+
+
Shares
बदलिएका बस्ती :

गुटु बजार : २० वर्षमा फुल्दै गरेको ग्रामीण सपना

पछिल्लो २० वर्षमा गुटु बजार रहरलाग्दो गरी बदलिएको छ । उच्च शिक्षाका लागि गाउँमै स्कुल छ । अस्पताल छ, एम्बुलेन्स सेवा छ । बाटो, बिजुली र घर–घरमा खानेपानीको धारा छ ।

यज्ञ खत्री यज्ञ खत्री
२०८२ वैशाख १९ गते १३:२७

१७ वैशाख, सुर्खेत । मदन भण्डारी राजमार्गले मध्यबाट चिरेर गएको छ, गुटुको विशालबजारलाई । पश्चिम सुर्खेतको प्रमुख व्यापारिक केन्द्र समेत रहेको यो बजारले आफ्नै मौलिकता र पहिचान बोकेको छ ।

चिटिक्क मिलेका काठका घर र ‘टाउन प्लानिङ’ले जो–कोहीलाई आकर्षित गर्छ । ६० को दशकमा सडक सुविधा नहुँदा पश्चिम कर्णाली र सुदूरपश्चिमका पहाडबाट गुटुमा सामान किनमेलका लागि मानिसहरू आउँथे । अहिले त्यो क्रम घटेको छ । तर बजारको आयतन भने बढेको–बढ्यै छ । आधुनिक संरचना र सेवा–सुविधाले भरिपूर्ण हुँदै गएको छ ।

दुई दशक पुरानो विशालबजार निर्माणको कथा भने रोचक छ । द्वन्द्वको समयमा गुटुमा तत्कालीन माओवादीले २०६० सालमा ऐलानी खुला चौरमा बजार बसाउने काम थालेको थियो । २०६१ असोज १० गते बजारको औपचारिक उद्घाटन गरिएको स्थानीय देवीराम पौडेल बताउँछन् ।

‘२०६१ असारबाट बजार निर्माणको काम सुरु गरेर असोजमा त औपचारिक उद्घाटन भएको थियो,’ विशालबजार निर्माणका साक्षी समेत रहेका पौडेल भन्छन् ।

२०६१ मा ‘टाउन प्लानिङ’ भएपछि पुरानो बजार मोतीसेरालाई गुटुमा सारिएको उनले जानकारी दिए । ‘प्लानिङपछि पुरानो बजार तल सर्‍यो,’ पौडेलले अनलाइनखबरसँग भने, ‘त्यो बेला एक व्यापारी, एक पसलको नियम लागू गरिएको थियो । त्यसो हुँदा एउटा पसलको कमी अर्कोले पूरा गर्थ्यो, बाहिरी मान्छेबिना पनि बजार चलाउन सकिन्छ भन्ने अवधारण थियो ।’

स्थानीय देवीराम पौडेल

उनका अनुसार बजार बस्दा स्थानीय व्यापारीहरूलाई प्रतिघरधुरी १५ मिटर लम्बाइ र ७ मिटर चौडाइको जग्गा वितरण गरिएको थियो । माओवादीको समन्वयमा स्थानीय व्यापारीले एकनासका काठका घर बनाएका थिए ।

विशालबजार बन्नुपूर्व गुटुको मोतीसेरामा छरपस्ट पसलहरू थिए । ‘बाटोको छेउमै रहेको मोतीसेरा बजार साँघुरो हुँदै गएको थियो । पछि तल सारेपछि व्यापारीलाई सहज भयो,’ स्थानीय व्यापारी पौडेल भन्छन् । गुटु बजारलाई अहिले विशालबजारका नामले चिनिन्छ  । माओवादीका स्थानीय नेता विशाल ओली सेनाको आक्रमणमा मारिएपछि उनैको सम्झनामा विशालबजार नामकरण गरिएको थियो ।

दुई दशक अघिसम्म गुटु पश्चिम कर्णाली र सुदूरपश्चिमका पहाडी जिल्लाहरूको व्यापारिक केन्द्र थियो । पहाडी जिल्लाका बासिन्दा बाँके, बर्दिया, कैलाली र कर्णाली चिसापानी त्यही बाटो भएर आउजाउ गर्थे । कालापहाड (भारत) जानेहरू समेत बास बस्न गुटु आइपुग्ने गरेको स्थानीय अगुवा मोहन बडुवाल बताउँछन् ।

उनका अनुसार पछिल्लो समय कर्णाली राजमार्ग र साँफेबगरको सडक खुलेपछि पहाडी जिल्लाका मान्छेहरूको आउजाउ रोकिएको छ । तर बजारको आकार भने बढ्दै गएको छ । औलो उन्मुलन भएपछि २०२८ सालपछि मात्रै गुटुमा बस्ती बसाउन थालेको बडुवाल बताउँछन् ।

‘त्यो बेला गुटु रेक्चा गाउँ पञ्चायतअन्तर्गत पर्थ्यो । कर बुझाउन दैलेखको दुल्लु जानुपर्थ्यो,’ गुटुको इतिहासका जानकार बडुवाल भन्छन्, ‘अनि मानिसहरू त्यही बाटो भएर हाट जान थाले । विस्तारै गुटु व्यापारिक केन्द्र बन्दै गयो ।’

२०२९ सालअघि सुर्खेत छुट्टै जिल्ला भइसकेको थिएन । दैलेखको दुल्लु राज्यअन्तर्गत शासित क्षेत्र थियो । पछि तत्कालीन राजा महेन्द्रले चार विकास क्षेत्रको अवधारण ल्याएपछि सुर्खेत छुट्टै जिल्ला बनेको उनी बताउँछन् ।

सुविधा पुग्यो, जीवनशैली फेरियो

चौकुने गाउँपालिका–८ का अनिल गिरी बदलिएको विशालबजारका साक्षी हुन् । २०६१ सालदेखि फेन्सी पसल सञ्चालन गर्दै आएका उनी हाल बजार व्यवस्थापन समितिका उपाध्यक्ष समेत छन् । हिजोको सानो गुटु बजार आज फैलिएको र आकर्षणको केन्द्र बनेको उनी बताउँछन् ।

‘हिजो बजार सुरु गर्दा बत्ती, पानी, नाला केही पनि थिएन,’ सुरुआती दिन सम्झँदै उनी भन्छन्, ‘हिजो टुकी र लालटिन बालेर व्यापार गथ्र्यौं । आज बाटो, बिजुली र प्रत्येक घरमा खानेपानीको धारा पुगेको छ,’ गिरी अनुभव सुनाउँछन्, पछिल्लो २० वर्षमा गुटु बजारको बदलाव रहरलाग्दो छ ।

विधापुर बजार

एकीकृत बजार व्यवस्थापनको नमुना उदाहरण विशालबजार भएको उनी बताउँछन् । ‘हाम्रा अधिकांश ग्रामीण बजार छरपस्ट छन् । अव्यवस्थित छन्,’ गिरीले अनलाइनखबरसँग भने, ‘प्लानिङ गरेर बजार व्यवस्थापन गर्दा व्यापारीहरूले अधिक लाभ लिन सक्छन् भन्ने उदाहरण पनि हो ।’

चौकुने गाउँपालिका–८, कै दुर्गा घिमिरे (पौडेल) पनि विशालबजारको सुरुवातदेखि नै व्यापार गर्दै आएकी छिन् । त्यो बेला द्वन्द्वको समय भएको र माओवादीले बसालेको बस्तीमा बस्दा नेपाली सेनाले दिनसम्म यातना दिएको बताउँछिन् । ‘मेरो श्रीमान्लाई अपहरण गरेर लगे । यातना दिए,’ उनले भनिन्, ‘हामीले विभिन्न अभाव, यातना र त्रास सहेर बसाएको बजार हो यो । अहिले त तुलना नै गर्न मिल्दैन ।’

कुनै दिन विशालबजार यस्तो बन्ला भन्ने कल्पना समेत गरेकी थिइनन् दुर्गाले । ‘त्यो बेला लालटिन बाल्थ्यौं । खानेपानीको अभाव थियो । बाटो थिएन,’ उनी भन्छिन्, ‘आज सबथोक छ । घरमै वाईफाई पुगेको छ । हात–हातमा मोबाइल छन् । देश दुनियाँका कुरा एकैक्षणमा थाहा हुन्छ ।’

पछिल्लो २० वर्षमा आफ्नो जीवनस्तरमा समेत ठूलो परिवर्तन आएको उनी बताउँछिन् । उच्च शिक्षाका लागि गाउँमै स्कुल छ । बिरामी भए नजिकै अस्पताल छ । एम्बुलेन्स सेवा छ । पहिलेभन्दा अहिले व्यापार व्यवसाय समेत बढेको उनी बताउँछिन् । गाउँलेले उत्पादन गरेको बेसार, अदुवा, फलफूल र तरकारी गुटु बजारमै खपत हुन्छ । ‘जति भए पनि नपुग्ने, नदेख्ने मान्छेको जात नै रहेछ,’ अनलाइनखबरसँग दुर्गाले भनिन्, ‘जसले जे भने पनि २० वर्ष पहिलेका दुःख २० गुणा नै बढी थिए ।’

गुटुमा रहेको चौकुने पहाडको बीचमा चार कुना मिलेर बनेको क्षेत्रको पहिचानबाट यस गाउँपालिकाको नाम नै चौकुने नामकरण गरिएको गाउँपालिकाका अध्यक्ष खड्क विक बताउँछन् । हाल उक्त क्षेत्र चौकुने सिमेन्ट उद्योगको नामले समेत प्रसिद्ध छ ।

करिब ३८१.०३ वर्ग किलोमिटर क्षेत्रमा फैलिएको चौकुने साविकको लगाम, बेतान¸ बिजौरा, गुटु र घाटगाउँसहित ५ वटा गाउँ विकास समिति मिलेर गाउँपालिका बनेको छ । चौकुने गाउँपालिकालाई हाल १० वटा वडामा विभाजन गरिएको ।

सुर्खेत जिल्ला भएर बग्ने भेरी र कर्णाली नदीले चौकुनेलाई बेरेर बगेका छन् । कृषि, पर्यटन, पशुपालन, र्‍याफ्टिङ लगायतका व्यवसायबाटै नागरिकको जीवनस्तर उकास्न सक्ने सम्भावना चौकुनेले बोकेको छ । चौकुनेमा विशेषगरी ब्राह्मण, क्षेत्री, मगर, दलित र लोपोन्मुख राजी समुदायको बसोबास छ भने करिब २७ हजार जनसंख्या रहेको छ ।

केही ठूला सिमेन्ट उद्योग समेत चौकुनेमा स्थापना हुने चरणमा छन् । मदन भण्डारी राजमार्गअन्तर्गत सुर्खेत खण्डको कामले गति लिएसँगै विस्तारै सडकक्षेउमा व्यवस्थित ठूला वस्ती विकास हुँदै गएका छन् । स्थानीयहरू आर्थिक उपार्जनमा समेत जोडिँदै जान थालेको स्थानीय शिक्षक तर्क थापा बताउँछन् ।

लालपुर्जाविहीन बजार

गुटु बजारका बासिन्दा दुई दशकदेखि लालपुर्जाविहीन छन् । वडा नम्बर ८ को कार्यालय, हुलाक, प्रहरी चौकी र वन कार्यालय समेतको लालपुर्जा छैन । नेपाल राष्ट्रिय आधारभूत विद्यालयले आफ्नै नामको जग्गा नहुँदा सरकारी लगानीका पूर्वाधार निर्माणमा समस्या भएको जनाएको छ ।

द्वन्द्वको समयमा माओवादीले स्थानीयलाई निःशुल्क जग्गा उपलब्ध गराउँदै जनसरकारबाट लालपुर्जा वितरण गरेको थियो । माओवादीले ‘एकीकृत सामुदायिक बजार’ निर्माणका लागि स्थानीयलाई जग्गा उपलब्ध गराएको र अहिलेसम्म वस्तीका कुनै पनि नागरिकको लालपुर्जा नभएको गाउँपालिकाका अध्यक्ष खड्क विक (विवश) बताउँछन् ।

‘दुई दशकदेखि आफ्नै नाममा जग्गा नहुँदा स्थानीयलाई समस्या भइरहेको छ,’ अध्यक्ष विकले अनलाइनखबरसँग भने, ‘सुकुम्बासी चौकुनेको प्रमुख समस्या हो । पालिकाका करिब ४५ प्रतिशत नागरिकसँग आफ्नो नाममा जग्गा छैन ।’

जग्गा प्राप्तिका लागि नापीले समेत नापजाँच गरेर लगेको अध्यक्ष विकले बताए । ‘नापीले नापो लिएको छ । अब यो आयोगले राम्रोसँग काम गर्‍यो भने सबैले लालपुर्जा पाउँछन्,’ उनले भने ।

स्थानीय व्यापारी दुर्गा घिमिरे (पौडेल)

बजार विस्तार हुने क्रम बढ्दै गए पनि लालपुर्जाविहीन हुँदा व्यावसायिक काममा समस्या भएको स्थानीय व्यापारी दुर्गा घिमिरे (पौडेल) बताउँछिन् । ‘जग्गाको लालपुर्जा आफ्नो नाममा नभएपछि बैकबाट कर्जा लिन, बिक्री–वितरण गर्न समेत समस्या भएको छ,’ दुर्गाले अनलाइनखबरसँग भनिन्, ‘आफ्नै नाममा लालपुर्जा नहुँदा ढुक्कले आफ्नै घरमा बस्न सकिएको छैन ।’

उनका अनुसार ३ वर्षअघि शहरी विकास तथा भवन निर्माण विभागले बजार क्षेत्रमा नाली निर्माण र सडक ग्राभेल गरेपछि बजार थप व्यवस्थित बनेको छ । ‘बजार क्रमशः व्यवस्थित बन्दै गए पनि आफ्नै नाममा घरजग्गा नहुँदा समस्या छ,’ अर्का व्यापारी डिल्लीराम पौडेल भन्छन्, ‘न घरजग्गा छाड्न सकेका छौं न त व्यवस्थित र पक्की घर बनाउन ।’

उनले लालपुर्जा नभए पनि घर घडेरी ३ देखि ५ लाख रुपैयाँसम्ममा बिक्री भइरहेको जानकारी दिए । २०६१ सालमा गुटुमा ‘टाउन प्लानिङ’पछि पुरानो बजार मोतीसेरालाई गुटुमा सारिएको डिल्लीराम बताउँछन् । ‘प्लानिङपछि पुरानो बजार तल सर्‍यो,’ उनले भने, ‘तर २० वर्षसम्म पनि आफ्नै नाममा जग्गा नहुँदा ठूलो समस्या भइरहेको छ ।’

हाटबजारले किसानलाई सहज

गुटुको विशालबजारमा प्रत्येक हप्ता हाटबजार लाग्छ । हाटबजारमा किसानले आफ्ना बारीमा उत्पादित फलफूल तथा तरकारीदेखि गाउँको घिउ, मह, खसी–बोकासम्म किनबेच हुन्छ ।

चौकुने गाउँपालिका–७ कि चन्द्रकला नेपाली आफ्ना कृषि उपज हप्तामा एकपटक हाटबजार लैजान्छिन् । दुई/चार हजारको उत्पादन बिक्री गर्छिन् । र, त्यसैले घर खर्च चलाउँछिन् । ‘बारीको तरकारी घरमा खान पनि हुने अनि शनिबार हाटबजारमा बिक्री गरेर दुई/चार कमाइ पनि हुने’, उनले भनिन् । चन्द्राले साग, गोलभेँडा, प्याज र लसुन जस्ता उत्पादन हाटबजारमा बेच्दै आएकी छन् ।

चन्द्रकला जस्ता चौकुनेका सयौँ कृषकलाई स्थानीय उत्पादन बेच्ने थलो बनेको छ, हाटबजार । २० वर्षदेखि उक्त बजार चलिरहेको छ ।

सुर्खेत, कैलाली र अछामसम्मका व्यापारीहरू खरिद बिक्रीका लागि चौकुने हाटबजारमा आउने गरेका छन् । हाटबजारकै कारण किसानले आफ्नो उत्पादन बढाएका छन् भने आफैँले तोकेको मूल्यसमेत पाएका छन् । ‘पहिले बजार टाढा थियो । मूल्य पनि राम्रो पाइँदैनथ्यो । अहिले बिक्री पनि हुन्छ, मूल्य पनि पाइन्छ,’ गीता भण्डारी भन्छिन् ।

बजारमा स्थानीय उत्पादनको राम्रो माग भएको उनको भनाइ छ । हाटबजारले स्थानीय अर्थतन्त्रलाई मजबुत बनाइरहेको छ भने स्थानीय उत्पादन समेत खपत हुन थालको स्थानीयहरू बताउँछन् ।

चौकुने गाउँपालिकाले किसानलाई प्रोत्साहन गर्नका लागि ‘कृषि क्षेत्रमा प्रोत्साहन अनुदानसम्बन्धी कार्य सञ्चालन तथा व्यवस्थापनसम्बन्धी कार्यविधि २०८०’ ल्याएको छ । सोहीअनुसार सुन्तला लगाउने किसानलाई प्रतिबिरुवा २ सयका दरले २० हजार रुपैयाँसम्म र केरा लगाउने किसानलाई प्रतिबिरुवा १ सयका दरले १० हजारसम्म दिँदै आएको गाउँपालिकाका अध्यक्ष विकले बताए ।

उनका अनुसार अन्य फलफूल र कृषि गर्नेलाई कार्यविधिअनुसार मासिक एक हजारका दरले गोठालो भत्तासमेत पालिकाले दिने गरेको छ । ‘यो परिवर्तन किसानको जीवनस्तर सुधार मात्रै होइन, कृषिमा पश्चिम क्षेत्रले मारेको फड्को पनि हो,’ अध्यक्ष विकले भने, ‘ग्रामीण क्षेत्रका जनतालाई रोजगारीको अवसर पनि सिर्जना गरेको हुँदा पालिकाले नै प्राविधिक र आर्थिक प्रोत्साहन गरेको छ ।’

निजी बाइक चढेर पालिका प्रमुखको सेवा

पछिल्लो समय स्थानीय तहका जनप्रतिनिधिहरूमा पद र प्रतिष्ठानका नाममा राज्यको करोडौँ रकम खर्चेर गाडी चढ्ने प्रवृत्ति बढेको छ । तर चौकुने गाउँपालिकाका अध्यक्ष खड्क विक (विवश) भने निजी मोटरसाइकलमा पालिकाको सेवा खटिन्छिन् ।

२०७४ मा निर्वाचित नेतृत्वले करिब ७५ लाख रुपैयाँमा खरिद गरेको गाडी पालिकामै छ । तर उनी आफ्नै बाइक चढेर पालिकादेखि जिल्ला सदरमुकामसम्म पुग्छन् । ‘मैले गाडी नचढ्ने प्रतिबद्धता गरेको छु,’ विकले अनलाइनखबरसँग भने, ‘मैले चढ्ने गाडी चौकुनेवासीको सेवामा प्रयोग भइरहेको छ ।’ उनले चुनावताका नै गाडी नचढ्ने प्रतिबद्धता जनाएको सुनाए ।

गुटु बजारमा चलिरहेको हाटबजार

गाउँपालिकाको अध्यक्ष चढ्ने गाडीले चौकुनेबासीको घरघरमा गएर ज्येष्ठ नागरिकलाई भत्ता बाँड्ने र बालबालिकालाई खोप लगाउने जस्ता काममा प्रयोग गर्दै आएको उनले बताए । ‘गाडी चढेर कुन चाहिँ जनप्रतिनिधि सेवा गर्न गएको छ र ?,’ उनले प्रतिप्रश्न गरे, ‘धुलो उडाउँदै जन्मदिन मनाउन जाने, घुमफिर गर्ने र रमाइला ठाउँमा गएर तस्वीर खिच्ने जस्ता कुरामा सरकारी गाडी दुरुपयोग भइरहेको मैले देखेको छु ।’

पालिका मुकाम गुटुदेखि सदरमुकाम वीरेन्द्रनगरको दूरी करिब ६० किलोमिटर पर्छ । पालिकाभित्रै पनि ५५–६० किलोमिटर दूरीमा रहेका ठाउँमा उनी बाइक चढेर नै ओहोरदोहोर गर्छन् । बाइकका लागि तेल भने आफूले पाउने सुविधाकै प्रयोग गर्ने गरेको उनी बताउँछन् ।

भौगोलिक रूपमा चौकुने गाउँपालिका ठूलो छ । कतिपय वडादेखि पालिकासम्म आउन करिब एक दिन लाग्छ । ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्ताका लागि आउन–जान टाढा र असहज हुने भएपछि पालिकाले गाउँमै गएर भत्ता वितरण गर्दै आएको छ ।

‘अध्यक्षले चढ्ने गाडी प्रयोग गरेर लक्ष्मी बैङ्कको टिमले प्रत्येक महिना वडा र गाउँमा पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गर्ने व्यवस्था मिलाएको छु,’ अध्यक्ष विकले भने, ‘यसले नागरिकलाई थोरै भए पनि राहत मिलेको छ ।’

योजना सम्झौताका लागि पनि अध्यक्षले चढ्ने गाडी प्रयोग हुने गरेको उनले बताए । लगाम, घाट गाउँका स्थानीय योजना सम्झौता गर्न पालिकाको केन्द्रसम्म आउन–जान मात्रै करिब डेढ लाख रुपैयाँ खर्च हुने र त्यो रकमको भार योजनामै पर्ने गरेको उनी बताउँछन् ।

तर त्यसलाई घटाउन पालिकाको टोली वडामै पुगेर योजना छनोटको काम गर्ने गरेको छ । ‘नागरिकले वडा स्तरमै सेवा मिलोस् भन्ने अपेक्षा हो, उनीहरूले गाउँगाउँमा ‘सिंहदरबार’ पुगेको आभास गर्न सकून्,’ उनी भन्छन् ।

उनी नेकपा (माओवादी केन्द्र)बाट निर्वाचित अध्यक्ष हुन् । ‘माओवादीलाई सर्वहाराको पार्टी भनिन्थ्यो तर अहिले त्यस्तो छैन,’ उनले भने, ‘म चाहिँ सर्वहारा नै छु । जनतासँग मेल नखाने जीवनशैली बाँच्दिन,’ उनले भने, ‘जनतामा प्रतिकूल असर पर्ने गरी काम गरुँला भनेर कहिल्यै सोच्दिनँ ।’

कृषि, पशुपालन र नगदे बालीमा अथाह सम्भावना भएको पालिका हो चौकुने । अहिलेसम्म पालिकाले १० हजार केराका बेर्ना रोप्ने कार्यक्रम सफल बनाएको छ । कागती, अमिलो, चिउरी, ड्रागनफ्रुट जस्ता बाली लगाउन समेत बजेटको व्यवस्थापन गरिएको अध्यक्ष विकले बताए । कृषिबाटै चौकुनेवासीलाई आत्मनिर्भर बनाउने योजना रहेको विकले बताए ।

‘चौकुनेका धेरैजसो स्थानीय अहिले भारतको सिम्लामा गएर स्याउ टिप्छन्, रत्ननगर गएर आँप टिप्छन् र घर चलाउँछन्,’ उनले भने, ‘चौकुनेभित्रै फलफूल टिप्ने वातावरण कसरी सिर्जना गर्न सकिन्छ, त्यतातर्फ लागिरहेका छौं,’ उनले भने ।

पालिकाले किसानलाई वार्षिक १२ हजार रुपैयाँ गोठालो भत्ता दिनेदेखि फलफूलका बिरुवा समेत वितरण गर्ने किसानमैत्री कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

लेखक
यज्ञ खत्री

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?