+
+
कांग्रेस बैठकमा देउवा :

गठबन्धनबारे बोल्न दिएनन्, एमसीसीबारे छलफल गराए

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ २७ गते २०:५४

२७ माघ, काठमाडौं । बिहीबार बसेको नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको पहिलो बैठकका ९ वटा एजेण्डा थियो । स्थानीय चुनावको तयारीका लागि समितिहरु गठनदेखि अधिवेशन गर्न बाँकी जिल्ला, क्षेत्र र पालिकाको अधिवेशनको मिति तोक्न निर्वाचन समितिलाई आग्रह गर्नेसम्म एजेण्डा थियो ।

पार्टी कार्यालय सानेपामा बसेको बैठक एजेण्डाभन्दा बाहिर रहेको अमेरिकी सहयोग परियोजना, मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) मा केन्द्रित भयो । सभापति शेरबहादुर देउवा स्वयंले बैठकको सुरुमा नै पूर्वअर्थमन्त्री डा. रामशरण महतलाई एमसीसीबारे बुझाइदिन आग्रह गरे । डा. महतले लामो ब्रिफिङ गरे ।

त्यसपछि ११ नेताले बोले । सभापति देउवाले भने गठबन्धनबारे भने नेताहरुलाई बोल्न दिएनन् । महतपछि बोलेका नेता रमेश रिजालले गठबन्धनबारे बोलेका थिए । तर ‘यसबारे पछि छलफल गरौंला’ भन्दै सभापति देउवाले गठबन्धनबारे बोल्न दिएनन् ।

सभापतिले नै रोकेपछि नेताहरुले गठबन्धनबारे बोलेनन् । डा. शशांक कोइरालाले भने आफूले आगामी स्थानीय तह निर्वाचनमा गठबन्धन गर्न नहुने धारणा राखेको बैठकपछि पत्रकारहरुलाई बताए ।

एमसीसीबारे कांग्रेस एकमत

केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा बोल्ने नेताहरु एमसीसीको पक्षमा उभिएका छन् । एमसीसीबारे धेरै भ्रम फैलाइएको भन्दै नेताहरुले त्यसलाई चिर्न जनताका माझ जानुपर्ने धारणा राखे ।

बैठकपछि पूर्वमहामन्त्री डा. शशांक कोइरालाले भने, ‘एमसीसीबारे हामीले जनतामा गएर सम्झाउनुपर्छ । एमसीसी नेपालका लागि राम्रो हो, अमेरिकी सेनाहरु आउने होइन । यहाँकै नियम कानुन अनुरुप एमसीसीले ५०० मिलियन डलर ग्रान्ट दिएको हो । यो विद्युत र बाटोका लागि हो भनेर हामीले जनमानसमा भन्नुपर्छ ।’

तर पूर्वउपसभापति विजयकुमार गच्छदारले भने एमसीसी साह्रै गिजोलिएको भन्दै हतारमा निर्णय गर्न नहुने बताएका छन् । उनले प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति देउवालाई सत्तारुढ गठबन्धनलाई मनाउन वा अर्को संसदसम्म पर्खिन सुझाव दिए ।

अर्का नेता बलबहादुर केसीले पनि गाउँघरमा एमसीसीबारे धेरै अफवाह पुगेकाले हतारमा निर्णय गर्दा पार्टीलाई असर गर्छ कि भन्ने चिन्ता व्यक्त गरेका छन् ।

बैठकपछि कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले एमसीसीबारे धेरै अन्योल भएको भन्दै प्रतिनिधिसभा (संसद) मा पेश गरेर छलफल हुनुपर्ने विषय उठेको बताए । ‘यो अन्योललाई चाँडै समाप्त पार्नुपर्छ । यो प्रक्रिया संसदमार्फत नै अगाडि बढाउनुपर्छ भन्ने विषयमा हाम्रो पार्टीमा कुनै विमति छैन’ उनले भने ।

एमसीसी संसदमा पेश भएपछि सांसदहरुले गुण र दोषका आधारमा निर्णय लिने भन्दै उनले संसदमा लैजाने विषयमा आपत्ति जनाउन नहुने डा. महतले बताए । ‘अहिले अन्योल, अफवाह भ्रम पैदा गरिएको छ । यो संसदमा प्रस्तुत भइसकेपछि जनताबाट निर्वाचित जनप्रतिनिधिले त्यसको गुण र दोषका आधारमा निर्णय दिनुहोला’ उनले भने’ ‘सबैलाई उपयुक्त छैन भन्ने लाग्यो भने त्यहीँबाट निर्क्योल होला नि ।’

कांग्रेस नेताहरुका अनुसार प्रधानमन्त्री समेत रहेका देउवा एमसीसी अगाडि बढाउने पक्षमा छन् । तर सत्तारुढ गठबन्धनमा रहेको माओवादी केन्द्र र एकीकृत समाजवादी सहमत छैनन् ।

सके गठबन्धनलाई मनाउने, नभए प्रमुख विपक्षीको साथ लिएर भएपनि अघि बढ्ने रणनीतिमा रहेको देउवा केन्द्रीय कार्यसम्पादन समितिबाट एमसीसीको पक्षमा निर्णय गराउनसक्ने एक नेता बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?