
१५ वैशाख, जनकपुरधाम । टोल-टोलमा कालोपत्रे तथा पक्की सडक, घर-घरमा खानेपानीका धारा । खेत-खेतमा सिंचाइ, गाउँ-गाउँमा बिजुली बत्ती । अनि, प्रत्येक घरका बालबालिका विद्यालयमा अध्ययनरत ।
सिरहामा पर्ने कर्जन्हा नगरपालिका वडा नम्बर १ को पछिल्लो चित्र हो यो । यी र यस्ता विकासले कर्जन्हाको यो वडा अरु वडाभन्दा विशिष्ट छ ।
पूर्व-पश्चिम राजमार्गसँग जोडिएको बन्दीपुर बजारबाट झण्डै डेढ किलोमिटर माथि उक्लिएपछि सुरु हुन्छ कर्जन्हाको वडा नम्बर १ ।
राष्ट्रिय जनगणना २०७८ अनुसार यस वडाको कुल जनसंख्या २७०९ रहेको छ । जसमा महिला १४५१ र पुरुष १२५८ छन् । एकल परिवार संख्या ११४४ छ ।
६४० घरधुरी रहेको यस वडामा बाल्टिया, रतनपुर, बयरवनी, पखनौटीटोल, मुसहर लगायतका बस्ती छन् । बाहुन, क्षेत्री, दमाई, दनुवार, मुसहर, मुखिया, बिनलगायत विभिन्न जातजातिको बसोबास रहेको यो वडामा आपसी सद्भाल र सहिष्णुता पाइन्छ ।
रतनपुरका दिवाकर गिरीका अनुसार यो वडामा करिब सय जना व्यक्ति सरकारी सेवामा कार्यरत छन् । त्यसमा ५० जना बढी सुरक्षाकर्मी मात्रै छन् ।
बन्दीपुरदेखिको कालोपत्रे सडक हुँदै माथि पुग्दा कमला नदी किनारको प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल उत्तरबाहिनी पर्छ, जुन यसै वडामा छ । वडाको केन्द्रमा पर्ने बल्टियाटोलमा १ को वडा कार्यालय रहेको छ । वडा कार्यालयबाट सर्वसाधारणले सहज सेवा पाइरहेका छन् ।
छेउमै आधारभूत स्वास्थ्यचौकी रहेको छ । चार वर्षअघि मात्र स्थापना भएको स्वास्थ्य चौकीमा दैनिक दुई दर्जन बिरामी सेवा लिन आउने गरेको सीअहेब चन्देश्वर साह बताउँछन् । वडा कार्यालयबाट करिब तीन सय मिटर दक्षिणमा श्री नन्दबाबा माध्यमिक विद्यालय, बाल्टिया अवस्थित छ । जसमा गत वर्षदेखि माध्यमिक तहको पढाइ सुरु भएको छ ।
कमला नदीको नहर र हालै निर्माण गरिएको कुलो-पैनीले यहाँका खेतबारीमा सिँचाइ सेवा पुगेको छ । यस वडामा पनि अन्य बस्तीभन्दा भिन्न छ, रतनपुर टोल । १४२ घरधुरी पहाडी समुदायको मात्र बसोबास रहेको यस बस्तीका धेरै घरका मानिस नेपाली सेना र प्रहरीमा जागिरे छन् ।
तीन वटा शिव मन्दिर र प्रसिद्ध नन्दबाबा कुटी यस क्षेत्रका धार्मिक गन्तव्य हुन् । यस वडावासीको जीविकोपार्जनको मुख्य आधार कृषिसँगै वैदेशिक रोजगारी रहेको बाल्टियाकी ३९ वर्षीया दुर्गा धामी बताउँछिन् ।
‘अधिकांश घरबाट कम्तीमा एकजना वैदेशिक रोजगारीमा गएका छन् । यहाँ बस्नेले खेतीपाती गर्छन् । धेरैले जागिर पनि खाइरहेका छन्,’ दुर्गा धामी सुनाउँछिन् ।
दुई दशकअघि यस वडाका बस्तीहरूको अवस्था कहालिलाग्दो थियो । कच्ची हिलाम्मे र धुलाम्मे बाटो, फुसका घर, अशिक्षा, गरिबीले बस्ती गाँजिएको थियो । चुरे जंगलको घाँस-दाउरा यहाँका मानिसको जीविकोपार्जनको मुख्य आधार थियो ।

‘त्यतिबेला कच्ची बाटो थियो । धुलो र हिलोले यात्रा गर्न निकै समस्या हुन्थ्यो । घर फुसका थिए भने छाना खरका । जंगलबाट ल्याइएको घाँस-दाउरा बेचेर गुजारा चल्थ्यो,’ दुर्गा विगत सम्झन्छिन् ।
गरिबी र अशिक्षाका कारण पढ्न नपाएकी दुर्गाले अहिले चार छोराछोरीलाई पढाइरहेकी छन् । ‘२० वर्षअघि र अहिलेमा धेरै परिवर्तन आइसकेको छ । मेरा छोराछोरी सबै श्री नन्दबाबा माध्यमिक विद्यालयमा पढिरहेका छन् । पठनपाठन राम्रो छ,’ उनी गर्वका साथ भन्छिन् ।
त्यसबेला गाउँमा ५ कक्षासम्म विद्यालय थियो । स्थानीय सन्तोषी कार्कीका अनुसार दनुवार बस्तीमा खासै छोराछोरी पढाउने चलन थिएन । ‘त्यतिबेला थारु बस्तीमा एकजना साथी मात्रै मसँग पढ्थिन् । थारु बस्तीमा छोराछोरी खासै पढाउँदैनथे । अहिले त छोराछोरी पढाउन कसैले छुटाएका छैनन्,’ उनले थपिन् ।
कार्कीको अनुभवमा यस वडामा २० वर्षअघि र पछिको विकासमा धेरै फरक आइसकेको छ । ‘पहिले साँघुरो कच्ची बाटो थियो । बजार जाँदा भारी बोकेर जानुपर्थ्यो । दुई किलोमिटर पैदल हिँडेर विद्यालय जानुपर्थ्यो,’ एसएलसी पढेकी सन्तोषीले भनिन् ।
रतनपुर टोलका किसान दिवाकर गिरीका अनुसार पहिले खानेपानी र बिजुलीको अभाव थियो । चापाकलबाट पानी खनुपर्थ्यो । त्यो पनि पानीको सतह तल जाँदा सुक्दै गयो । चार वर्षयता सबैको घरमा खानेपानीको धारा जोडिएको छ । ‘पहिले खानेपानीको समस्या थियो । नन्दबाबा खानेपानी सरसफाइ उपभोक्ता समितिबाट चार वर्षभित्र यस वडाको सबै घरमा धारा जोडिएको छ,’ गिरीले भने ।
उनको बुझाइमा गाउँको चेतनास्तरमा पनि ठूलो परिवर्तन आएको छ । पहिले दिनहुँजसो झै-झगडा हुने बस्ती अहिले शान्त छ । ‘गाउँमा सबै समुदाय मिलेर बसेका छन् । दलित बस्तीमा पनि धेरै परिवर्तन आएकेको छ । दलित समुदायले पनि आफ्ना बालबच्चा स्कुल पठाउन थालेका छन्,’ गिरी भन्छन् ।
दुई दशकको अन्तरालमा आएको परिवर्तन रतनपुर टोलकी ६९ वर्षीया सोममाया श्रेष्ठलाई चमत्कारझैं लाग्छ । ‘२०४८ सालमा हामी ओखलढुंगाबाट रतनपुर आउँदा गाउँमा ४-५ वटा जति फुसका घर थिए । धेरै दुःख थियो । म कति रोएँ, रोएँ,’ सोममाया अतीत सम्झिँदै भन्छिन्, ‘अहिले हेर्नुस् त, सबैको पक्की घर छ । यी तीन वटा घर मेरै तीन छोराहरूका हुन् ।’
सोममायाका तीन छोरा सुरक्षाकर्मीमा छन् । उनका दिवंगत श्रीमान् मोहन दास पनि प्रहरी सेवामा थिए । उनी भन्छिन् ‘अहिलेको अवस्था हेर्दा पहिलेको दुःख त एका देशको कथा जस्तै लाग्छ ।’
बगर जस्तै देखिने खेतबारीमा अहिले गहुँ, धान, मकै, तोरी लगायतका बालीनाली लहलहाउँछन् । कुलो-पैनी बनाएर गाउँका धेरैजसो खेतबारी सिंचित भएको स्थानीय प्रेमनाथ चौलागाईं बताउँछन् ।
‘पहिले त यहाँको जग्गा बगर जस्तै थियो । पछिल्लो समय कमलाको नहरबाट कुलो-पैनी बनाएर धेरै खेतबारी सिंचित भएको छ । गहुँ, धान, मकै, तोरी लगायतको बालीनाली हुन्छ,’ चौलागाईं भन्छन् ।

पहिले प्रायः किसानको घरमा एकहल गोरु हुन्थ्यो । तर अहिले हलगोरु हराए जस्तो भयो । अब ट्याक्टर लगाएर जोतकोर गरी खेतीपाती गर्ने गरिएको माझी टोलका सोनफी माझी बताउँछन् ।
‘पहिले अधिकांशको घरमा हलगोरु हुन्थ्यो । अहिले ट्याक्टर जोतेर खेतीपाती हुन्छ । थारु टोलमा मुस्किलले २/४ जनाको घरमा मात्र हलगोरु बाँकी होला । मान्छे सुकुमार भए,’ माझी भन्छन् ।
माझीको दृष्टिकोणमा हेर्दाहेर्दै विभिन्न क्षेत्रमा अप्रत्यासित परिवर्तन आइसकेको छ । यस वडामा खडेन्द्रप्रसाद पोखरेल वडाध्यक्ष छन् ।
‘बाटोघाटो बन्यो, स्कुल बन्यो, नगरपालिका बन्यो । सबैले बालबच्चा पढाउन जोड दिन्छन् । धेरै परिवर्तन आएको छ,’ माझी भन्छन् ।
दुई दशकको अन्तरालमा यहाँका जनताको जीवनस्तरमा निकै परिवर्तन आएको छ ।
कमला नदीको पूर्वी छेउमै रहेको यस वडाका बस्तीहरू अन्य वडाको लागि उदाहरणीय भएको कर्जन्हा नगरपालिकाकी उपमेयर लक्ष्मी श्रेष्ठ बताउँछिन् । ‘यो वडा सडक, शिक्षा, खानेपानी, सरसफाइ, सिंचाइको हिँसाबले अन्य वडाभन्दा फरक छ । उदाहरणीय छ,’ उनी भन्छिन् ।

प्रतिक्रिया 4