+
+
Shares

रोमियो एन्ड जुलिएट कानून कस्तो हो ?

सहमतिमा हुने यौनसम्बन्धको कुरा उठ्छ, के नेपाली समाजले विवाह विनाको यौनसम्बन्ध स्वीकार्न सक्छ ? यदि, त्यसलाई स्वीकार्न सकिन्न भने, ‘रोमियो एन्ड जुलिएट ल’ लागू गर्दैमा समस्याको समाधान होला त ?

अमृता लम्साल अमृता लम्साल
२०८२ वैशाख २२ गते ९:०८

१४ चैत २०८१ मा यसै अनलाइनखबरमा लेखेकी थिएँ- ‘कम उमेरमा विवाह मात्रै समस्याको समाधान हो ?’

उक्त लेख विभिन्न पेशाका व्यक्तिहरूको छोटो–छोटो सुझाव/विचार समेटेर लेखिएको थियो, जसको सार नेपालको संविधान २०७२ जारी भएपछि नेपाल ऐन संशोधन गर्ने ऐन, २०७२ ले १३ फागुन २०७२ मा साबिकको मुलुकी ऐन २०२० को बिहेबारी महलको २ नं. मा संशोधन गरेर महिला र पुरुषको विवाहको लागि तोकिएको २० वर्ष उमेरलाई घटाएर १८ वर्ष बनाउनुहुन्न भन्ने थियो।

उक्त लेख लेख्दा संसद्को हिउँदे अधिवेशन चलिरहेको थियो; सोही परिप्रेक्ष्यमा, प्रतिनिधिसभाको कानून समितिको बैठकमा, संसद्को कानून समितिले गरेको अध्ययन र सरकारले बनाएको कार्यदलले विवाह गर्ने उमेर १८ वर्ष राख्ने छलफलमा गृहमन्त्री रमेश लेखकको भनाइ सार्वजनिक भएको थियो।

उनले भनेका छन्, ‘मन्त्रिपरिषद्मा बालबालिका सम्बन्धी ऐन छलफलकै क्रममा छ, यसमा दुइटा कुरा छ, एउटा- विवाह गर्ने उमेर २० बाट १८ बनाउने भन्नेछ। अर्को- रोमियो जुलिएट ल प्रयोग गर्ने कि भन्ने पनि छ।’ यो लेख गृहमन्त्रीले भन्नुभएको ‘रोमियो जुलिएट ल’ बारे हो।

हुनत, २०८१ माघ १८ गतेदेखि शुरु भएको संसद्को हिउँदे अधिवेशन १९ चैत २०८१ मंगलबार राति समाप्त भइसक्यो तर पनि, अर्को अधिवेशनमा यसबारे पक्कै पनि कुरा उठ्छ होला नै। त्यसैले यसबारेमा व्यापक रूपमा छलफल हुन जरूरी देखिन्छ।

विश्वविख्यात साहित्यकार विलियम शेक्सपियरले, अनुमानतः सन् १५९५/९६ तिर लेखेको कथा ‘द ट्रयाजेडी अफ रोमियो एन्ड जुलिएट’ दुइटा इटालियन परिवार बारे छ। कथामा ती दुई परिवार एकअर्कासँग शत्रुवत् व्यवहार गर्दथे। तसर्थ, ती परिवारका अभिभावकहरूलाई शुरुमा ती दुईको प्रेम स्वीकार्य थिएन।

शेक्सपियरको पालादेखि हालसम्म पनि अत्यधिक मञ्चन गरिएको यस कथामा आधारित नाटकका ती पात्रहरू बारे गरिएको अनुमान रोचक छ। उनीहरूको प्रेम हुँदा जुलिएट १४ वर्षको जन्मदिन मनाउने उमेर आसपास र, रोमियो १५ या १६ वर्ष।

यस्तो प्रेम र यौनसम्बन्धलाई, ‘रोमियो एन्ड जुलियट असर’को नाम दिने व्यक्ति भने ब्रिटिश एक्टर तथा डाइरेक्टर रिचार्ड ड्रिसकोल हुन्। उनले अभिभावकको स्वीकृति विना प्रेममा डुबेका किशोर/किशोरीको आत्मीय प्रेम सम्बन्धलाई ‘रोमियो एन्ड जुलिएट असर’को नाम दिए। र, सोही नाम दिएर, ‘रोमियो एन्ड जुलिएट ल’ बन्यो।

यो कानून सर्वप्रथम अमेरिकाको फ्लोरिडा राज्यमा सन् २००७ मा लागू गरिएको रहेछ। यो कानून बनाउनुको उद्देश्य किशोरहरूलाई आफ्नो सह-उमेरका किशोरीहरूसँग सहमतिमा यौन सम्पर्क राख्दा, यौन दुर्व्यवहार गरेको वा यौन अपराधीको आरोपमा बलात्कार जस्तो जघन्य अपराधसरह सजाय नहोस् भन्ने आशय रहेछ।

अमेरिकाको विभिन्न राज्यमा कतिपय कानूनहरू फरक–फरक भएतापनि, संयुक्त राज्य अमेरिकाको मुख्य क्रिमिनल कोड, जसले फेडरल क्राइम्स र क्रिमिनल प्रोसिड्युरलाई कभर गर्छ। त्यसअनुसार, कसैले यौन अपराध गरेको छ भने, त्यो व्यक्तिले ‘सेक्स अफेन्डर रजिस्ट्रेसन एन्ड नोटिफिकेसन एक्ट’ अन्तर्गत रजिस्टर गर्नुपर्छ। त्यो दर्ता गरिएको व्यक्तिको सूचना सबै राज्यहरूको डाटाबेसमा सुरक्षित रहन्छ।

यदि त्यसो नगरेमा, जरिवानाको साथै १० वर्षसम्म कैद सजाय हुनसक्छ। अझै, जानीजानी रजिस्टर नगरी, पछि फेरि उस/उनले कुनै हिंसात्मक अपराध गरेको भेटियो भने उक्त कानूनअनुसार ३० वर्षसम्म पनि कैद हुनसक्ने रहेछ।

केहीको मत छ, रोमियो एन्ड जुलियट लले नाबालिगसँगको यौनसम्बन्धलाई अपराध नमानेर सजाय दिएनछ वा सजाय घटाइदिएछ भने पनि, शुरुका दिनमा कानूनी कारबाहीको लागि जाँदा हुने तनावले जीवनभर ट्रमा हुन सक्छ

तर, ‘रोमियो एन्ड जुलिएट ल’ अनुसार, ती किशोर/किशोरीहरू उपरोक्त कानूनले नाबालिगसँगको यौन सम्बन्धलाई मान्यता दिने होइन कि, ‘सेक्स अफेन्डर रजिस्ट्रेसन’ गर्न नपर्ने र सजाय कम गराउन अपील गर्न सकिने रहेछ।

स्मरणीय छ, अमेरिकामा ‘सेक्स अफेन्डर’मा रजिस्टर्ड भइसकेपछि ती व्यक्तिहरूले, नाबालिगसँग सम्पर्क गर्न पाउने छैनन्। नाबालिगहरू बस्ने स्थानको नजिक, स्कूलहरूको नजिक, डे-केयरहरूको छेउछाउ, बच्चाहरू खेल्ने ठाउँको आसपास बस्न पाउँदैनन्।

कतिपय रोजगारदाताहरू जस्तै, शिक्षकको पदमा, स्वास्थ्य सेवा दिने स्थानहरूमा, बच्चाहरूलाई हेर्ने ठाउँमा काम गर्न पाउँदैनन्। आफूले आपराधिक व्यवहार गरेको सर्भाइवरहरूसँग पछिसम्म नै भेटघाट र कुराकानी गर्न बन्देज लाग्न सक्छ। यीबाहेक पनि थुप्रै निषेधित कुराहरू छन्, जुन कार्यहरू गर्न पाइँदैन।

फ्लोरिडामा भएको यो कानून अर्को राज्य क्यालिफोर्नियामा नभएको कारणले, त्यहाँ ‘रोमियो एन्ड जुलिएट ल’ ले प्रदान गर्ने कानूनी सहयोग त्यहाँ पाइन्न।

फ्लोरिडा राज्यले, ‘रोमियो एन्ड जुलिएट ल’ लागू गर्दा मुख्य रूपमा तीन वटा कुरालाई हेर्ने रहेछ। पहिलो, दुई जना बिचको उमेरको फरक। दोस्रो, सहमतिमा यौन सम्बन्ध भएको हो वा होइन। तेस्रो, दुईमध्ये कम उमेरको किशोर/किशोरीको उमेर, त्यसपछि मात्र केसको निर्णय हुनेरहेछ।

भनेपछि यदि, दुवै जना नाबालिग भए पनि एउटाले सहमतिमा सम्बन्ध भएको होइन भन्दियो भने त उपरोक्त कानून अन्तर्गत मुद्दा चलाउन पनि मिल्ने भएन।

त्यस्तै, यौनसम्बन्ध राख्ने दुवै जना, नाबालिग नै भएको हुनुपर्‍यो; न कि एउटा व्यक्ति यौनसम्बन्ध राख्न कानूनले तोकेको उमेर नाघिसकेको र अर्को नाबालिग भए पनि उक्त कानून कार्यान्वयन हुने भएन।

उदाहरणको लागि यदि कानूनले तोकेको उमेर १८ वर्ष छ भने, २० वर्षको व्यक्तिले १७ वर्षको व्यक्तिसँग सहमतिमै यौनसम्बन्ध राखे पनि सो केसमा उपरोक्त कानून लाग्ने भएन। त्यसलाई बलात्कार नै भनिने भयो। किनकि, कानूनले नाबालिगलाई सहमति दिने उमेर भएको मान्दैन।

नेपालमा गृहमन्त्रीले भने जस्तो सजिलोसँग ‘रोमियो एन्ड जुलिएट ल’ लागू गर्न सकिन्छ जस्तो लाग्दैन। किनकि, जन्मदर्ता गर्ने ठाउँमा नियुक्त व्यक्तिहरूले सजिलैसँग चाहेको व्यक्तिलाई अपराधबाट बचाउन, चाहेको समयमा जन्मदर्ता बनाइदिएको चर्चा त सेलिब्रेटीहरूको केसमा, उनीहरूको आफ्नै मुखले पनि बकेको रेकर्ड खोज्यो भने सार्वजनिक रूपमै पढ्न पाइन्छ। यसको लागि सर्वप्रथम डाटाबेसलाई गाउँगाउँमा पुर्‍याउन जरूरी छ। सम्पूर्ण जन्मदर्ता डाटाबेसमा इन्ट्री गर्न जरूरी छ।

अमेरिका जस्तो देशमा पनि अहिलेसम्म करिब ३० वटा राज्यमा मात्रै, त्यही नाम प्रयोग नभए पनि नाबालिगहरूको सहमतिमा भएको सम्बन्धमा कम सजाय या सेक्स अफेन्डर रजिस्ट्रेसन गर्नु नपर्ने कानून छ। त्यसमा पनि दुई जनाको उमेरको अन्तर बढीमा पाँच वर्षभन्दा बढीको फरक हुनुहुँदैन।

संसारका धेरै देशहरूमा किशोर/किशोरीहरूलाई १४ वर्ष अगाडि यौनसम्बन्ध राख्न बन्देज गरेको देखिन्छ। अपवादमा अङ्गोला र फिलिपिन्समा सहमतिमा यौनसम्बन्ध राख्ने उमेर १२ वर्ष रहेछ।

नेपालका सांसदहरूले धन्न त्यही उदाहरण दिंदै, ‘हार्मोन छिटै परिवर्तन हुने भएकोले, विवाहको उमेर १२ वर्षदेखि १४ वर्ष गरौं !’ भन्नुभएको छैन; यसलाई आश्चर्य नै मान्नुपर्ने होला !

जब, सहमतिमा हुने यौनसम्बन्धको कुरा उठ्छ, के नेपाली समाजले विवाह विनाको यौनसम्बन्ध स्वीकार्न सक्छ ? यदि, त्यसलाई स्वीकार्न सकिन्न भने, ‘रोमियो एन्ड जुलिएट ल’ लागू गर्दैमा समस्याको समाधान होला त ?

उक्त ऐन लागू गरेका अमेरिकी राज्यहरूमा पनि आलोचना नभएको होइन। सो क्षेत्रका सम्बन्धित संस्था वा व्यक्तिहरूका अनुसार, सो कानूनले नाबालिगहरूलाई यौनसम्बन्ध राख्न प्रोत्साहित गर्न वा बहकाउन सक्छ; जसले गर्दा अनाहकमा विभिन्न समस्यामा पार्न सक्छ।

गृहमन्त्री रमेश लेखकले ‘रोमियो एन्ड जुलिएट ल’ केही शर्तहरू सहित ल्याउने कुरा गर्नुभएको थियो, ती शर्तहरू के-कस्ता हुनेछन् भन्नेबारे पक्कै पनि छलफल हुनेछ भन्ने आशाका साथ, फेरि पनि विवाहको उमेर घटाउने प्रयासलाई समस्याको समाधान नठानियोस् !

केही व्यक्तिहरूको विचारमा, कसै–कसैले, सहमति नभएको यौनसम्बन्धलाई पनि सहमतिमा भएको हो भन्न बाध्य पार्न सक्छन्। कोही भन्छन्, किशोर/किशोरीहरू उमेरले यौनसम्बन्ध राख्ने उमेरका भए पनि, त्यो मानसिक रूपमा परिपक्व भैसकेका हुँदैनन्। त्यसैले, यो कानून ठिक होइन। कसैको विचारमा, यसबाट कानूनको आडमा यौनशोषण (सेक्सुअल एक्सप्ल्वाइटेसन) हुने डर हुन्छ।

केहीको मत छ, रोमियो एन्ड जुलियट लले नाबालिगसँगको यौनसम्बन्धलाई अपराध नमानेर सजाय दिएनछ वा सजाय घटाइदिएछ भने पनि, शुरुका दिनमा कानूनी कारबाहीको लागि जाँदा हुने तनावले जीवनभर ट्रमा हुन सक्छ।

साथै, सामाजिक रूपमा भोग्ने व्यवहारको नकारात्मक असर जीवनभर नै रहिरहन सक्छ। त्यसैले, नेपालको जस्तो समाजमा गृहमन्त्रीले भन्नुभए जस्तै, ‘रोमियो एन्ड जुलिएट ल’ले सबै समाधान पक्कै पनि दिंदैन।

नाबालिग यौनसम्बन्ध रोक्न या घटाउन एकैपटक सम्भव छैन। यसको लागि, पहिलो कुरा त यौन शिक्षा र किशोर/किशोरीसँग खुला संवाद जरूरी छ। घर, परिवार र स्कूलमा, अभिभावक र शिक्षकहरूले, उनीहरूसँग कुरा नचपाई, उमेर नपुगी यौनसम्बन्ध राख्दा जीवनभरि त्यसको के-कति नकारात्मक असर पर्न सक्छ भनेर स्पष्ट रूपमा कुराकानी गर्ने वातावरण तयार गर्नुपर्दछ।

सञ्चारमाध्यमहरूबाट पनि व्यापक रूपमा जनचेतना फैलाउने कार्यक्रमहरू ल्याउनुपर्छ। विशेषतः किशोरीहरूलाई, ‘नाइँ’ भन्नु तिम्रो अधिकार हो; कसैले, यौन प्रस्ताव राख्यो भने तिमी दोषी होइनौ; जबर्जस्ती गर्न खोजेमा, हामी र कानून पनि तिम्रो साथमा हुनेछ भन्ने शिक्षा, उनीहरूले बुझ्ने उमेर भएदेखि नै दिनुपर्दछ; नकि, तिम्रो हार्मोन विकसित भैसक्यो, तिमीले विवाह गरेर यौनसम्बन्ध राखिहाल्नुपर्छ भनेर सन्देश प्रवाह गर्ने।

बच्चाहरू हुर्काउँदा नै छोरा हुन् या छोरी, तिमीहरूलाई कसैले गलत मनसायले छुन वा दुर्व्यवहार गर्न सक्छ, यस्तोमा तिमीहरूले घरमा वा स्कूलमा त्यस्ता कुराहरूको जानकारी दिनुपर्छ; नजिक रहेका बाल क्लबका सदस्यहरूलाई भनेर, उनीहरूबाट पनि सल्लाह लिन सकिन्छ भनेर सिकाउनुपर्छ।

यसको लागि बालबालिका मात्रै होइन, वयस्कहरूले पनि सचेत हुने र केही नराम्रो घटना घटिहाल्यो भने, आफ्ना बालबालिकालाई ‘तिमीहरूको लागि म छु’ भनेर ढाडस दिने, सकेसम्म चाँडै उजुरी गर्ने, यौन दुर्व्यवहार भनेको नर्मल होइन, यसलाई आँखा चिम्लेर बस्ने होइन भन्ने कुरा बुझ्नु र बुझाउनुपर्दछ।

केही गरी, बालबालिकामाथि केही घटना भइहाल्यो भने सर्भाइभरलाई सपोर्ट, काउन्सिलिङ, थेरापी, कानूनी सहयोग सबै कुराको लागि सहयोग गर्न कटिबद्ध हुनुपर्दछ।

नाबालिग यौनसम्बन्ध रोक्न समाजले छोरा हुर्काउँदा ‘यो त छोरा हो, जे गरे पनि हुन्छ; इज्जत जाने त छोरीकै हो’ भन्ने मनस्थिति पूर्णत: त्याग्नुपर्दछ।

हाल बढिरहेको ‘यौन दुर्व्यवहार र नाबालिग बलात्कार भनेको किशोरीको यौनाङ्गले बोक्नुपर्ने भार हो’ भने जस्तो व्यवहार सबैतिर वर्जित गरिनुपर्छ; बरु यसको सट्टा, छोरालाई बुझ्ने उमेरदेखि नै आफूसरहका उमेरका केटीहरूलाई इज्जत र सम्मानका साथ व्यवहार गर्नुपर्छ भनेर सिकाउँदै लग्नुपर्छ।

अहिले त कस्तो भैरहेको छ भने, किशोरीहरूलाई केही भए पनि चेतनशील बनाउने प्रयत्न गरिएको छ तर, अधिकांश किशोरलाई उही पुरानो सोच र मान्यताले हुर्काइरहिएको छ। जसको फलस्वरूप, परिवर्तन आउनुपर्ने ठाउँमा परिवर्तन भएकै छैन।

हुनत, गृहमन्त्री रमेश लेखकले ‘रोमियो एन्ड जुलिएट ल’ केही शर्तहरू सहित ल्याउने कुरा गर्नुभएको थियो, ती शर्तहरू के-कस्ता हुनेछन् भन्नेबारे पक्कै पनि छलफल हुनेछ भन्ने आशाका साथ, फेरि पनि विवाहको उमेर घटाउने प्रयासलाई समस्याको समाधान नठानियोस् !

लेखक
अमृता लम्साल

लेखक सामाजिक अभियन्ता, लेखक एवं पत्रकार हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?