+
+

सेनाले फर्कायो ३० रोपनी जग्गा, पुनर्जीवनको प्रतीक्षामा लगनखेलको कमलपोखरी

लगातारको जनस्तरको आग्रह र महानगरको पहललाई आत्मसात गर्दै नेपाली सेनाले आफ्नो नियन्त्रणमा रहेका पोखरी जनताको उपभोगका लागि फर्काउने निर्णय गरेको छ । सेनाले फिर्ता गरेको क्षेत्र खुला गर्न काँडेतार हटाएर पारदर्शी बार लगाने र सप्तपाताल क्षेत्र संरक्षण गरेर बगैंचासहित पुरानै स्वरुप दिने योजना छ ।

रवीन्द्र घिमिरे रवीन्द्र घिमिरे
२०७८ माघ २१ गते २०:११

२१ माघ, काठमाडौं । नेपाली सेनाको नियन्त्रणमा रहेको काठमाडौंको टुँडिखेल (सैनिक मञ्च) सर्वसाधारणका लागि खुला गर्न माग भएको लामै समय भयो । अभियन्ताले गरेको ‘खुला टुँडिखेल’को मागलाई बेवास्ता गरिरहेको सेनाले ललितपुरको लगनखेलमा भने स्थानीयको माग सुनेको छ ।

योजनाअनुसार काम भए लगनखेलमा सेनाले कब्जा छोडेको सार्वजनिक जग्गामा दुईवटा पलेस्वाँ पुखु (कमलपोखरी)ले पुनर्जीवन पाउनेछन् । झाडी र घाँसे मैदानमा परिणत भएका ती पोखरीहरुमा पानी भरिनेछ । त्यसबाट ललितपुरको पाटन क्षेत्रमा भूमिगत पानीको पुनर्भरण पनि हुनेछ ।

ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जन २०३० ताकासम्म लगनखेलमा रहेका करिब २०० रोपनी क्षेत्रका ठूला–ठूला पोखरीहरु सर्वसाधारणको पहुँचमा रहेको सम्झन्छन्। उनका अनुसार, सप्तपाताल र वरपरका पोखरीहरुमा कमल फूल्थे ।

लगनखेलको विद्युत् प्राधिकरणसँगैको कमलपोखरी

पाटनका ढुंगेधारा र इनारहरुमा जाने पानीका मुहान (रिजर्भवायर) तिनै पोखरीहरु थिए । तर, लगातार अतिक्रमणको चपेटमा परेपछि पोखरीहरुको अस्तित्व मेटिँदै गयो । भएका पोखरी पनि कुनै अस्तव्यस्त रहे भने कुनै पोखरी र वरपरका क्षेत्र सेनाको नियन्त्रण क्षेत्रभित्र परे ।लच्छिवीकालीन अशोक स्तूपको पश्चिमतर्फका पोखरीहरु २०२६ पछि सेनाको राजदल गणको कब्जामा पर्यो । २०३० सालपछि सप्तपाताल (पोखरी)मै मालपोत कार्यालय, जिल्ला अदालत, जिल्ला पशुसेवा कार्यालय र नमूना मच्छिन्द्र माविका संरचनाहरु बने । विद्युत प्राधिकरणको सबस्टेसन बनाइएको ठाउँको पोखरी पनि अतिक्रमण र अव्यवस्थाको शिकार भएर अलपत्र रहिरह्यो ।

लगनखेलका सम्पदा संरक्षण अभियन्ता तथा पोखरी ब्युँताउने मुख्य योजनाकार पूर्ण स्थापित सप्तपातालको बाँकी रहेको सानो भागमा पनि मच्छिन्द्र माविले थप संरचना बनाउन खोजेपछि आफैं फिराद लिएर सर्वोच्च अदालत पुगे ।

अदालतले पोखरीको जग्गामा संरचना बनाउन नपाइने फैसला गरिसकेको छ । २३ असार २०७६ मा सर्वोच्चका न्यायाधीशद्वय दीपककुमार कार्की र तेजबहादुर केसीको इजलासले गरेको फैसलामा २०५० सालमा विद्यालयको नाममा पुगिसकेको भएपनि पोखरीको जग्गा पोखरीकै नाममा कायम हुने उल्लेख छ । दोस्रोपटक विवाद अदालत पुग्दा भएको फैसला थियो त्यो ।

सेनाको नियन्त्रणबाट फर्किन लागेको पोखरी

त्यसअघि ८ माघ २०६१ सर्वोच्चका तत्कालीन प्रधानन्यायाधीश हरिप्रसाद शर्मा र न्यायाधीश परमानन्द झाको इजलासले ऐतिहासिक, पुरातात्विक, सांस्कृतिक महत्वको स्थल भएकाले सो क्षेत्र मास्न र स्तूप वरिपरिको दृश्यलाई प्रभाव पर्ने संरचना बनाउन नमिल्ने फैसला सुनाएको थियो । ऐतिहासिक महत्वको विशेषतालाई लालपूर्जाले बदल्न नसक्ने अदालतको ठहर थियो ।यी पोखरी ललितपुरको ६, १२ र १५ वडाका ढुंगेधाराका स्रोत भएको भन्दै अदालतले पोखरी र वरिपरिको वातावरणमा प्रभाव पर्ने गरी संरचना बनाउन नसकिने गरी फैसला गरेको थियो ।

मच्छिन्द्रनाथ र मीननाथको जात्रा सकिएको सूचना पातालका राजा नागराजकोमा पुर्याउन सप्तपातालमा एक जोडी माछा छोड्ने परम्परा छ । तर, पोखरीमा पानी नै नभएपछि स्थानीय र पानेजुले खाल्डो खनेर पानी हाल्दै यस्तो विधि पुर्याउने बाध्यता पर्दै आएको छ ।

१४ रोपनीभन्दा ठूलो पोखरी मिचिएर बचेको सानो भाग पनि मास्न खोजिएपछि स्थानीयवासीले कानुनी लडाइँ लडेका थिए । यसकै कारण सेनामाथि पनि कब्जामा राखिएको सार्वजनिक पोखरीको क्षेत्र फिर्ता गर्न दबाव परेको थियो ।

सेनाले पोखरीको भागमा लगाएको तारबार, अब गेटसम्मको तारबार हट्नेछ ।

मेयर महर्जनका अनुसार लगातारको जनस्तरको आग्रह र महानगरको पहललाई आत्मसात गर्दै नेपाली सेनाले आफ्नो नियन्त्रणमा रहेका पोखरी जनताको उपभोगका लागि फर्काउने निर्णय गरेको छ । ‘आफ्नो नियन्त्रणमा रहेको करिब ३० रोपनी पोखरी क्षेत्रको भोगाधिकार जनतालाई दिन सेनाले गत जेठमा सहमतिपत्रमा हस्ताक्षर गरिसकेको छ’, उनले भने ।मेयर महर्जनका अनुसार राजदल गणको उत्तरतर्फको गेटभन्दा उत्तर ललितपुर जिल्ला अदालत तथा मालपोत कार्यालयभन्दा दक्षिणतर्फको बीच भागमा रहेको स्तुपसँगैको पोखरी जनताको उपभोगमा दिन सेना सहमत भएको हो ।

‘सेनाले फिर्ता गरेको क्षेत्र खुला गर्न काँडेतार हटाएर पारदर्शी बार लगाउँदैछौं’, उनले भने, ‘अब सप्तपाताल क्षेत्र संरक्षण गरेर बगैंचासहित पुरानै स्वरुप दिने योजना छ ।’ सो क्षेत्रका पोखरीहरुलाई बाल्यकालमा देखेजस्तै सुन्दर बनाउने योजना रहेको मेयर महर्जनले बताए ।

सप्तपातालमा टीकाभैरवबाट आउने राजकुलो जोडिएको थियो । करिब २३ सय वर्ष पुरानो अशोक स्तूप वरपर फराकिलो मैदान र पोखरी थिए । त्यहींबाट हुने भूमिगत पानी पुनर्भरणले वर्षैभरि पाटनको तिर्खा मेटिन्थ्यो ।

सप्तपाताल र वरपरका पोखरीहरु अतिक्रमणमा परेपछि सहरका धारा र इनारमा हिउँदमा पानी सुक्न थाल्यो । अहिले पाटनका धेरै ढुंगेधारामा वर्षामा मात्रै पानी रसाउँछ । अब यी चारवटै पोखरीलाई व्युँताउने महानगरको योजना छ ।

पोखरीहरू ब्युँताउन बनाइएको योजनाको ग्राफिक इमेज

‘ग्रिन एन्ड ब्लु परियोजनामार्फत राजकुलोबाट लगनखेलसम्म पानी ल्याएर ढुंगेधाराहरुलाई पुनर्जीवन दिने योजना छ,’ मेयर महर्जन भन्छन्, ‘सार्वजनिक खुला क्षेत्रलाई जनताको पहुँचमा ल्याउने र वातावरणीयसहित धार्मिक, सांस्कृतिक र ऐतिहासिक महत्वका सम्पदाको संरक्षण पनि गर्ने योजनामा सप्तपाताल क्षेत्रको पुनर्निर्माणले थप योगदान पुग्नेछ ।’

सेनाको नियन्त्रणमा रहेका क्षेत्रलाई पनि जनताको उपभोगमा ल्याएर शहरलाई बस्नयोग्य बनाउन पहल गरेको उनले बताए । सप्तपाताल र कमलपोखरी क्षेत्रमा पूर्वाधारसहित सुन्दर पोखरी र पार्क बनाउने काम केही समयभित्रै शुरु हुने मेयरको दावी छ ।

पोखरीहरु व्युँताएर भूमिगत पानी पुनर्भरणको स्रोत बनाउने, सांस्कृतिक रीतिहरुलाई पहिलाझैं चलाउने र वरपर परम्परागत फल्चाहरु बनाउने योजना उनले सुनाए ।

तस्वीर : चन्द्र आले /अनलाइनखबर

लेखकको बारेमा
रवीन्द्र घिमिरे

घिमिरे अनलाइनखबरका प्रशासन संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?