+
+

सुदूरपश्चिममा अपाङ्ग र ज्येष्ठ नागरिक कोरोना खोपको पहुँच बाहिर

जनक विष्ट जनक विष्ट
२०७८ माघ २० गते ८:१५

२० माघ, धनगढी । कञ्चनपुरको भीमदत्त नगरपालिका-१७ को बाँसखेडाकी जयन्ती भट्टका छोरा पंकज जन्मजात शारिरीक अपाङ्गता भएका व्यक्ति हुन् । २३ वर्षीय पंकज हिँडडुुल गर्न सक्दैनन् । परिवारका सदस्यले उनलाई बोकेरै भित्र-बाहिर गराउँछन् ।

पंकज मात्र होइन उनका कान्छा भाइ सन्देश पनि जन्मजात अपाङ्ग छन् । दुवै दाजुुभाइको शारिरीक अवस्था प्राय मिल्दोजुुल्दो छ । भाइलाई पनि पंकजको जस्तै बोकेरै भित्रबाहिर गराउनुपर्छ । दुुई भाइको हेरचाहका लागि परीवारको एक जना अनिवार्य रुपमा दिनभर खटिनुुपर्ने हुुन्छ । कहिलेकाहिँ रातिमा बेहोस हुने समस्याले गर्दा झनै समस्या हुने गरेको छ ।

एकातिर शारिरीक अपाङ्गता अर्कोतिर कोरोना महामारी फैलिएपछि छोराहरुलाई संक्रमण हुन्छ की भन्ने भय जयन्तीको मनमा गढेको छ ।

परिवारका अन्य सदस्यले कोरोना भाइरसविरुद्धको खोप लगाइसके पनि दुई छोराहरुलाई खोप केन्द्रसम्म लैजान नसक्दा उनीहरुले खोप लगाउन पाएका थिएनन् । तर मंगलबार भने घरमै पुगेको सरकारी अधिकारीसहितको टोलीले जेठा छोरा पंकजलाई खोप लगाइदिएको छ । कान्छा छोरोको उमेर नपुुगेको भन्दै खोप दिइएन । छोरालाई खोप लगाइसकेपछि खुुसी हुुँदै जयन्तीले भनिन्, ‘छोरालाई खोप केन्द्रसम्म लैजान नसकेकै कारण कोरोनाविरुद्धको खोप लगाउन पाइएको थिएन तर आज घरमै पाएकोमा खुुसी छौं ।’ आफ्नो छोरा जस्तै अपाङ्गता भएका अन्य व्यक्तिहरुलाई पनि घरमै पुगेर खोप लगाइदिए हुन्थ्यो भन्ने उनलाई लागेको छ ।

०००

भीमदत्त नगरपालिका-१७ कै ८२ वर्षीय शंकरसिंह खड्काले पनि अहिलेसम्म कोरोना भाइरसविरुद्धको खोप लगाउन पाएका थिएनन् । कान कम सुन्ने, आँखा कम देख्ने र शारिरीक कमजोरीका कारण धेरै हिँडडुल गर्न नसक्ने भएकाले उनी खोप केन्द्रसम्म जान सकेका थिएनन् ।

‘कोरोना भाइरसले म जस्ता बुढा मानिसलाई छिट्टै थला पार्छ भन्ने सुुनेको थिएँ,’ खड्काले भने, ‘खोप लगाएपछि सुरक्षित भइन्छ भन्ने कुरा पनि नसुनेको होइन तर खोप केन्द्र जान नसकेका कारणले अहिलेसम्म खोप नलगाएको हुुँ ।’ तर मंगलबार आफ्नै घरमा पुगेको टोलीबाट खोप लगाइसकेपछि उनी ढुक्क छन् अब कोरोना भाइरसको संक्रमण भएपनि थला परिंदैन भन्ने आत्मबल बढेको खड्का बताउँछन् ।

बाँसखेडाकै ७० वर्षीय मनोरथ पाठक दम्पत्तीले पनि अहिलेसम्म कोरोनाविरुद्धको खोप लगाएका थिएनन् । दमको समस्या भएका मनोरथलाई शुरुका दिनमा गाह्रो हुन्छ की भन्ने डरले खोप लगाउन मनले मानेन । ‘मान्छेहरु दमका बिरामीले कोरोनाको खोप लगाउनु हुँदैन भन्ने थालेपछि मलाई डर लाग्यो । त्यसैले अहिलेसम्म खोप लगाएको थिएन,’ मनोरथले अनलाइनखबरसँग भने, ‘पछि राम्रो हुन्छ भन्ने थाहा पाए पनि खोप पाइएन । खोप केन्द्रसम्म जान सक्ने आफ्नो अवस्था भएन ।’

तर जिल्ला स्वास्थ्य कार्यालय र भीमदत्त नगरपालिकासँगको समन्वयमा विभिन्न गैर सरकारी संघसंस्थाले सञ्चालन गरेको घरदैलो अभियान अन्तरगत खोप पाएपछि पाठक खुसी भएका छन् । उनकी ६५ वर्षीया श्रीमती गुरमा पाठकले पनि श्रीमानसँगै घर आँगनमै कोरोनाविरुद्धको खोप लगाएकी छन् ।

भीमदत्त नगरपालिकाकै अर्की स्थानीय ७१ वर्षीया मने भट्टलाई त कोरोनाविरुद्धको खोप लगाएपछि मरिन्छ की भन्ने डर लागेको रहेछ । ‘कोरोनाको सुई लगाएपछि बिरामी भएपछि मरिने त होइन भन्ने सोचेर अहिलेसम्म डरले खोप नलगाएकी हुँ,’ भट्ट भन्छिन्, ‘अरु बिमारीले पनि च्यापेकाले के-के पो हुने हो ? जस्तो लाग्थ्यो ।’ अहिले भने उनलाई त्यो हल्ला बेकारको रहेछ भन्ने थाहा भएको छ । खोप लगाइसकेपछि उनलाई कोरोना संक्रमणकै कारण अब मरिंदैन भन्ने विश्वास बढेको छ ।

०००

माथि उल्लेख गरिएका भीमदत्त नगरपालिका-१७ का यी व्यक्तिहरु अहिलेसम्म कोरोना भाइरसविरुद्धको खोपको पहुँच बाहिर रहेका प्रतिनिधिमूलक पात्र मात्र हुन् । जो सरकारी निकायसँगको समन्वयमा सञ्चालन गरिएको घरदैलो अभियानका क्रममा अहिलेसम्म खोप नलगाएको अवस्थामा भेटिए ।

तर कञ्चनपुर मात्र नभएर सुदूरपश्चिम प्रदेशका अन्य जिल्लामा समेत ठूलो संख्यामा शारिरीक अपाङ्गता भएका र ज्येष्ठ नागरिक अझै कोरोना भाइरसविरुद्धको खोपको पहुँच बाहिर रहेको अनुमान छ ।

राष्ट्रिय मुक्त हलिया महासंघ नेपालले स्वास्थ्य कार्यालय कञ्चनपुर, भीमदत्त नगरपालिका र विभिन्न संघसंस्थाको समन्वयमा भीमदत्त नगरपालिकामा पूर्ण अशक्त, अति अशक्त अपाङ्गता भएका ज्येष्ठ नागरिकहरुका लागि कोभिड-१९ घरदैलो कार्यक्रम सञ्चालन गरेको छ ।

खोपको पहुँचबाट टाढा रहेका यी लक्षित समूहका व्यक्तिहरुलाई समेट्ने उद्देश्यले सञ्चालन गरेको अभियान अन्तरगत भीमदत्त नगरपालिका-१९ वटा वडामा घरदैलो अभियान कार्यक्रम सञ्चालन गरिने बताइएको छ ।

अहिलेसम्म १२ वटा वडामा अभियान सञ्चालन गरिएकोमा पूर्ण अशक्त, अति अशक्त अपाङ्गता भएका ज्येष्ठ नागरिक गरेर दुई सय ३० जना कोरोनाविरुद्धको खोपको पहुँच बाहिर रहेको पाइएको अभियानमा सामाजिक परिचालकको रुपमा काम गरिरहेकी लक्ष्मी विक बताउँछिन् ।

‘खोपको पहुँच बाहिर रहेका पूर्ण अशक्त, अति अशक्त अपाङ्गता भएका ज्येष्ठ नागरिकका लागि हामीले भीमदत्त नगरपालिकाका १९ वटै वडामा घरदैलो अभियान सञ्चालन गरिरहेका छौं,’ विकले भनिन्, ‘१२ वडामा मात्र दुई सय ३० जना त्यस्ता मानिस भेटिए । यो आँकडालाई हेर्दा जिल्लाका ९ पालिकामा करीब १५ सय जना अपाङ्गता र ज्येष्ठ नागरिक कोरोनाको खोपको पहुँच बाहिर छन् भन्ने लाग्छ ।’

राष्ट्रिय मुक्त हलिया समाज महासंघ नेपाल कञ्चनपुरमा अध्यक्ष सिबी लुहार भीमदत्त जस्तो पुराना र शहरी क्षेत्र बढी भएको नगरपालिकामै यत्रो ठूलो संख्या खोपको पहुँच बाहिर हुनु आफैंमा दुःखद पक्ष भएको बताउँछन् । दुरदराज र विकटमा बस्ने मानिसको अवस्था झनै कस्तो होला ? भन्ने चित्र यसले देखाउने बताउँदै उनले खोपको पहुँचमा सबै नागरिकलाई समेटनु राज्यको दायित्व भएको बताए ।

तर भीमदत्त नगरपालिकाको स्वास्थ्य शाखाका संयोजक नरेन्द्रराज जोशी भने कोरोनाविरुद्धको खोप पाउन नसकेका अपाङ्गता भएका र ज्येष्ठ नागरिकहरुलाई समेट्ने उद्देश्यले घरदैलो अभियान सञ्चालन गरिएको बताउँछन् ।

यसअघि सरकारले निर्धारण गरेका केन्द्रमा भौतिक रुपमा उपस्थित हुन नसकेकै गर्दा उनीहरुले खोप नपाएको बताउँदै जोशीले सोही कारणले नै विभिन्न संघसंस्थासँगको सहकार्यमा नगर क्षेत्रमा अभियान चलाइरहेको बताए ।

‘पहुँच बाहिर भएकालाई खोजी-खोजी खोप’

सुदूरपश्चिम प्रदेश सरकारले पनि विभिन्न कारणले अहिलेसम्म शारिरीक अपाङ्गता र सबै ज्येष्ठ नागरिकहरुलाई खोपको पहुँचमा ल्याउन नसकेको कुरालाई स्वीकार गरेको छ । शारिरीक अपाङ्गता र सबै ज्येष्ठ नागरिकहरु खोपको पहुँच बाहिर रहेको कुरा यथार्थ भएको उल्लेख गर्दै सामाजिक विकास मन्त्री लालबहादुर खड्काले महिला स्वास्थ्य स्वयंसेविका परिचालन गरेर तिनीहरुको पहिचान गर्ने काम भइरहेको सुनाए ।

‘महिला स्वास्थ्य स्वयंसेविकाहरु परिचालन गरेर हामीले खोप लगाउन नपाएका मानिसहरुको विवरण संकलन गर्ने काम गरिरहेको अवस्था पनि छ,’ मन्त्री खड्काले अनलाइनखबरसँग भने, ‘विभिन्न साझेदार संस्थाहरुको सहयोगमा अपाङ्गता भएका र ज्येष्ठ नागरिकहरुलाई घर-घरमै पुुगेर खोप दिने योजनाअनुसार काम भइरहेको छ । अब कोही पनि खोपको पहुँच बाहिर रहँदैनन् ।’

अभियान सञ्चालन भएका बेला सम्बन्धित स्थानभन्दा बाहिर रहेका मानिसको पहिचान गरेर पनि कोरोनाविरुद्धको खोप लगाइरहेको खड्काको भनाइ थियो ।

लेखकको बारेमा
जनक विष्ट

विष्ट अनलाइनखबरका कैलाली संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?