+
+

पूरा हुँदै उत्तरी गोरखावासीको सडक सपना

विकास मरहट्टा विकास मरहट्टा
२०७८ माघ २५ गते १९:२९

२५ माघ, गोरखा । गोरखा सदरमुकामबाट सबैभन्दा टाढाको स्थानीय तह चुमनुब्री गाउँपालिकाको केन्द्रसम्म सडकको ट्रयाक खुलेको छ । उत्तरी गोरखाको लार्केभञ्ज्याङसम्म ट्रयाक खोल्ने जिम्मा पाएको नेपाली सेनाले हालसम्म चुमनुब्री गाउँपालिकाको केन्द्र सिर्दिबाससम्म ट्रयाक खनेको हो ।

यस वर्ष थप डेढ किलोमिटर ट्रयाक खोलेर सिर्दिबासकै पाङसिङसम्म पुर्‍याउने नेपाली सेनाको सडक निर्माण कार्यदलका प्रमुख मेजर विनोद भट्टले बताए ।

ट्रयाक खोलेको ठाउँमा स्तरोन्नति पनि भइरहेको सडक निर्माण कार्यदलका प्रमुख मेजर विनोद भट्टले बताए । ‘सिर्दिवासको फिलिम वारिसम्म ट्रयाक खनिसक्यौं, अहिले बीचबीचमा स्तरोन्नतिको काम गरिरहेका छौं’ उनले भने ।

चट्टानसहितको भीर भएको धार्चे गाउँपालिकाको यारुबगर र दोभानमाथिको भीरमा ब्लाष्टिङ गरेर चट्टान फोर्ने काम भइरहेको भट्टले बताए । वैशाख महिनाभित्र सिर्दिवाससम्म गाडी गुडाउने लक्ष्य रहेको उनले बताए ।

अहिले दोभानसम्म सामान ढुवानी गर्ने जीप, ट्याक्टर, ट्रक र साना गाडीहरू आवतजावत गर्न सक्छन् । यस क्षेत्रमा सडक सुरक्षालाई ध्यानमा राखेर दिउँसोको समयमा मात्र गाडी गुड्न दिइएको छ ।

पृथ्वी राजमार्गसँग जोडिएको गोरखाको बेनिघाटदेखि आरुघाट हुँदै उत्तरी गोरखाको माथिल्लो विन्दु लार्केभञ्ज्याङ सडक जोड्ने योजना अन्तर्गत २०७४ सालमा नेपाली सेनाले धार्चे गाउँपालिकाको हावाडाँडादेखि लार्केभञ्ज्याङसम्मको ९२ किलोमिटर सडक ट्रयाक खोल्ने जिम्मा पाएको थियो ।

सडक निर्माणका लागि चालु आर्थिक वर्षमा १५ करोड रुपैयाँ विनियोजन भएको मेजर भट्टले जानकारी दिए । यसवर्ष धार्चे गाउँपालिकाको केन्द्र माछाखोलामा बेलिब्रिज राखिने सडक निर्माण कार्यदलका प्रमुख मेजर भट्टले बताए ।

‘टेण्डर परिसकेको छ, फागुन महिनाभित्र काम सक्ने गरी सम्झौता भइसक्यो, अब केहीदिनमा काम सुरु हुन्छ,’ उनले भने । माछाखोलामा पुल नहुँदा खोलाबाटै गाडी आवतजावत गर्न कठिन थियो । बेलिब्रिज बनेपछि बाह्रै महिना गाडी आवतजावत गर्न सक्छन् ।

लार्केभञ्ज्याङभन्दा रुइला लैजानु उपयुक्त

चीनको सीमा नाका नजिकै गोरखा र मनाङको सीमा लार्केभञ्ज्याङसम्म सडक पुर्‍याउन भने निकै कठिन हुने नेपाली सेनाले बताएको छ । ‘एक त भूगोल नै अप्ठ्यारो छ, फेरि करिव ५३ सय मिटरको हाइटमा पर्छ, बाह्रै महिनाजसो हिउँ पर्छ, काम गर्न सकिँदैन,’ उनले भने ।

लार्केभञ्ज्याङभन्दा चीनसँगको सीमा नाका रुइला भञ्ज्याङमा सडक लैजानु उपयुक्त हुने मेजर भट्टले बताए । ‘रुइला भञ्ज्याङमा सडक लगियो भने चाइना जोडिन्छ, फेरि यसको रणनितिक अर्थ पनि छ, त्यसैले लार्केभञ्ज्याङभन्दा रुइला नाकामा सडक लान उपयुक्त हुन्छ,’ उनले भने ।

चुमनुब्री गाउँपालिकाको माथिल्लो बस्ती साम्दोबाट रुइला नाकासम्म सडकको ट्रयाक खोल्ने काम सुरु भइसकेको भन्दै भट्टले भने, ‘साम्दोबाट ट्रयाक खन्न सुरु भइसकेको छ, हामीले यता (सिर्दिबास) बाट खोल्दै त्यसमा जोड्न सक्यौं भने थप सजिलो हुन्छ ।’

सामागाउँदेखि साम्दो हुँदै रुइला नाका जोड्ने सडक निर्माण गत वर्ष सुरु भएको हो । घरेलु औजार प्रयोग गरेर स्थानीय बासिन्दा आफैंले सडक निर्माण गरिरहेका छन् ।

३.५ किलोमिटर सडक निर्माणका लागि गण्डकी प्रदेश सरकारको भौतिक पूर्वाधार मन्त्रालयले ५० लाख रुपैयाँ बजेट दिएको थियो । जसमा स्थानीय वासिन्दाले आठ लाख रुपैयाँ बराबरको श्रमदान गरेका थिए । साम्दोदेखि रुइला नाकासम्मको सडकको दूरी करिब १० किलोमिटर हुने अनुमान छ ।

हालसम्म सडकले नछोएको चुमनुब्री गाउँपालिकामा सडक पुगेपछि धेरै सजिलो हुने चुमनुव्री गाउँपालिका–१ का अध्यक्ष वीरबहादुर लामाले बताए । ‘तिब्बतबाट खच्चडमा खानेकुरा ल्याउनुपर्ने बाध्यता छ, ढुवानी खर्च बढी लाग्छ,’ उनले भने, ‘मोटरबाटो भएपछि खर्च पनि कम लाग्ने र अरु कुरामा पनि सजिलो हुन्छ ।’

लेखकको बारेमा
विकास मरहट्टा

मरहट्टा अनलाइनखबरका गोरखा संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?