
१७ माघ, काठमाडौं। काठमाडौं महानगरपालिका-७ स्थित चाबहिल मित्रपार्कको ओरालोमा चार जना युवाबीच झगडा हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेको नाम खुलेको छैन ।
महानगरीय प्रहरी वृत्त, गौशालाका डीएसपी केशव भट्टराईका अनुसार झगडामा संलग्न गुल्मी घर भई सिफल बस्दै आएका ३८ वर्षीय रुद्रबहादुर केसी र उदयपुरको बेलटार नगरपालिका-७ घर भई चाबहिल बस्दै आएका २८ वर्षीय सुरेश दर्नाल पक्राउ गरेका छन् ।
झगडामा संलग्न अर्का एक जना फरार छन् ।
‘मादक पदार्थ सेवन गरी सामान्य विषयमा विवाद हुँदा झगडा भएको देखिन्छ’ भट्टराईले अनलाइनखबरसँग भने, ‘झगडाका क्रममा ओरालो बाटोबाट तलतिर झर्दा उनी गम्भीर घाइते भएका थिए ।’
घटनाबारे प्रहरी कन्ट्रोल १०० मा खबर आएलगत्तै उद्धार गरेर नेपाल भारत मैत्री अस्पताल, मित्रपार्क पठाइएको उनले बताए । तर चिकित्सकहरुले मृत घोषित गरेको उनले बताए ।
पक्राउ परेकाहरुलाई ज्यान सम्बन्धी कसूरमा म्याद थप गरेर अनुसन्धान भइरहेको काठमाडौं प्रहरीका एसपी दिनेश मैनालीले बताए ।
प्रतिक्रिया 4