रश्नको जवाफ दिने दासले बताए । उनले यदि प्रतिस्पर्धा खुम्चिने अवस्था भए बोलपत्रको शर्त र योग्यताहरु संशोधन गर्न सकिने बताए ।

‘पुस्तकालय भवन बन्ने क्षेत्रमा गुठीको एउटा पुराना मन्दिर पनि भएकाले मन्दिर र पुरातात्विक क्षत्रेमा काम गरेको योग्यता पनि मागेका हौं,’ उनले भने, अरु प्राविधिक विषयमा प्रश्न उठेमा हामी प्रि-बिड मिटिङमै जवाफ दिन्छौं ।’

सरकारले अपांग, बालबालिका र ज्येष्ठ नागरिकमैत्री हुने गरी ५ तले भवन बनाउन लागेको हो । २०१३ पुसमा हरिहरभवनमा स्थापना भएको पुस्तकालय भूकम्पमा क्षतिग्रस्त भएपछि जमलमा नयाँ भवन बनाएर सार्न लागिएको हो ।

पुस्तकालयको पुस्तकहरू अहिले सानोठिमीमा लगेर सुरक्षित रुपमा राखिएको छ । भवन बनेपछि आधुनिक रुपमा पुस्तकालय सञ्चालन गर्ने योजना छ । तर, शुरूमा जग्गाको स्वामित्वबारे विवादमा फसेको पुस्तकालय अहिले फेरि टेन्डरमा भएको मिलेमतोका कारण विवादमा पर्ने देखिएको छ ।

लेखकको बारेमा
रवीन्द्र घिमिरे

घिमिरे अनलाइनखबरका प्रशासन संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?