चालु आर्थिक वर्षको पहिलो महीनादेखि नै लगातार रेमिट्यान्स आउने क्रम घटिरहेको छ । पाँच महीनाको तथ्यांक अनुसार रेमिट्यान्स आप्रवाहमा ७ प्रतिशतले कमी आएको छ । विदेशमै भर्चुअल करेन्सीमा लगानी गर्ने र पठाएको रकम पनि हुण्डीबाट पठाउने गर्दा मुलुकको अर्थतन्त्रमा महत्वपूर्ण मानिने रेमिट्यान्स घटिरहेको राष्ट्र बैंकको अनुमान छ । यी दुवै अवैध हुन् ।
भर्चुअल मुद्राको कारोबार कतिपय देशहरुमा वैध मानिए पनि नेपालमा भने यो पूर्ण अवैध हो । राष्ट्र बैंकले सूचना नै जारी गरेर विदेशमा बस्ने नेपालीले समेत यस्तो कारोबार गर्न नपाउने बताएको छ । अर्कोतर्फ हुण्डी कारोबार एउटा गैरकानूनी र असुरक्षित कारोबार हो ।
राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्ट रेमिट्यान्स पठाउँदा वैधानिक च्यानलबाटै पठाउनुपर्ने बताउँछन् । हुण्डीबाट पठाउने वा उतै अन्य क्षेत्रमा लगानी गर्दा यसले समस्यामा पार्न सक्ने उनले बताए ।
‘रेमिट्यान्स वैधानिक च्यानलबाट पठाउदा जोखिम हुँदैन, आफ्नै सुरक्षाका लागि पनि वैधानिक च्यानल नै रोज्नु राम्रो हुन्छ’ प्रवक्ता भट्टले भर्चुअल मुद्रातर्फ इंंकित गर्दै भने, ‘अर्कोतर्फ धेरै चाँडोभन्दा चाँडो प्रतिफल प्राप्त हुन्छ भनेर अन्य क्षेत्रमा लगाउनुहुँदैन, यसले तपाईंको घरपरिवार जो रेमिट्यान्समा आश्रित हुनुहुन्छ उहाँहरुलाई समस्या बनाउँछ, जोखिम बोकेर अवैधानिक भनिएको ठाउँमा लगानी गर्नुहुँदैन ।’
वैधानिक च्यानलबाट रेमिट्यान्स पठाउँदा मुख्य दुई वटा फाइदा छन् । एउटा– विदेशबाट पठाएको रकम नेपालमा परिवारले सुरक्षित र सहज भुक्तानी पाउँछन् । अर्कोतर्फ रेमिट्यान्सबाट आएको रकम बैंकमा खाता खोलेर निक्षेपको रुपमा जम्मा गर्ने हो भने बैंकहरुले अरुलाई दिने भन्दा १ प्रतिशत ब्याजदर धेरै दिन्छन् ।
‘रेमिट्यान्स वैधानिक च्यानलबाट पठाउँदा पठाउने व्यक्ति, नेपालमा रहेका उनका आफन्त र मुलुकको अर्थतन्त्रलाई समेत फाइदा हुन्छ’ प्रवक्ता भट्ट भन्छन्, ‘अर्कोतर्फ यसरी आएको रकम सरकारको वैदेशिक रोजगार बचत पत्रमा समेत लगानी गर्न सकिन्छ, यसमा लगानी गर्दा १० प्रतिशत ब्याज पाइन्छ ।’
हुण्डीबाट रकम पठाउँदा कानूनी कारबाही हुने र रकम डुब्ने खतरा पनि रहेको भन्दै उनले वैधानिक च्यानलबाट मात्रै रेमिट्यान्स पठाउनुपर्ने बताए । अनौपचारिक माध्यमबाट भित्रिने रेमिट्यान्स हुण्डी हो । हुण्डीअन्तरदेशबीच पैसा कारोबार गर्ने अवैध तरिका हो । दुवै देशमा सम्पर्क व्यक्तिहरू राखेर यस्तो कारोबार हुने गरेको छ ।
विदेशबाट पैसा पठाउँदा बैंकिङ च्यानलबाट पठायो भने त्यो रेमिट्यान्समा गनिन्छ भने बैंकिङ च्यानलबाट नभई अन्य दलालहरु मार्फत सीधै पैसा पठाउनुलाई हुण्डी कारोबार भनिन्छ । कार्यथलोमै लिन आउने र घरमै पुर्याइदिने भएपछि अनि धेरै शुल्क पनि नलाग्ने भएकाले मानिसहरु हुण्डीमा आकर्षित हुने गरेका छन् ।
हुण्डीबाट पैसा पठाउँदा बैंकिङ प्रणालीबाट पठाउँदा भन्दा कम समय लाग्ने, पैसाको स्रोत खुलाउने तथा अन्य प्रक्रियागत झन्झट पनि नहुने भन्दै हुण्डीको माध्यम प्रयोग गरेर थुप्रै नेपालीले विदेशबाट पैसा पठाउने गरेका छन् । जुन पूर्णत गलत र गैरकानूनी हो ।
हुण्डी रेमिट्यान्स नै भए पनि यो अनौपचारिक माध्यमबाट आउने भएकाले रेमिट्यान्समा गनिंदैन । यसको मतलब हुण्डीले रकम आउने क्रमलाई घटाउँदैन । सरकारी तथ्यांकमा मात्रै नदेखिने हो । सरकारी कोषमा विदेशी मुद्रा आउँदैन । घरपरिवारले पाएको रकम बढिरहेको देखिन्छ तर औपचारिक च्यानलबाट आएको रकम भने कम देखिन्छ ।
अनौपचारिक क्षेत्रबाट आएको रेमिट्यान्सले विदेशी मुद्राको सञ्चिति घटाउँछ । यसले अनधिकृत व्यापार व्यवसायसँगै राजश्व समेत घटाउँछ । हुण्डी मार्फत गरिने कारोबारमा जोखिम बढी हुन्छ । पठाएको रकम बीचैमा हिनामिना हुनसक्ने खतरा समेत हुन्छ । ‘यसर्थ रेमिट्यान्स बैंकिङ च्यानलबाटै पठाउनुपर्छ’ प्रवक्ता भट्ट भन्छन् ।
 
                









 
                     
                     
                                 
                 
                 
                 
                 
                 
         
                 
                 
                 
                 
                 
                 
        
प्रतिक्रिया 4