+
+

अनुभवी शरद : ‘जोस जाँगर मरेको छैन’

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ २५ गते १०:३०

२५ माघ, काठमाडौं । आईसीसी टी-२० विश्वकप ग्लोबल क्वालिफायर खेल्न ओमान जाने नेपाली टोलीका सबैभन्दा अनुभवी खेलाडी हुन् शरद भेषावकर । राष्ट्रिय टिमका लागि डेढ दशकभन्दा बढी समय खेलिसकेका ३३ वर्षीय शरदले टी-२० राष्ट्रिय टिममा २०१९ पछि पुनरागमन गरेका छन् ।

शरदले नेपालको पहिलो टी-२० मान्यता प्राप्त खेल २०१४ को विश्वकपमा हङकङविरुद्ध खेलेका थिए । त्यसमा उनले १४ रन बनाएका थिए । त्यसयता उनले नेपालका लागि १७ टी-२० अन्तर्राष्ट्रिय खेल खेलिसकेका छन् ।

पछिल्लो पटक सन् २०१९ जुलाईमा आईसीसी टी-२० विश्वकप एसिया रिजन फाइनलमा सिंगापुरविरुद्ध खेलेका उनी ७ रन बनाएर आउट भएका थिए । त्यसपछि उनी पहिलो पटक टी-२० टिममा परेका छन् ।

दोस्रो पटक टी-२० विश्वकपमा छनोट हुने लक्ष्यसहित नेपाली टोली ओमान जाँदा शरद भेषावकर अनुभवी खेलाडीको रुपमा रहने छन् । सन् २०१४ मा पहिलो पटक टी-२० विश्वकप खेल्दा टिममा रहेका शरदसँगै चार खेलाडी मात्र अहिले टिममा छन् । जसमा शरद, पूर्व कप्तान ज्ञानेन्द्र मल्ल, प्रदीप ऐरी र जितेन्द्र मुखिया हुन् । शरद र प्रदीपले २०१९ पछि टी-२० टिममा पुनरागमन गर्दा जितेन्द्रले झण्डै सात वर्षपछि नेपाली टिममा फर्केका हुन् ।

राष्ट्रिय टिममा खेलेको धेरै अनुभव भएका खेलाडी शरदले ओमानमा हुने ग्लोबल क्वालिफायरमा पनि राम्रो प्रदर्शन गर्ने र टी-२० विश्वकपमा छनोट हुने आत्मविश्वास देखाएका छन् ।

पुरानै प्रशिक्षक पुबुदु दासानायके यस पटक पनि उही भूमिका छन् । नयाँ कप्तान सन्दीप लामिछानेको नेतृत्वमा नेपालले पहिलो प्रतियोगिता नै विश्वकप छनोट खेल्दैछ ।

शरदले ओमान जानुअघि सञ्चारकर्मीसँग कुरा गर्दै फेरि विश्वकप खेल्नेमा आत्मविश्वास रहेको बताए । ग्लोबल क्वालिफायर फेब्रुअरी १८ देखि २४ सम्म हुँदैछ । त्यसअघि नेपालले चार देशीय टी-२० सिरिज पनि खेल्नेछ ।

टी-२० विश्वकपको अनुभव लिइसकेका शरदले यस पटक नेपालले क्षमता अनुसार खेलेमा विश्वकपमा छनोट हुने आत्मविश्वास व्यक्त गरेका हुन् । ‘विश्वकप पुग्नेमा कन्पिmडेन्ट छौं । दुई वटा म्याचको कुरा हो । दुई म्याच बेस्ट दिएर पोटेन्सियल अनुसार खेल्यौं भने विश्वकपमा पुग्छौं जस्तो लाग्छ,’ फेरि विश्वकप खेल्ने सम्भावनाबारे सोध्दा शरदले भने ।

शरदले दुई खेल मात्र भने पनि नेपालले क्वालिफायर समूहको तीन खेल खेल्नेछ र शीर्ष दुई स्थानमा रहेर सेमिफाइनल पुगेमा अर्को खेल पनि थपिनेछ । अष्ट्रेलियामा हुने टी-२० विश्वकपमा पुग्न नेपालले कम्तीमा पनि सेमिफाइनल जित्नुपर्ने छ ।

नेपालको समूहमा घरेलु टोली ओमान, क्यानडा र फिलिपिन्स छन् । शरदले सायद ओमान र सेमिफाइनलमा खेल्ने विपक्षीलाई संकेत गर्दै दुई खेलको कुरा गरेका हुन सक्छन् । यसपटक टिममा शरद लगायत केही सिनियर र अनुभवी खेलाडी छन् भने युवासँगै नयाँ खेलाडीहरु पनि छन् ।

शरदले टिम पनि सन्तुलित रहेको र तयारी पनि राम्रो भएको बताए । ‘टिम एकदमै सन्तुलित छ । तयारी पनि राम्रो भएको छ । आफ्नो व्यक्तिगत कुरा भन्दा पनि टिमलाई सबै जनाले कसरी बेस्ट दिने भन्ने हो । टिममा सबै जनालाई आ-आफ्नो भूमिका थाहा छ र जे आवश्यक छ त्यही योजना अनुसार खेल्ने हो,’ शरदले भने ।

पूर्व कप्तान ज्ञानेन्द्र र आफूले तीन-चार वटा छनोट खेल सँगै खेलेकाले युवा खेलाडीमा आफ्नो अनुभव बाँडेर त्यसलाई सक्दो लागु गर्दै टिमलाई जिताउने योजनामा छन् शरद ।

यस पटक टिममा ब्याटिङमा क्षमतावान खेलाडी रहेकाले पहिलो रोजाईमा पर्न शरदलाई पनि चुनौती छ । तर सिनियर खेलाडी हुनु, यसअघि विश्वकप खेल्नु अनि घरेलु फ्रेन्चाइजमा प्रशिक्षक पुबुदसँगै काम गर्नुले पनि शरदले कुनै न कुनै भूमिका पाउने अनुमान गर्न सकिन्छ । उनी त्यसका लागि तयार पनि छन् ।

शरदले आफ्नो भूमिकालाई लिएर पनि आत्मविश्वास देखाएका छन् । यसअघि नेपालले सन् २०१४ को विश्वकप खेल्दा शरदले नै छनोटमा उत्कृष्ट प्रदर्शन गरेका थिए । केन्या र हङकङ जस्ता टिम विरुद्ध शरदले नै गेम फिनिस गर्दै जिताएका थिए ।

उनले भने, ‘मलाई आफ्नो भूमिका लिएर फिनिसिङमा आत्मविश्वास छ । यत्रो वर्ष क्रिकेट खेलेको हुँदा के गर्नुपर्छ मलाई थाहा छ, त्यो दबाबमा कसरी जिताउनुपर्छ भन्ने । मेरो गेम प्लानमा म कन्पिmडेन्ट छु । म हरेक खेलमा रमाएर खेल्न चाहन्छु । अहिलेसम्म आफ्नो उत्कृष्ट दिएर खेलेको छु । अहिले पनि जोश जाँगर घटेको छैन मेरो साइडबाट ।’ उनले आफ्नो त्यही अनुभव र अहिलेसम्म सिकेका कुराहरु अबको खेलमा पनि लागु गर्न सक्ने बताए।

यस्तै शरदले आफ्नो पुनरागमन भन्दा पनि अर्को खेल जस्तो लागेको बताए । ‘पुनरागमनबारे सोच्नुभन्दा पनि खेलमा उत्कृष्ट प्रदर्शन गरेर टिमलाई जिताउने योजना हो,’ उनले भने ।

शरदले अहिलेका युवा खेलाडीहरु तयार भएर आएका बताउँदै पहिलाभन्दा राम्रो भएको बताए । ‘खेलाडीहरु युवा छन् । तर अहिले सबै खेलाडी तयार छन् । पहिला हामी छनोट खेल्दै गर्दा र अहिलेको तुलना गर्दा हामी यत्तिको तयार थिएनौं । पहिला त्यतिको पावर हिटर थिएनन् । अहिले धेरै फरक छ,’ शरदले भने ।

‘हामीले आफ्नो उत्कृष्ट खेलेर योजना लागु गर्न सक्यौं भने राम्रो नतिजा आउँछ । पहिला बलिङ बलियो भनेर कुरा गर्थ्यौं, यो पाली अभ्यास र टुर्नामेन्टहरुमा ब्याटिङमा बढी कन्फिडेन्ट छौं । त्यो बेला टप अर्डर कन्सिसटेन्स थिएन जुन अहिले कन्सिसटेन्ट खेलिराछ । बलिङ पनि राम्रो छ । डेथ बलर राम्रो छ । स्पीनर राम्रो छ । ब्याटिङमा हामी बलियो छौं । कम्बिनेसन जे जस्तो भए पनि हामीले त्यो दिन गएर हाम्रो उत्कृष्ट क्रिकेट खेल्नैपर्छ । सबै टिम राम्रो तयारी गरेर आएका छन् । रिजल्ट भन्दा प्रोसेस राम्रो गरे रिजल्ट राम्रो हुन्छ,’ उनी भन्छन् ।

२०१४ मा विश्वकप खेलेपछि पछिल्लो दुई संस्करणमा नेपाल छनोट हुन सकेन । टिममा पनि धेरै परिवर्तन आइसकेको छ । नयाँ खेलाडी धेरै छन् । एक हिसाबमा भन्ने हब भने त्यो बेलाको गोल्डेन जेनेरेसनको अब शरद र ज्ञानेन्द्र मात्र अहिले टिममा छन् । विनोद भण्डारी यसपटक टिममा परेनन् । पूर्वकप्तान पारस खड्काले सन्यास लिइसकेका छन् ।

तर शरदले भने पुस्ता हस्तान्तरणमा गएको सिधै भनेनन् । उनले भने, ‘यीनै खेलाडीहरुसँग हामीले धेरै घरेलु क्रिकेट खेलेका छौं । सबैलाई एक अर्काको बारेमा थाहा छ । टिममा को-अर्डिनेसन र कम्बिनेसन राम्रो छ । म खासै परिवर्तन देख्दिनँ । खाली हामीले गएर गर्नुपर्ने के हो त्यसमा ध्यान दिन सक्यौँ भने बेस्ट रिजल्ट निस्कन्छ जस्तो लाग्छ ।’

यस्तै पुबुदु नै फेरि प्रशिक्षक हुँदा पहिला पुगिसकेको ठाउँमा फेरि पुग्न सकिन्छ भनेर विश्वास दिलाउन सकिने बताए । ‘हामीले पहिला एकपटक त्यो ठाउँमा पुगेपछि टिममा विश्वास आउँछ फेरि पुग्न सकिन्छ भनेर । पबुदु सरसँग खेलेर पुग्यौं थाहा छ कसरी जाने भनेर । ज्ञानेन्द्र, जितेन्द्र र प्रदीप त अझै पनि छन् । त्यो बेला कसरी पुगेको थियो भनेर सम्झिनेछौं । त्यो कम्बिनेसनले अहिले अनुभव सेयरिङमा फाइदा भइराछ ।

यस्तै शरदले विपक्षी टिमहरू ठूलो नाम रहेको तथ्यलाई स्वीकार गर्दै आफ्नो योजना अनुसार नै मैदान उत्रने बताए । ‘जस्ट अनोदर टिम भनम् । निश्चय नै नाम ठूलो छ टिमहरुको,’ विपक्षी टिमबारे शरदले भने, ‘त्यसमा भन्दा बलियो र कमजोरीमा प्रोपर योजना अनुसार उत्रने छौं । सबैको सपोर्ट र हाम्रो एजुकेसन राम्रो भए निश्चय पनि हामी यसपालि विश्वकपमा पुग्छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?