+
+

‘फक्…’

आत्मविश्वासकै कुरा गर्दा कुनै केटा मानिसले आफूलाई कोही केटी मन परेको र उनीसँग शारीरिक सम्पर्क भएको कुरा अर्काे केटालाई खूब गर्व र हिम्मतका साथ सुनाउन सक्छ । तर यस्तै अनुभवका कुरा आफ्ना सँगीलाई बताउन केटीहरूलाई संकोच र हीनताबोध हुन्छ ।

शीतल दाहाल शीतल दाहाल
२०७८ माघ २५ गते १०:०७

कार्यालयको कामको सिलसिलामा एक युवकसँग दिनमा दशौं पटकसम्म मोबाइलमा संवाद गर्नुपर्थ्यो । सुरुका दिनहरूमा कामकै मात्र कुरा भयो, तर पछि हामी नजिकको साथी पनि भयौं । उसको पढाइ अमेरिकामा भएकाले हो वा लामो समयको अमेरिका बसाइले हो, नेपाली शब्द उच्चारण र शब्द छनोटमा उसले खूबै गल्ती गर्ने । नेपाली भएर पनि राम्रोसँग नेपाली बोल्न नआएको भन्ने बहानामा मैले जिस्कँदै एक दिन उसको नाम ‘तोरीलाउरे’ राखिदिएँ, उसले मेरो नाम ‘तोरीलाउरिनी’ राख्यो ।

एउटै उमेर समूह र सोच्ने तरिका उस्तै, हाम्रो रहनसहन अलग थियो र पनि उस्तै स्वभाव भएकोले हाम्रा कुराहरू खूब मिल्थ्यो । कामका बाहेक अनेक कुरा हुन्थे, मैले पहिलो पटक उसैको संगतबाट थाहा पाएँ केटा र केटीबीच प्रेमको मात्र सम्बन्ध हुँदैन साथीको मात्र पनि सम्बन्ध हुन सक्छ । तर जीवन एउटै लयमा नबग्ने रहेछ, एउटै दोस्ती र एउटै दुश्मनीले मान्छेलाई नपुग्दो रहेछ ।

जीवनलाई र्फकेर हेर्‍यो भने जति धेरै दोस्त बनाइएछ, उति नै धेरै दुश्मन पनि । जीवनले मसँग मात्र गर्‍यो कि अरूसँग पनि घात गर्‍यो त्यो म जान्दिनँ तर मेरो मुटुमा बास गरेकाहरू नै थिए जसले मेरै मुटु दुखाएर गए । खैर उसको र मेरो दोस्ती अब रहेन तर यस पटक समयलाई धन्यवाद किनकि ऊ मेरो दुश्मन पनि होइन ।

मेरो केटा साथीले मसँगको दोस्तीमा के र कति सिक्यो त्यो त म जान्दिनँ तर मैले ऊबाट केही अंग्रेजी गालीहरू सिकें । त्यस्ता अंग्रेजी गालीहरूलाई नेपाली भाषामा अश्लील र फोहोरी ठानिन्छ । मैले मेरो पूर्वमित्रबाट केही फोहोरी शब्दहरू सिकें । यसअघि कहिल्यै आफूले नबोलेको र कसैको मुखबाट उच्चारण हुँदा पनि भद्दा लाग्ने त्यस्ता शब्दहरू अहिले दिनमा मेरो मुखबाट दशौं पटक निस्कन्छ । विशेषगरी आफू एकसुरले गाडी वा स्कुटर चलाइरहेका बेला एक्कासी जब ब्रेक लगाउन पुग्छु, तब मुखबाट त्यस्तो ‘फ’ शब्द फुत्तै फुत्कन्छ, फक्…!

युट्युबमा कवि उज्वला महर्जनको एउटा कविता रहेछ, ‘काली’ । कविताको मध्यतिरै कविताभित्रै अटाएको त्यस्तै अर्को झर्रो नेपाली शब्द पहिलो पटक सुन्दा म त अचम्भित भएँ । छोरी मान्छेका मुखबाट यस्तो ‘फ’शब्द ? यति झर्रो अश्लील, त्यो पनि उति सार्वजनिक मञ्चमा ! अझ लाजै नमानिकन ! पहिला त लाग्यो, ‘कस्तो लाज नभाको केटी ।’ तर पछि कैयौं पटक उनको त्यही कविता सुनें तर उनको कवितामा प्रयोग भएको ‘चि…’ शब्दलाई मैले यौनक्रीडाभन्दा बढी समाजप्रतिक्रो आक्रोश र कविको आत्मविश्वासको अभिव्यक्तिका रूपमा बुझें ।

आत्मविश्वासकै कुरा गर्दा कुनै केटा मानिसले आफूलाई कोही केटी मन परेको र उनीसँग शारीरिक सम्पर्क भएको कुरा अर्काे केटालाई खूब गर्व र हिम्मतका साथ सुनाउन सक्छ । तर यस्तै अनुभवका कुरा आफ्ना सँगीलाई बताउन केटीहरूलाई संकोच र हीनताबोध हुन्छ

उज्वला महर्जनको ‘काली’ कविता कतिले सुने कुन्नि, तर यस्ता ‘फशब्द’ हरू, महिलाहरूले विरलै सार्वजनिक जीवनमा बोल्छन् । यद्यपि केटाहरूका लागि भने यस्ता शब्दहरू सामान्य हुन् । अघिपछि को छ भन्ने समेत ख्याल नगरी नै उनीहरू यस्ता शब्द बोलिरहेकै हुन्छन् । किनभने पुरुष हुनु भनेको धाक जमाउनु पनि हो, हजारौं वर्षदेखिको संरचनात्मक लाभांशमा आधारित आत्मविश्वास व्यक्त गर्नु पनि हो । तर सबै छोरीहरू उज्वला होइनन्, त्यसैले यस्ता शब्दहरू उनीहरूले बारम्बार सुन्नुपर्छ तर नसुनेझैं गरी तर्केर हिंड्नु पनि पर्छ । छाडा भनिने यस्ता ‘स्ल्याङ’ शब्दहरूले साधारण अवस्थामा यौनक्रीडा बुझाउने भए पनि अन्य अवस्थामा यस्ता शब्द प्रयोगले शक्ति र सत्तामा को छ भन्नेतर्फ संकेत गर्छ । भाषा भनेको दुई वा दुईभन्दा बढी व्यक्तिबीच हुने संवाद मात्र होइन, अनेक अभिव्यक्तिको माध्यम पनि हो । समुदायमा बोलिने एउटै भाषामा पनि महिलाले बोल्ने एक खालको भाषा र पुरुषले बोल्ने अर्कै खालको भाषा हुनुलाई त्यो समुदायमा महिला र पुरुषको समान हैसियत छैन भनेर जान्नुपर्छ ।

यो लेख पढ्दै गर्दा लेखकलाई आरोप पनि लाग्न सक्छ कि अश्लील शब्द बोल्न पाउनुपर्ने र समाजले फोहोरी भनेको शब्द ओकल्न पाउनुपर्ने कस्तो बकवास माग हो यो ? प्रश्न गर्नेहरूलाई ओठे जवाफ फर्काएको नठानियोस्, हाम्रो भाषामा भएका यति धेरै शब्दहरू, ती श्लील हुन् या अश्लील ? अधिकांश सार्वजनिक शौचालयहरूमा पुरुषहरू यस्ता शब्दहरू कोरेर निर्धक्क आफ्ना कुण्ठा पोख्छन् तर तिनै अश्लील भनिने शब्दहरू महिलाको मुखबाट उच्चारण हुँदा हामी जिब्रो काढ्छौं, ट्वाँ पर्छौं । यी सन्दर्भले फेरि पनि प्रष्ट पार्छ, छाडा भनिने शब्दहरू सार्वजनिक जीवनमा प्रकट हुने स्वतन्त्रता र आत्मविश्वासको कडी हो ।

यसो भन्दै गर्दा, बैठक चलिरहँदा बोल्ने भाषा, खेल मैदानको भाषा, चोक र गल्लीमा बोलिने भाषा, विद्यालयमा बोल्ने भाषा वा दाउरा-घाँस काट्दा बोल्ने भाषा एउटै हुँदैनन् भन्ने कुरामा कुनै दुईमत छैन । चोकमा बसेर अश्लील र अर्मादित शब्द बोल्न पाउनु पर्‍यो भन्ने माग मेरो सर्वथा होइन । सार्वभौम मानव स्वभाव के हो भने मानिस आफूलाई अभिव्यक्त गर्न चाहन्छ । दबिएर बसेका कुण्ठा पोख्नकै लागि प्रकृतिले नै अनेक खालका स्वभाव मानिसलाई दिएको हुन्छ । साँच्चै भन्ने हो भने यो दौडधुपको समयमा मान्छे उन्मत्त भएर आफूलाई व्यक्त गर्न चाहन्छ, निष्फिक्री चिच्याउन चाहन्छ, मनका अनेक कुण्ठाहरूबाट एकैछिन भए पनि निवृत्त हुन चाहन्छ । र, ‘छाडा बोल्नु’ पनि एक खालको आजादी नै हो ।

मनका कुण्ठा पोख्ने र निर्लज्ज आफूलाई व्यक्त गर्ने अवसरका रूपमा नेपाली गाउँघरमा, खासगरी खस-आर्य समाजमा, बिहेको रत्यौलीमा प्रयोग गर्ने गरिएको समेत पाउँछौं हामी । रत्यौली छाडा गीतहरूमा र त्यहाँ गरिने अन्य हर्कतमार्फत महिलाहरूले आफ्ना कुण्ठा र पीडाहरूलाई व्यक्त गर्थे, किनभने लोग्ने मानिसहरू दुलही लिन जन्त जाने र जवान पुरुषहरूको शून्य उपस्थिति रहँदा आफूलाई लोग्ने मन नपरेको कुरा, लोग्नेसँगको शारीरिक सम्बन्धले खुसी भएका या नभएका कुरा, लोग्नेलेे अर्कीलाई मन पराएको कुरा, सासूले लोग्नेसँग आफ्नो कुरा काटेको, सुुसुरा बाजेसँग चित्त नबुझेको कुरा, नन्द-आमाजूसँग परेका झै-झगडाको कुरा त्यही रत्यौलीमा व्यक्त गरिन्थ्यो ।

पुरानो रत्यौली महिलाहरूले आफूलाई व्यक्त गर्ने ठूलो फोरम पनि थियो । पहिले-पहिले बिहे भन्नेवित्तिकै प्रायः दुई दिने हुन्थे । पहिलो रातको रत्यौली त प्रायः महिलाको मात्रै कब्जामा हुन्थ्यो । त्यसो हुँदा आफ्ना भँडास पोख्नका लागि अति सुरक्षित मञ्च थियो महिलाहरूको लागि तर यातायात र सडकका कारण बिहेहरू एकदिने र महिलाहरू पनि जन्त जान थाले । त्यसो हुँदा पुराना रत्यौली र रोधी घरहरू पहिलेजस्तो रहेनन् । घाँसपात र मेलापातका आयाम पनि बदलिए । बरु अचेल रत्यौलीका छाडा अभिव्यक्ति टिकटकमार्फत केही महिलाले व्यक्त गर्ने गरेका छन् ।

यसो हुँदा, आफ्ना अव्यक्त कुण्ठा र दिग्दारी पोख्ने ठाउँ टिकटक बनेको छ, तर त्यसभित्र आएका प्रतिक्रियाहरूलाई हेर्ने हो भने अझै पनि समाजले महिलाहरूका स्वतन्त्र अभिव्यक्तिलाई स्वीकार गर्न नसकेको प्रष्टै हुन्छ । कुनै महिलाले नाच्न मन लागेर आफू नाचेको भिडियो टिकटकमा अपलोड गरिन् भने उनको स्तनको आकारको कुरा, स्तन हल्लिएको कुरा, अझ ‘तिम्रो छाती, तिमीभन्दा पनि बढी उपि|mयो, यसरी छाती नहल्लाऊ यता मलाई सम्हाल्न गाह्रो हुन्छ’ जस्ता प्रतिक्रिया हुन्छन् । कुनै महिलाले नाचेर आफूलाई व्यक्त गर्न खोजिरहँदा जब त्यहाँ उसका संवेदनशील अंगहरूमाथि टीकाटिप्पणी हुन्छन् भने बुझ्नुपर्छ, महिलालाई पुरुष खेलौना ठान्छ, भोग्या ठान्छ त्यसैले आफूले कजाउने दासीका रूपमा पुरुष महिलालाई व्यवहार गर्न खोज्छ ।

यौन सम्बन्धमै महिलाले भोग्नुपर्ने दुःखको प्रकटको कुरा त झन् अलग कुरा । होइन भने संसारभरका औसत पुरुष आफ्नो जीवनकालमा दशभन्दा बढी महिलासँग आफ्नो यौन सम्बन्ध रहको कुरा बताउन सक्छन् भने महिलाले आफ्नो जीवनमा भएका त्यस्ता यौन सम्बन्धका कुरा निर्धक्क विरलै कसैलाई बताउँछिन्

र, सार्वजनिक रूपमा फलानीलाई एकपटक भ्याउन पाए हुन्थ्यो भन्न पुरुष कुनै अप्ठ्यारो मान्दैन । यसले सार्वजनिक जीवनमा पुरुष आत्मविश्वासको संकेत पनि गर्छ । आत्मविश्वासकै कुरा गर्दा कुनै केटा मानिसले आफूलाई कोही केटी मन परेको र उनीसँग शारीरिक सम्पर्क भएको कुरा अर्काे केटालाई खूब गर्व र हिम्मतका साथ सुनाउन सक्छ । तर यस्तै अनुभवका कुरा आफ्ना सँगीलाई बताउन केटीहरूलाई संकोच र हीनताबोध हुन्छ । कस्तो अचम्मको कुरा, दुवैको राजीखुसीमा हुने मायाको सम्बन्ध व्यक्त गर्ने सवालमै पनि पुरुष र महिलाबीच कति फरक । आखिर यो सबै समाजको स्कुलिङका कारण भएको होइन र ?

यदि शारीरिक सम्बन्धहरू लज्जाको विषय हो भने त्यो त दुवैको लागि त्यस्तै हुनुपर्ने होइन र ? तर पुरुषले निर्धक्क कुण्ठा र यौनेच्छा प्रकट गर्ने यो समाजमा महिलालाई त्यो अधिकार पटक्कै छैन । यौन सम्बन्धमै महिलाले भोग्नुपर्ने दुःखको प्रकटको कुरा त झन् अलग कुरा । होइन भने संसारभरका औसत पुरुष आफ्नो जीवनकालमा दशभन्दा बढी महिलासँग आफ्नो यौन सम्बन्ध रहेको कुरा बताउन सक्छन् भने महिलाले आफ्नो जीवनमा भएका त्यस्ता यौन सम्बन्धका कुरा निर्धक्क विरलै कसैलाई बताउँछिन् । दुवै जना आफ्नो स्वविकेकले सामेल भएको सम्बन्धमा पनि एक पक्ष अपराधीझैं सधैं लुकीलुकी रहनुपर्ने र अर्काे पक्ष कुनै विजयी सिपाहीझैं छाती फुलाएर हिंड्न मिल्ने हुनुहुन्थ्यो र ? यौनसम्पर्क राख्ने महिलालाई सीधै वेश्या करार गर्ने र पुरुषलाई भने ‘मर्दकी यति ओटी र उति ओटी’ भन्ने भाष्यमा महिलाका आत्मविश्वासहरू कुल्चिइएको दृष्टान्त होइन यो ?

शरीरमा आएको पिलो ननिचोरी राख्ने हो भने त्यसले शरीरलाई कष्ट दिन्छ । कुण्ठाहरूलाई दबाउँदा मनको घाउले झनै दुःख दिन्छ । तनको घाउभन्दा मनको घाउ त झनै घातक हुन्छ भन्छन् बुझकीहरू । अभिव्यक्त गर्न नपाउँदा कुण्ठाहरू निवृत्त हुन पाउँदैनन् र महिलाको जीवनरूपी बगैंचाका फूलहरूमा रंग नभर्दै ती फिका भएर जान्छन् । जीवनलाई व्यक्त गर्ने क्रममा मर्यादा र संस्कारका नाममा अब हाम्रा दिदीबहिनी र छोरीहरूले आफूलाई खुम्च्याउनु आवश्यक छैन । किनभने लालपुर्जै बनाउने हो भने पनि आधा धर्ती त हाम्रै  नामको हो नि ! यो धर्तीमै उसैगरी जन्मेका हामीले चाहिं आफूलाई अभिव्यक्त गर्न किन डराउने !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?