+
+
पुस्तक समीक्षा :

अक्षरमा समेटिएको देश

पुस्तक समीक्षा पुस्तक समीक्षा
२०७८ माघ २४ गते १४:०७

जसले जेसुकै भने पनि संसारमा सबैभन्दा सुन्दर कुरा जन्म हो । जन्मपछि हुने अनेक उतारचढावको भकारी नै जिन्दगी हो । जिन्दगीका १९ सुन्दर वर्षहरूको साधनापछि विशेषतः गलजकार तथा लघुकथाकारको रूपमा आफ्नो विशिष्ट छाप छोड्न सफल साहित्यकार दीपक समीपले ‘अक्षर अक्षरमा देश’ मुक्तक संचयन बजारमा ल्याएका छन् ।

कोरोना कहरले समग्र साहित्य नै सुस्ताएको बेला नेपाली साहित्यको छोटो एवं प्रसिद्ध विधा मुक्तकको पुस्तक प्रकाशन हुनु समग्र नेपाली साहित्यका लागि नै फलदायी कुरा हो । अझ मुक्तकको उर्वरभूमि पोखरामा यसले छुट्टै महत्व राख्दछ ।

दुई लाइनदेखि सात-आठ लाइनका छोटा रचनाहरूलाई विगतमा मुक्तक भन्ने गरिन्थ्यो । भीमदर्शन रोक्काबाट आधिकारिक रूपमा सुरुवात भएको मानिएको चार लाइनका तुक मिलेका रचनालाई अधिक साहित्यकारहरूले मुक्तक मान्दै आइरहेका छन् ।

भीमदर्शन रोक्कासँगै सिद्धिचरण श्रेष्ठ, भूपि शेरचन, हरिभक्त कटुवाल साथै कृष्णप्रसाद पराजुलीको पछिल्लो विरासतको रूपमा मुक्तकाकार यो संचयनमा प्रस्तुत भएका छन् । उसो त पोखराका दुई–चार जना साहित्यकारलाई छोड्ने हो भने समग्र पोखराले चतुष्पदीय संरचनालाई मात्र मुक्तकको रूपमा स्वीकारेको छ । मुक्तक मञ्च पोखराले ७० को दशकमा सुरु गरेको मुक्तक सम्मेलनले सोही प्रकृतिको घोषणापत्र नै जारी गरेको छ ।

अक्षर अक्षरमा देश मुक्तक संचयनमा १०१ मुक्तकहरू संग्रहित छन् । प्रेम, घृणा, मिलन, विछोड सँगै देश, माटो, राजनीतिक खिचातानी, निराशा, समाज र जीवनका आरोहअवरोहलगायतका विषयवस्तु उपर रहेर मुक्तकाकारले आफ्ना रचनाहरू प्रस्तुत गरेका छन् ।

समग्र मुक्तक संचयनलाई हरेक कोणमा राखेर विवेचना गर्दा एउटा सन्तुलित संग्रहको रूपमा पाउन सकिन्छ । लेखकले जीएको प्रेम र समाजलाई मुक्तक मार्फत सरल रूपमा प्रस्तुत गरेका छन् ।

अक्षर अक्षरमा देशमा मुक्तकाकार प्रेमका हरेक क्षेत्रमा छताछुल्ल छन् । एकादुई मुक्तकलाई छोड्ने हो भने प्रेम र जीवन दर्शनका विषयमा लेखिएका मुक्तकहरू विचार, संरचना, भाव र मुक्तकको न्यूनतम सिद्धान्तमा खरो रूपमा उत्रिएको पाउन सकिन्छ । प्रेमसँग सम्बन्धित मुक्तकहरूको अन्त्य आल्हादित रूपमा गरिएको छ ।

जस्तो :-
पासो नै सही उनको प्रेममा अल्झिने रहर छ ।
छन त यो जुनीभरि उनीसँगै जोडिने रहर छ ।

अरे ! कोही त आऊ मलाई शहीद बनाइदेऊ !
उनकै घर अगाडि सालिक भई उभिने रहर छ ।

मुक्तकहरूमा समय र समाज साथै सरल रूपमा मानवीय चरित्र, विकृति, विसंगतिलाई चित्रण गरिएको छ । संचयनमा केही प्रणयभावका मुक्तकहरू पनि छन्। जिन्दगी र सम्बन्धहरूदेखि भएका आशा÷निराशा तथा घात÷प्रतिघातहरू प्नि पूर्ण मुक्तकको रूपमा आएका छन् । जुन मुक्तकहरूमा प्रहारात्मक क्षमता स्तरीय छ ।

जस्तैः

यहाँ मनका मानाहरू छन् पाथी पनि छन्
सम्बन्ध तिनका तलदेखि माथि पनि छन्

कसलाई पो विश्वास गर्ने असमञ्जसमा छु
अँगालो मार्दै छुरा धस्ने साथी पनि छन्

न भेटियो केही खोजेको जस्तो
न पाइयो मनले रोजेको जस्तो

जीवन भन्नु पनि सम्झौतै रहेछ
न त भो जिन्दगी सोचेको जस्तो

मुक्तकाकारले केही मुक्तकहरूमा सटिक र चोटिला बिम्वहरूको प्रयोग गरेका छन् । जसले आम पाठकहरूलाई तरंगित बनाउँदछ । देशको वर्तमान परिप्रेक्ष्यमा यो र यो खालका मुक्तकहरूको छुट्टै महत्व छ । देशको घटनाक्रम हेर्दा भविष्यमा पनि रहिरहनेछ भन्ने कुरामा दुईमत नरहला ।

कसैलाई जिन्दावाद, कसैलाई मुर्दावाद भन्नुपर्छ
आफ्नो विचार इतरकाहरूलाई झारपात गन्नुपर्छ

नेता जुट्दा जुट्नुपर्ने फेरि नेता फुट्दा फुट्नुपर्ने
टाउको भएकै कार्यकर्ता नि यहाँ मुर्कट्टा बन्नुपर्छ ।

मुक्तक मार्फत मुक्तकाकार छरपस्ट रूपमा देश बोलेका छन् । देशप्रतिको चिन्ता अधिक रूपमा आएको छ । देशमा भइरहेको विसंगति, विकृति पनि समेटिएको छ । देशमा व्यवस्था परिवर्तन भएर पनि आम नेपालीको अवस्था परिवर्तन नभएको गुनासाहरू पनि छन् ।

बाच्छो हुर्काउँला र गोरु बनाउँला भन्थें बहरमै बित्यो
त्यसको कमाइले दुई छाक खाउँला भन्ने रहरमै बित्यो

देशमा गणतन्त्र आयो भनेर खुसी मनाउँदै थिएँ
विडम्बना ! गाउँमा नआई गणतन्त्र सहरमै बित्यो

बा र छोरा हुनुको कर्तव्यबोध, सोह्रवर्षे आसक्ति, चालीस वर्षे प्रेम, बाँचेको जिन्दगीलगायत यावत् कुराहरू पनि संग्रहमा समेटिएका छन् । मुक्तकाकार अनुप्रास प्रयोगको विषयमा धेरै हदसम्म सतर्क छन् । मुक्तक कविताको छोटो रूप र गजलको छोटो रूप हो भनिने नयाँ कथनलाई मुक्तकाकारले मुक्तक मार्फत सहज रूपमा उच्चकोटिको जवाफ दिएका छन् ।

मुक्तकमार्फत मुक्तकाकार छरपस्ट रूपमा देश बोलेका छन् । देशप्रतिको चिन्ता अधिक रूपमा आएको छ । देशमा भइरहेको विसंगति, विकृति पनि समेटिएको छ ।

संग्रहमा रहेका केही मुक्तकहरू सरसर्ती पढ्दा सन्तुलित लागे पनि खोटबाट मुक्त भने छैनन् । संरचनागत रूपमा कतै पनि कमजोरीको रूपमा लेखकले आफूलाई प्रस्तुत गरेका छैनन् ।

चार हरफमा लेखिने मुक्तकहरूमा पहिलोले विषय उठान, दोस्रोले समर्थन, तेस्रो स्वतन्त्र हुने गर्दछ भने चौथो पंक्तिले मार हान्नुपर्ने उच्च विशेषता हुनुपर्दछ भन्ने मान्यता रहिआएको छ । यद्यपि लेखक केही मुक्तकहरूमा सो मान्यताबाट चुकेको भान हुन्छ ।

अधिक राम्रा मुक्तकहरू हुँदाहुँदै पनि किताबमा १०१ मुक्तक पुर्‍याउने ध्याउन्नले गर्दा केही कमसल भावका अझ भनुँ मार कम हानेका मुक्तकहरू पनि संग्रहमा संग्रहित गरिएका छन् ।

यो सामान्यतया हरेक लेखकमा हुने लेखकीय दोषको रूपमा लिने गरिन्छ । यसबाट मुक्तकाकार यहाँ पनि अछुतो रहन सकेका छैनन् । केही मुक्तकहरूमा अनुप्रासको प्रयोगमा कमजोरी देखिन्छ । जुन हेर्दा मिलेको देखिए पनि वाचन गर्दा नमिलेको भान हुन्छ ।

लेखकले आधा दर्जन त्यसप्रकारका मुक्तकहरूलाई उच्च माया नगरेको भए अक्षर अक्षरमा देश अझ सुन्दर संग्रह बन्न सक्नेमा द्विविधा थिएन । पोखराको गजल विकासको एक मानक व्यक्तित्वमा आफ्नो नाम निर्विकल्प कोरेका दीपक समीपको मुक्तक संग्रह ढिलो आए पनि दुरुस्त आएको छ । पुस्तक मुक्तक बुझ्ने र नबुझ्ने दवैै पाठकको लागि पठनीय, सरल एव संग्रहणीय छ ।

केही रहरले बोलेको छ केही करले बोलेको छ
देशको हरेक अवस्थालाई हाम्रै घरले बोलेको छ

तपाईंहरू निर्धक्क अनि निसंकोच भएर पढ्नुहोस्
यो संग्रहमा देश हरेक अक्षर अक्षरले बोलेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?