+
+

एमसीएद्वारा १८ किमि क्रसबोर्डर प्रसारण लाइनको टेन्डर आह्वान

अनलाइनखबर अनलाइनखबर
२०८० चैत २ गते २०:४५

२ चैत, काठमाडौ । मिलेनियम च्यालेन्ज एकाउन्ट (एमसीए) नेपालले शुक्रवार १८ किलोमिटर लामो बुटवल–गोरखपुर विद्युत् प्रसारण लाइनको टेन्डर आह्वान गरेको छ । सो ४ सय केभी क्षमताको प्रसारणलाइनको डिजाइनदेखि निर्माण सम्पन्न गरेर हस्तान्तरण गर्नेसम्मको काम गर्ने गरी टेन्डर आह्वान गरिएको हो ।

टेन्डरमा सहभागी हुन चाहने निर्माण कम्पनीले आगामी ३ जेठसम्म आवेदन दिनसक्ने एमसीए नेपालले निकालेको सूचनामा उल्लेख छ ।

यसअघि ३ सय १५ किलोमिटर प्रसारणलाइनबाट १८ किमिको सो खण्डलाई छुट्याएर त्यसको काम फास्टट्रयाकमा अगाडि बढाउने निर्णय एमसीए–नेपालको ४०औं बोर्ड बैठकले २१ फागुनमा गरेको थियो ।

एमसीसीको सहयोगमा बन्ने प्रसारण लाइन यसअघि तीन खण्डमा बनाउने तयारी भए पनि अब यो चार खण्डमा निर्माण हुनेछ ।

बाँकी प्रसारण लाइनसँगै यो खण्डको पनि निर्माण गर्दा क्रसबोर्डर लाइन निर्माणमा ढिलाइ हुने चिन्ता नेपाल विद्युत् प्राधिकरणले गर्दै आएको थियो । त्यही भएर यो क्रसबोर्डर प्रसारण लाइन निर्माण चाँडो सम्पन्न होस् भन्ने हेतुले यो १८ किलोमिटर खण्डलाई छुट्टै कार्यान्वयन गर्ने निर्णय एमसीएले गरेको थियो ।

यो खण्डलाई पूरा परियोजनाबाट अलग्याउँदा खरिद प्रक्रिया छिटो सम्पन्न गर्न सकिने ऊर्जा मन्त्रालयका प्रवक्ता नवीनराज सिंहले बताए । त्यसले भारतमा निर्माणाधीन प्रसारण लाइनसँग जोड्न यसको निर्माण २०८३ साल जेठभित्रै सम्पन्न हुने कुराको पनि सुनिश्चिता गर्ने उनले बताए ।

एमसीसीअन्तर्गतका ठेक्काहरु मूल्य तथा गुणस्तर दुवैलाई ध्यानमा दिएर लगाइने एमसीएले जनाएको छ ।

एमसीएले यसअघि तीन लटमा गरेर ३ सय १५ किलोमिटर प्रसारण लाइनको टेन्डर आह्वान गरेकोमा न्यूनतम् प्रस्ताव नै ६० प्रतिशत महँगो भएपछि सो प्रक्रिया नै रद्द गरिएको थियो ।

पुनः त्यो पूरा परियोजनाको टेन्डर आह्वान गर्न समय लाग्ने भएपछि एमसीएले क्रसबोर्डर लाइनको टेन्डर आह्वान गरिहालेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?