+
+

मानव पूँजी विकासमा कोभिडले चुनौती थप्यो, लगानी बढाउनु पर्छ : विश्व बैंक

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ २६ गते १८:४५

२६ माघ, काठमाडौं । विश्व बैंकले नेपालको मानव पूँजी विकासमा कोभिड १९ले चूनौति थपेको भन्दै लगानी थप गर्न र खर्च प्रभावकारी बनाउन सुझाव दिएको छ ।

‘नेपालमा मानव विकासका लागि संघीयता र सार्वजनिक खर्च : उदाउँदो एजेण्डा’ नामक प्रतिवेदन सार्वजनिक गर्दै विश्व बैंकले यस्तो बताएको हो । खासगरी संघीयतातर्फको यात्राले बृहत्तर मानव पूँजी संचयलाई प्रवर्द्धन गर्न अवसर प्रदान गरेको भएपनि कोभिड-१९ का कारण चुनौती थपिएको प्रतिवेदनको सार छ । पछिल्लो २० वर्षमा नेपालले मान पूँजी विकासमा महत्वपूर्ण प्रगति गरेको भएपनि स्वास्थ्य, शिक्षा र सामाजिक संरक्षणको क्षेत्रमा अझै धेरै चुनौती रहेको समेत प्रतिवेदनले औल्याएको छ ।

प्रतिवेदन अनुसार संघीयताले नीति–निर्माण र सेवा प्रवाहलाई जनताको नजिक पुर्‍याउन सहयोग गरेको छ । हरेक सरकारका जिम्मेवारीलाई स्पष्ट रुपमा परिभाषित गर्दै ती जिम्मेवारी निर्वाह गर्न आवश्यक प्रणाली र स्रोतको उचित व्यवस्थापन गर्न नीति निर्माण तथा सेवा प्रवाह थप प्रभावकारी बनाउन सकिने प्रतिवेदनले बताएको छ ।

प्रतिवेदन सार्वजनिक गर्न बुधबार आयोजित कार्यक्रममा अर्थसचिव मधुकुमार मरासिनीले प्रतिवेदनले संघीयताको सन्दर्भमा नेपालले मानव संसाधन विकासको क्षेत्रमा बेहोरिरहेको चुनौतीको बृहद समीक्षा गरेको बताए । यसका सुझाव सरकारका योजनासँग तालमेल खाएको भन्दै उनले सबै तहका सरकारलाई शिक्षा, स्वास्थ्य र सामाजिक संरक्षणको क्षेत्रसम्बन्धी महत्वपूर्ण काम सम्पन्न गर्न चाहिने साधन स्रोत उपलब्ध गराउने प्रयासमा सुझाव सहयोगी हुने बताए ।

सार्वजनिक खर्च समीक्षाबाट संघीयताको सन्दर्भमा मानव पूँजी विकासमा गर्नुपर्ने सुधारको समेत पहिचान गरिएको छ । प्रतिवेदनमा गरिब जनताका लागि आर्थिक समावेशीकरण सुनिश्चित गर्ने र सेवा प्रक्रियालाई मुल प्रवाहीकरण गर्ने लगायतका सुधारसहित कार्यसम्पादनका खाडल पूर्ति गर्न भनिएको छ । विभिन्न तहका सरकारको भूमिका स्पष्ट गरी तय भएका मापदण्ड कार्यान्वयन हुने कुराको सुनिश्चित गर्न समेत प्रतिवेदनले उल्लेख गरेको छ । सामाजिक पञ्जीकरण लगायत व्यवस्थापन प्रक्रिया र प्रणालीमा सुधार गर्न, राम्रो व्यवस्थापन प्रणालीको अभ्यासलाई प्रोत्साहन गर्न समेत भनिएको छ ।

माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि विश्व बैंकका निर्देशक फारिस हदाद भर्जोसले मानव पूँजी विकासका लागि सरकारले दिने आवश्यक सुधारका कदममा साथ दिन प्रतिवेदन बनाइएको उनले बताए । मानव पूँजी विकास राष्ट्र सहकार्य संरचनाको एक महत्वपूर्ण खम्बा भएको भन्दै उनले विश्व बैंकले स्वास्थ्य, शिक्षा र सामाजिक संरक्षणको क्षेत्रमा प्राविधिक वार्ता तथा वित्तीय लगानीका साथै विकास नीति कर्जामार्फत सुधारका योजना कार्यान्वयन गर्न सहयोग गर्ने उनले बताए ।

सो अवसरमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. विश्वनाथ पौडेलले नेपालले लिएको हरित, उत्थानशिल र समावेशी विकास रणनीतिको केन्द्रमा मानव पूँजीको विकास रहेको बताए यो प्रतिवेदनका सुझावले हरित उत्थानशिल र समावेशी विकास रणनीति अगाडी बढाउन सहयोग पुग्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?