+
+

एमसीसीले बनाउने प्रसारणलाइनको ३० किलोमिटर रुट फेरिने

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ १९ गते १६:५३

१९ माघ, काठमाडौं । मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल विकास समिति (एमसीए-नेपाल) ले एमसीसी परियोजना अन्तरगत प्रस्तावित रुटमा सामान्य हेरफेर गर्ने भएको छ । प्रसारणलाइनको विभिन्न भागमा करिब ३० किलोमिटर क्षेत्रमा टावरहरु रहने स्थान बदल्न लागिएको हो ।

यसअघि भएको अध्ययनअनुसार जग्गा अधिग्रहणको प्रक्रिया थाल्दा आएका गुनासो र समस्यालाई दृष्टिगत गरेर करिब ३० किलोमिटर क्षेत्रमा रुट परिवर्तन गर्न लागिएको हो । समाजिक र वातावरणीय हिसावले उठेका सवाललाई सम्बोधन गर्ने गरी विभिन्न ठाउँमा टावरको लोकेस परिवर्तन गर्न खोजिएको एमसीए-नेपालले जानकारी दिएको छ ।

एमसीए नेपालका एक अधिकारीका अनुसार करिब ३१५ किलोमिटर लामो रुटमध्ये २८.५ किलोमिटरभन्दा केही बढी रुट क्षेत्रमा टावर रहने स्थान फेर्नेपर्ने देखिएको छ । यसलाई प्राविधिक रुपमा यकीन गरेर टुंगो लगाउन छुट्टै परामर्शदाता नियुक्त गरेर अध्ययन शुरु गर्न लागिएको ती अधिकारीले बताए ।

‘केही स्थानमा खेतियोग्य जमिन, आवासीय क्षेत्र, महत्वपूर्ण वन तथा सामुदायिक क्षेत्र लगायतका कारण प्रस्तावित टावरहरु अर्को स्थानमा सार्न आग्रह भएको छ,’ ती अधिकारीले भने,’फेरि त्यसबारे अध्ययन गरेर सबै टावर रहने स्थानमा टुंगो लगाउँछौं ।’

१६ वैशाख २०७८ मा नै वन तथा वातावरण मन्त्रालयले अमेरिकाको मिलेनियम च्यालेन्ज कर्पोरेसनबाट प्राप्त हुने अनुदान र नेपाल सरकारको लगानीबाट कार्यान्वयन गरिने विद्युत् प्रसारण आयोजनाको वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन स्वीकृत गरेको थियो ।

मन्त्रिस्तरीय निर्णयबाट स्वीकृत गरिएको उक्त वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन विद्युत् प्रसारण आयोजनाअन्तर्गत प्रसारण लाइन र सब-स्टेसनहरूको निर्माणका लागि हाल भइरहेको पूर्वतयारी कार्यको एक प्रमुख अंश थियो । अहिले यो परियोजना कार्यान्वयन चरणमा जान एमसीसी सम्झौताको संसदीय अनुमोदन कुरिरहेको छ ।

वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदनले आयोजना कार्यान्वयन गरिने स्थानका भौतिक, जैविक, सामाजिक-आर्थिक तथा सांस्कृतिक वातावरणको वर्तमान अवस्था पहिचान गरेको र सम्भावित प्रभाव न्यूनीकरणका लागि अपनाउनुपर्ने उपायहरूबारे सुझावहरू पनि प्रस्तुत गरेको थियो । अब रुटमा आंशिक परिवर्तन भएमा सो क्षेत्रको पनि अतिरिक्त वातावरणीय प्रभाव मूल्यांकन गर्नुपर्ने हुन्छ ।

नेपालको विकासका प्रमुख दुई अवरोधको सम्बोधनका लागि प्रस्ताव गरिएका दुई वटा आयोजना सञ्चालनका लागि नेपाल सरकार तथा अमेरिकी सरकारको मिलेनियम च्यालेञ्ज कर्पोरेसनबीच एमसीसी नेपाल कम्प्याक्टमा २०७४ साल भदौ २९ गते हस्ताक्षर गरिएको थियो ।

ती दुई आयोजनामध्ये राष्ट्रिय गौरवको आयोजनाका रूपमा घोषणा गरिएको विद्युत् प्रसारण आयोजनाले करिब ३१५ किमि लामो ४०० केभी क्षमताको विद्युत् प्रसारणलाइन तथा तीन वटा ४०० केभी क्षमताका सब-स्टेशन निर्माण गर्नेछ ।

उक्त प्रसारण लाइन १० वटा जिल्लाका ३० वटा गाउँपालिका तथा नगरपालिका भएर जानेछ । यस आयोजनाले साझेदारी कार्यक्रममार्फत प्रभावित स्थानीय सरोकारवालाहरूको हित सुनिश्चित गर्ने भने नेपालको ऊर्जा क्षेत्रको सशक्तीकरणमा पनि सघाउ पुर्‍याउने आयोजनाको दावी छ ।

तर, आयोजनाबारे नेपालमा राजनीतिक दलहरु नै एक मत हुन सकेका छैनन् । जनस्तरमा पनि आयोजनाबारे अनेकन आशंकाहरु छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?