
हाम्रा सार्वजनिक बहसहरू थाहै नपाई शहरकेन्द्रित भइरहेका हुन्छन् जबकि बस्तीहरूमा सुस्तरी आइरहेको परिवर्तन निकै मूल्यवान छ । नेपाललाई अग्रगतिमा लैजाने धमनी भनेकै बस्तीहरू त हुन् ।
हुन त पछिल्लो समय सहर र सामाजिक सञ्जालतिर निराशाका कुरा अलि धेरै नै हुन थालेको छ । तर, गाउँ-बस्ती डुलिहिंड्दा आशा र विश्वासका कुरा पनि सुनिन्छन् किनकि पछिल्ला दुई दशकमा देशका थुप्रै बस्तीहरूमा उत्साहप्रद चेतना बिस्तार भएको छ । उन्नतिका परिसूचकहरु गाउँमा प्रत्यक्ष अनुभूति गर्न सकिने स्तरमा बढेका छन् । बस्तीमा मोटरबाटो पुगेका छन्, विद्यालय र स्वास्थ्यचौकी बनेका छन्, प्रविधिको पहुँचले गाउँलाई ग्लोबल भिलेजसँग जोडेको छ।
धुले बाटाले यात्रासँगै सपनाको दूरी पनि घटाएका छन् र लेखिंदैछन् परिवर्तनका सुन्दर कथाहरू । यी परिवर्तनहरूले स्थानीय बासिन्दाको जीवनशैली मात्र होइन, सोच र सम्भावनाको आयतन पनि फराकिलो बनाएको छ । यही बदलिएका बस्तीहरूको कथा भन्न अनलाइनखबरले ‘बदलिएका बस्ती‘ सेरिज सुरु गरेको छ। आउनुहोस्, तिनै केही प्रतिनिधि बस्तीहरूको यात्रा गरौँ। अनि यस्ता थुप्रै बदलिएका बस्तीहरू तपाईं हाम्रै सेरोफेरोमा हुन सक्छन् । तिनलाई पनि यसैगरी समेट्दै जाऔंः
१० वैशाख, विराटनगर । भीमबहादुर ठकुरी २०६२ सालतिर साविक सिंहदेवी गाविस–९ लेटाङबाट तत्कालीन सिंहदेवी–५ (हाल केराबारी गाउँपालिका–२) हावेचौरी बसाइँ सर्दा डाँडा र आसपास गाउँका बासिन्दाको जेनतेन जीविका चलेको अवस्था थियो । कृषिमा निर्भर गाउँ थियो ।
पछिल्लो २० वर्षमा हावेचौरी जेफाले बनेको छ । ठाउँको नाम मात्रै फेरिएको छैन, स्थानीयको पेशा समेत फेरिएको छ । सडक, बिजुली गाउँ पुगेको छ, स–साना नै किन नहुन पूर्वाधार बनेका छन् । स्वास्थ्य चौकी र स्थानीय सरकारको कार्यालय पुगेको छ ।
जेफाले पर्यटकीय क्षेत्रको रूपमा विकसित हुँदा स्थानीयको आयस्रोत बढेको छ । पहाडी गाउँबाट तराई झर्ने आम समस्या रहे पनि जेफालेमा चाहिं बस्ती बढ्दो छ । २० वर्षको अन्तरमा ९–१० घर थपिएका छन् । ‘अन्यत्र बसाइँसराइको समस्या छ, यहाँ चाहिं बसोबास बढ्दो छ’ ठकुरी भन्छन्, ‘पहिले भन्दा धेरै परिवर्तन भएको छ ।’
जेफालेमा बस्ती बढ्नुको कारण २०६३/६४ बाट शुरु भएको पर्यटकीय क्षेत्र विस्तार अभियान हो । यहाँ २०६९ सालबाट होम स्टे सुरुआत भयो । यहाँका ९ वटा घरमा होम स्टे सञ्चालनमा छन् । बिहीवारे बजारमा मात्रै २७ घर बनेका छन् । स–साना होटलहरू थपिएका छन् ।
हावेचौर जेफाले बन्नुको मुख्य आधार पर्यटन हो । जेफाले पर्यटन विकास समितिका सचिव समेत रहेका ठकुरी २० वर्षमा गाउँमा धेरै परिवर्तन भएको बताउँछन् । उनका अनुसार, गाउँमा बिजुली र बाटो पुगेपछि परिवर्तनको आधार तयार भएको थियो ।
बाटोसँगै पर्यटक पुगेका कारण स्थानीयले होम स्टे र होटल सञ्चालन गरेर आम्दानी गरेका छन् । ‘पहिले सामान्य कच्ची घर थिए, अहिले राम्रा पक्की घरहरू बनेका छन्’ ठकुरीले भने, ‘गाउँमा देख्न सकिने परिवर्तन भएको छ ।’ उनका अनुसार अझ कोरोना महामारी अघि त यहाँ पर्यटकको चहलपहल व्यापक नै थियो ।
जेफालेमा विद्यालय, स्वास्थ्य इकाई, वडा कार्यालय छ । धनकुटाको भेडेटार, नाम्जे राजारानी हुँदै जेफाले पुग्ने एउटा बाटो छ । यो बाटो २० वर्षअघि नै बनेको थियो । केराबारीबाट सिधै माथि जेफालेसम्म पुग्ने अर्काे बाटो २०६२/६३ पछि बन्यो । केराबारीबाट कच्ची बाटो पुगेको छ यो पक्की हुन बाँकी छ ।
बाह्रै महिना जसो शान्त वातावरण र चिसो मौसम हुने भएकाले जेफालेको आकर्षण बढेको हो । पूर्वका शहरबाट आन्तरिक पर्यटक होम स्टेमा बास बस्ने गरी यहाँ पुग्ने गर्छन् । ‘जेफाले छोटो समयमा तीव्र गतिमा विकास भएको पर्यटकीय क्षेत्र हो’ केराबारीमा शिक्षण पेशा गरिरहेका युवराज ठकुरी भन्छन्, ‘सहज सडक पूर्वाधार भए अझ धेरै पर्यटकीय चहलपहल बढ्थ्यो ।’
सहज यातायातको पहुँच नभए पनि अहिले स्थानीय पर्यटक सास्ती भोगेर भए पनि जेफाले पुग्ने गरेका छन् । जेफालेका होम स्टेले आन्तरिक उत्पादनलाई प्राथमिकता दिएका छन् । लिम्बू र मगर जातिको बाहुल्य रहेको यो ठाउँमा स्थानीयले पर्यटकलाई मगर जातिको हुर्रा र लिम्बूको धान नाचमा नचाउने गर्छन् ।
मोरङ र धनकुटाको सिमानामा पर्छ जेफाले डाँडो । तत्कालीन सिंहदेवी गाविस– ५ अग्लो थुम्की डाँडालाई जेफाले नाम दिइयो । जेफालेकै फेदीमा रहेको हावेचौर अर्थात् बिहीवारे बजारमा अहिले होम स्टे छ । बस्तीबाट ९५६ वटा उकालो सिंढी चढेर डाँडामा पुग्न सकिन्छ । जेफाले डाँडाको भ्यूटावरबाट सूर्याेदय र सूर्यास्त हेर्नेको भीड लाग्छ ।
२०७२ सालमा यो टावरको उद्घाटन भएको थियो । अग्लो डाँडामा रहेको ४५ फिट अग्लो चारतले भ्यूटावर निर्माणपछि यहाँ पर्यटकको आकर्षण थप बढेको हो । ठकुरीका अनुसार, त्यसबेला काठको भ्यूटावर बनाउने योजना थियो । तर तत्कालीन जिल्ला विकास समिति मोरङ्ग, जिल्ला विकास समिति धनकुटा, पर्यटन कार्यालय काँकरभिट्टा र स्थानीय पालिकाले बजेट विनियोजन गरेपछि पक्की संरचना बनेको हो ।
इलामको श्रीअन्तुमा उदाउँदो सूर्याेदय हेर्नेको भीड लाग्छ । जेफाले डाँडो श्रीअन्तुको विकल्प भएको छ । श्रीअन्तुकै जस्तो सहज र सरल रूपमा सूर्याेदय हेर्न सकिने शिक्षक ठकुरी बताउँछन् । जेफालेबाट १६ जिल्लाका हिमशृंखला हेर्न सकिन्छ । कञ्चनजंघा, मकालु, सगरमाथा लगायत हिमालहरू यहाँबाट प्रस्ट देख्न सकिन्छ ।
१२ महिना नै चिसो हावा चल्ने भएकाले जेफालेको मौसमका कारण पनि पर्यटक आउने गर्छन् । डाँडामा रहेको ४५ फिट अग्लो चारतले भ्यूटावर नै सूर्याेदय अवलोकनको ‘प्वाइन्ट’ हो । जेफाले सांस्कृतिक र पर्यावरणीय पर्यटनको रूपमा पनि विकास भएको छ । बाह्रैमास हावा चलिरहने भएकाले जेफालेलाई पहिले हावेचौर भनिएको हो ।
सुनसरी, मोरङ र धनकुटाको चौबीसे क्षेत्रको एकीकृत पर्यटन विकासलाई संयोजन गर्न जेफालेमा पर्यटन सूचना केन्द्र खोलिएको छ । यहाँ चियाबगान पनि छ । २०५४ सालमा नारायण राईले चिया बगान सुरु गरेका थिए । यो मोरङ जिल्लाको एक मात्र चिया बगान हो । पर्यटकीय क्षेत्रमा रहेको चिया बगानले समेत पर्यटकलाई तानेको छ ।
जेफालेमा सञ्चालित होम स्टेले ५० बढी पाहुना राख्न सक्छन् । बजारमा २७ वटा घर छन् । ती घर कुनै न कुनै रूपमा पर्यटन क्षेत्रको विकासमा जोडिएका छन् । स्थानीय परिकार दिने भएका कारण यहाँका होम स्टे लोकप्रिय छन् ।
होम स्टेमा पर्यटक पुग्दा स्वागत र फर्कंदा बिदाइ गर्ने प्रचलन छ । यो संस्कारले पर्यटकहरू दोहोर्याएर जान प्रेरित गरेको छ । पर्यटनले गाउँको नामसँगै पहिचान र स्थानीयको आर्थिक र सामाजिक अवस्थामा पनि परिवर्तन ल्याएको छ ।
प्रतिक्रिया 4