+
+

चोक-चोकमा ‘अफलाइन राइडर’को पासो

चालक र यात्रु दुबै असुरक्षित

रवीन्द्र घिमिरे रवीन्द्र घिमिरे
२०७८ माघ २७ गते २१:०१
बानेश्वर चोकमा अफलाइनबाट यात्रु खोजिरहेका राइडर, उनले बानेश्वर चोकमा उभिएकाहरूसँग 'कता जाने हो, ट्याक्सीमा भन्दा सस्तो पर्छ' भनिरहेका थिए ।

२७ माघ, काठमाडौं । गत ८ माघमा काठमाडौंका प्रविन राईले राति सामखुसीबाट कोटेश्वरसम्म पठाओको एपमार्फत सुरक्षित ‘राइड सेवा’ दिए । राति साढे ११ बजे कोटेश्वरबाट उनले बाटोमा भेटेको  सुमन तामाङसँग धापाखेल जान मोलमोलाइ गरे ।

राइड सेयरिङ एपको सिस्टम छलेर अफलाइन सेवा लिने उनको निर्णय त्यतिबेला आत्मघाति सावित भयो, जतिबेला उनले आफू लुटेराहरुको योजनाअनुसार अपहरणमा परेको पत्तो पाए ।

धापाखेलमा पुगेपछि यात्रु तामाङका साथी मिनराज राई पनि आइपुगे । त्यसपछि एकान्तमा लगेर प्रविनको मुखमा टेप र हातखुट्टामा डोरी बाँधियो । त्यहाँ राईमाथि कुटपिट मात्रै भएन, नगद ८ हजार  नगद र मोटरसाइकल पनि लुटेर तामाङ र उनका सहयोगी फरार भए ।

ललितपुरका प्रहरी उपरीक्षक सिद्धिविक्रम शाहका अनुसार राति साढे १ बजे होहल्ला भएपछि स्थानीयले गरेको खबरका आधारमा प्रहरीले राईलाई उद्दार गरेर अस्पताल पुर्‍याउनु परेको थियो ।

अपरहणमा परेका प्रविन, पक्राउ परेका ‘अफलाइन राइडर’ र उनका साथी

भोलिपल्ट प्रविनबाट लुटिएको बागमती प्रदेश ०२-०१-००१ प ११६६ नम्बरको चोरीको मोटरसाइकल बिक्री गर्न लागेको अवस्थामा लुटेराहरु काठमाडौंको चन्द्रागिरिबाट पक्राउ परे ।

तर, कुटपिट घाइते भएका राईले क्षतिपूर्ति पाउन सकेनन् । पठाओका अधिकारीहरु राईलाई भेट्न अस्पताल नै पुगेका थिए, तर अफलाइन राइड सेवा दिएका कारण राईले बीमाबापतको भुक्तानी दावी लिन नपाएपछि सान्त्वनामै चित्त बुझाउनुपर्‍यो । पछिल्ला दिनमा फस्टाएको अफलाइन राइड सेवा लिने र दिनेहरु दुबै यस्तै किसिमका अनेकन समस्यामा पर्ने गरेका छन् ।

अफलाइन राइड लिने/दिनेहरुका कारण एपमार्फत सेवा लिनेहरु पनि प्रभावित छन् । गत तिहारमा भाइटीकाका दिन चितवनमा घर पुगेर काठमाडौं फर्किएका विकेश ढकाल राति साढे ९ बजे कलंकी झरेपछि लैनचौर पुग्न राइड बुक गरे ।

‘कालिमाटीबाट आउँदैछु एकछिन कुर्नुस्’ भनेका राइडरले एकछिनमै मोबाइलमा इन्टरनेट अफ गरे । एपमा बाइक नदेखिएपनि उनले प्राविधिक समस्यामा ठानेर कुरिरहे । तर, धेरैबेर कुर्दा पनि राइडर नआएपछि प्रदीपले फोन लगाए, जवाफ आयो, ‘राइड क्यान्सिल गरेर अर्को बुक गर्नुस्, अफलाइनमै घरतिर जाने मान्छे भेटेकाले कालिमाटीबाटै गोदावरी गएँ ।’

प्रदीपले थुप्रैबेर कुराएको भन्दै आपत्ति जनाएपछि राइडरले फोन काटे । उनले राइड क्यान्सिल गरेर अर्को राइड बुक गर्न अर्को आधा घण्टा समय लाग्यो ।

आजभोलि साँझमा काठमाडौंमा चोक र बस बिसौनीमा गाडी कुर्न उभिएकाहरुलाई पनि छेउमै मोटरसाइल रोकेर ‘कता जाने हो ?’ भनेर सोध्ने अफलाइन राइडरहरु प्रशस्तै छन् । उनीहरुले ‘ट्याक्सीमा भन्दा सस्तो (भाडा) पर्छ’ भन्दै यात्रुलाई लोभ्याउने गरेका छन् ।

राइड कम्पनीको एपबाट अफलाइन बसेर यात्रु खोज्नेहरुको संख्या पछिल्लो सयममा लगातार बढ्दो छ । राइड कम्पनी र एपमा आवद्ध नभए पनि मोटरसाइलकमा यात्रु खोज्दै हिँड्नेहरु पनि भेटिन्छन् । अफलाइन राइडको विकृति मौलाउँदै गर्दा अन्य कामले चोक र सडक किनारमा रोकिएका मोटरसाइकलहरुलाई समेत ‘पठाओ हो ?’ भनेर सोध्ने यात्रु पनि प्रशस्तै भेटिन थालेका छन् ।

ठमेल क्षेत्र अफलाइन राइडरको मुख्य ‘हब’ हो भने काठमाडौंमा मुख्य बजार क्षेत्रका चोकहरु र बसपार्क तथा बिसौनी क्षेत्रमा पनि अफलाइन राइडर साँझ विहान बाक्लो मात्रामा भेटिन्छन् ।

अफलाइनले थपेको चुनौती

पछिल्लो समयमा खुबै फस्टाएको ‘राइड सेयरिङ’को नयाँ चुनौती बनेर आएको छ, अफलाइन राइडिङ । चालकलाई केही बढी कमाउने र यात्रुलाई केही रकम बचाउने लोभले यस्तो सेवा फस्टाएको हो । तर, यो सेवा सुरक्षाका हिसावले यात्रु र चालक दुबैका लागि पासो बन्न सक्ने देखिएको छ ।

बाटो र चोकमा भेटिएका जोकुकै मोटरसाइकल चालकको भर परेर राइड लिने संस्कृति मौलाउन थालेको छ । राइड सेवा दिएबापात प्रत्येक कारोबारमा एप कम्पनीले लिने कमिसन छल्न चालकहरु मुख्य चोकमा यात्रु कुरेर बस्छन् । अफलाइन राइड सेयर गर्दा राइडरहरुलाई २० प्रतिशतसम्म नाफा छ । यात्रुका लागि सहजै राइडर भेटिएकोभन्दा बाहेक खासै फाइदा पनि छैन ।

तर, अनलाइनबाट भन्दा भाडादर केही रुपैयाँ सस्तो पर्ने लोभमा कतिपय यात्रुहरु पनि मोलमोलाइ टुङ्ग्याउँछन् । मुख्य रुपमा सडकमा धेरै यात्रुको चाप हुने ‘पिक आवर’ (कार्यालय समय र बेलुकी) र धेरै यात्रु पाइने मुख्य बजार क्षेत्रहरुमा अफलाइन राइड मौलाएको छ । पिक आवरमा अनलाइनमा नभेटिने राइडरहरु चोक-चोकमा सार्वजनिक सवारीजस्तै ‘कहाँसम्म जाने हो ?’ भन्दै आउने यात्रु  बोलाइरहेका हुन्छन् ।

अझ पछिल्लो समयमा राइड रिक्वेस्ट गर्ने र चालक भेटिएपछि अफलाइनमा जान रिक्वेस्ट क्यान्सिल गर्ने गराउने प्रवृत्ति पनि छ । एपबाट भनेका बेला राइड लिन नपाएपछि यात्रुलाई चोक र बाटोमा पुगेर अफलाइन राइड लिनुपर्ने बाध्यता पनि पर्न थालेको छ ।

ललतिपुरमा वरिष्ठ प्रहरी उपरीक्षक यज्ञविनोद पोखरेल अफलाइन राइडको समस्यालाई हल गर्न कम्पनीहरुलाई सचेत गराएको बताउँछन् । ‘अफलाइन राइड सेवाले सुरक्षाका लागि चुनौती थप्ने अवस्था प्रष्ट देखिएको छ,’ उनले भने,’यसमा यात्रु, राइडर र सेवा दिने कम्पनीहरु सबै सचेत हुनुपर्छ ।’ सिस्टमभित्रैबाट सेवा दिने अवस्था निर्माण गर्न राइड कम्पनीहरुलाई भनिएको पोखरेलले बताए ।

काठमाडौंमा राइड सेयरिङ सेवा दिने ३५ कम्पनी छन् । उनीहरुको अनुमानअनुसार अहिले दैनिक औसत ६५ देखि ७० हजार (पटक)ले काठमाडौंमा राइड सेयरिङ गर्छन् । त्यसमध्ये करिब ४५ देखि ५० हजार दैनिक सक्रिय यात्रु हुन् । एपहरुमा दर्ता भएका यात्रु करिब २५ लाखभन्दा बढी छ भने राइडर मात्रै करिब डेढ लाखभन्दा बढी रहेको अनुमान छ ।

तर, अफलाइन राइड नहुने हो भने यो आँकडा निकै माथि पुग्न सक्ने सम्भावना रहेको कम्पनीका अधिकारीहरु बताउँछन् । कम्पनीले असुरक्षित मानिएको अफलाइन राइडलाई निरुत्साहित गर्न विभिन्न कदम नचालेका होइनन्, तर सडकमा हुने मोलमोलाइलाई ट्रयाक गर्न सकस परेको छ ।

धेरै आम्दानी हुने भएकाले लागि रातभर राइड सेवा दिने चालकहरुको संख्या सानो छैन । अफलनाइन राइडले दिउँसो भन्दा साँझ र रातमा सुरक्षाको मामिला झन पेचिलो बनाएको छ ।

एकातिर राइड सेयरिङ सेवालाई संघीय यातायात व्यवस्था ऐन र नियमावलीमार्फत सम्बोधन र नियमन गर्न सरकारले ढिलाइ गरिरहेको छ भने सेवालाई सुरक्षित गर्न कतिपय नयाँ कम्पनीले प्रभावकारी प्रणाली बनाउन पनि सकेका छैनन् ।

अहिले पनि राइड सेयरिङ सेवालाई धेरै ट्याक्सी व्यवसायी र चालकहरुले रुचाएका छैनन् । सार्वजनिक यातायात व्यवसायीरुले त पटक-पटक कानुन विपरीतको सेवा भन्दै बन्द गर्न सरकारसँग माग गर्दै आएका छन् ।

बानेश्वरमा यात्रु कुरिरहेका राइडर

पछिल्लो वर्षमा भने राइड सेयरिङ सेवाविरुद्धको आवाज केही मत्थर भएको छ ।  तर, यही बेलामा यो सेवामा रहेका समस्या र विकृतिबारे अनेन कोणबाट बहस हुन थालेको छ । अहिले राइड सेवा प्रवर्द्धनका लागि मुख्य बाधाका रुपमा अफलाइन राइड अघि आएको छ । नयाँ मात्रै हैन, पुराना र स्थापित पठाओ, टुटलजस्ता कम्पनीहरु पनि अफलाइन राइडले थपेको चुनौतीलाई कसरी पार लगाउने भन्ने अलमलमा नै छन् ।

सबैका लागि घातक

यस्तो अफलाइन सेवाले राइड सेयरिङ कम्पनीहरुको आयमा पनि असर परिरहेको छ । प्रणाली छलेर कारोबार हुने भएकाले सरकारको सम्भावित राजस्व पनि गुमिरहेको छ ।

सँगै राइड सेवाप्रतिको जनविश्वास घट्ने जोखिम पनि छ । पठाओकी प्रवक्ता तथा मार्केटिङ म्यानेजर सुरक्षा हमाल अफलाइन राइड कसैको लागि हितकर नभएको बताउँछिन् । एपमार्फत सेवा बुक गर्दा यात्राका क्रममा सामान छुट्दा फिर्ता पाइने सुनिश्चित पनि हुन्छ ।

‘पठाओको सेवा लिन र दिन मोबाइल एपमार्फत बुक गर्नुपर्छ । एपमार्फत सेवा लिँदा यात्रा गरिरहेको सवारीको विवरण, यात्रु र राइडरको व्यक्तिगत जानकारी तथा यात्रा गरिरहेको स्थानको विवरण पठाओको एपमा उपलब्ध हुन्छ,’ उनले भनिन्,’तर, एप छल्न खोजियो भने राइड सुरक्षित हुँदैन, असुरक्षित तवरले गरिएको यात्राका लागि कम्पनी जिम्मेवार पनि हुन सक्दैन ।’

उनका अनुसार कुनै प्रणालीबाट ट्रयाक नहुने गरी मोटरसाइकल र यात्रुले राइड सेवा लिने/दिने प्रवृत्ति मौलाएमा सुरक्षाको सुनिश्चितता गर्न सकिँदैन । यस्तो अफलाइन राइड लिँदा सेवाग्राही र राइडर दुवैको व्यक्तिगत विवरण र राइड तथा सवारीको विवरण एप प्रणालीको रेकर्डमा बस्दैन । यसले यात्रु र राइडर दुबैमाथि सुरक्षा सम्वेदनशिलता बढाउने उनको भनाइ छ ।

अफलाइन सेवा लिँदा योजनावद्ध रुपमा यात्रु बनेर राइडरलाई वा राइडर बनेर यात्रुलाई दुःख दिने, दुब्र्यहार गर्ने र अपहरण, लुटपाटसहित जघन्य अपराधसम्मका घटना हुनसक्ने जोखिम हुन्छ ।

आपराधिक मानसिकता भएका मानिसले गलत फाइदा उठाउन सक्ने भएकाले सचेत हुन हमालको आग्रह छ । ‘अनलाइन राइडको समयमा कसैले गलत गरिहालेमा व्यक्तिगत, राइड र सवारीको जानकारी मोबाइल एप तथा कम्पनीको प्रणालीमा हुन्छ,’ उनले भनिन्,’कुनै समस्या पर्दा सप्रमाण कम्पनी र प्रहरीमा उजुरी दिन सकिन्छ, त्यसका आधारमा पीडकलाई पक्राउ गरेर कारवाही गर्न सहज हुन्छ ।’

अफलाइनबाट सेवा लिँदा कुनै दुर्घटना भए राइड सेयरिङ कम्पनीले दिएको बीमा सुविधा पनि लिन पाइँदैन । नेपालमा सबैभन्दा धेरै रायड सेयरिङ सेवा दिइरहेको पठाओले एक लाखसम्मको दुर्घटना उपचार बिमा र सवारी दुर्घटनाका कारण मृत्यु वा अपांगता हुन पुगेको खण्डमा १० लाखसम्म बिमाको व्यवस्था गरेको छ ।

दर्जनौं र राइडर र यात्रुले बीमा सेवाबाट लाभ उठाइसकेका छन् । तर, प्रणाली छलेर हुने राइडमा हुने दुर्घटनालाई बीमाले ‘कभर’ नगर्ने कम्पनीहरुले स्पष्ट गरेका छन् ।

लेखकको बारेमा
रवीन्द्र घिमिरे

घिमिरे अनलाइनखबरका प्रशासन संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?