 
																			२३ फागुन, काठमाडौ । मिलेनियम च्यालेन्ज एकाउन्ट (एमसीए) नेपालले १८ किलोमिटर लामो बुटवल–गोरखपुर विद्युत् प्रसारण लाइन खण्डको काम फास्टट्रयाकमा अगाडि बढाउने निर्णय गरेको छ ।
एमसीए–नेपाल सञ्चालक समितिको २१ फागुनमा बसेको ४०औं बैठकले यस्तो निर्णय गरेको हो ।
यसअघि एमसीए नेपालअन्तर्गतको ३ सय १५ किलोमिटर लामो प्रसारण लाइनलाई तीन खण्डमा विभाजन गरी निर्माणको तयारी गरिएको थियो । तर, त्यसरी निर्माण गर्दा क्रसबोर्डर प्रसारण लाइन निर्माणमा ढिलाइ हुने चिन्ता नेपाल विद्युत् प्राधिकरणले गर्दै आएको थियो । त्यो प्रसारण लाइन चाँडो सम्पन्न होस् भन्ने उद्देश्यले १८ किलोमिटर खण्डलाई छुट्टै कार्यान्वयन गर्ने निर्णय गरेको हो ।
सीमापार खण्डसम्बन्धी कामलाई तीव्रता दिँदा नेपाल र भारतबीच सीमापार ऊर्जा व्यापार सम्झौता अन्तर्गतको दायित्व निर्वाह गर्न सहयोग पुग्ने एमसीए सञ्चालक समितिले जनाएको छ ।
‘सरकार र नेपाल विद्युत् प्राधिकरणका लागि यस खण्डको गम्भीरतापूर्ण महत्व दृष्टिगत गर्दै एमसीए नेपाल सञ्चालक समितिले यस्तो निर्णय गरेको हो,’ सञ्चालक समिति बैठकपछि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव तथा प्रवक्ता नविनराज सिंहले भने ।
उनका अनुसार उक्त खण्डलाई वृहत् प्रसारण लाइन सञ्जालबाट छुट्ट्याउँदा खरिद प्रक्रिया छिटो सम्पन्न गर्न सकिने र भारतमा निर्माणाधीन प्रसारण लाइनसँग जोड्न यसको निर्माण २०८३ साल जेठभित्रै सम्पन्न हुने सुनिश्चित गर्ने छ ।
यो सीमापार प्रसारण लाइन विद्युत् प्रसारण आयोजनाको महत्वपूर्ण अंश भएको र यसले नेपालको आवश्यकता पूरा गर्न सीमापार विद्युत् व्यापारलाई सहजीकरण गर्ने एमसीए नेपालले जनाएको छ ।
नयाँ बुटवल–गोरखपुर सीमापार प्रसारण लाइन निर्माण कार्य व्यवस्थापन गर्ने वित्तीय तथा स्वामित्व संरचना सम्बन्धमा नेपाल र भारतबीच असोज २०७६ मा सहमति भएको थियो ।
बाँकी २ सय ९७ किलोमिटर प्रसारण लाइनको डिजाइन–बिल्ड निर्माण कम्पनीका सेवा खरिदका लागि काम अगाडि बढाइरहेको एमसीए नेपालले जनाएको छ ।
‘एमसीए नेपाल प्रसारण लाइन समयमै, बजेटभित्रै र नेपाल सरकार एवम् एमसीसीको वातावरणीय तथा सामाजिक मापदण्ड अनुसार निर्माण हुने सुनिश्चित गर्न प्रतिबद्ध रहेको छ,’ बोर्ड बैठकपछि जारी विज्ञप्तिमा उल्लेख छ ।
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4