+
+

ओली र प्रचण्डलाई भेटेर डा. शेखरले दिएको सन्देश

सभापति देउवाले पेल्नै खोजेपछि डा. शेखरले आफ्नो राजनीतिक स्पेस खोज्ने क्रममा प्रमुख दलका शीर्ष नेताहरुलाई भेटेको उनको टिमका एक सदस्य बताउँछन् ।

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ २७ गते २१:३८

२७ माघ, काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला बिहीबार विहानै खुमलटार पुगे र सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर आफू चुनावी गठबन्धनको विपक्षमा रहेको प्रष्ट संकेत दिए ।

बुधबार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेटेका उनले छिट्टै नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई भेट्ने तयारी छ । नेताहरुसँगको भेटमा उनले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्प्याप्ट (एमसीसी) र चुनावी गठबन्धनबारे छलफल गरेका छन् । उनले एमसीसी नचाहिने भए संसदबाटै फेल गराउनुपर्ने र कांग्रेसले चुनावी गठबन्धन गर्न नहुने मत राख्ने गरेको निकटवर्तीहरु बताउँछन् ।

अन्य दलका शीर्ष नेताहरुलाई भेटेर राष्ट्रिय राजनीतिको जल्दोबल्दो मुद्दाहरुमा सम्वाद गरिरहेका नेता डा. कोइरालाले आफ्नै पार्टीका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवासँग भने यसबारे सम्वाद गरेका छैनन् ।

गत मंसिरमा भएको पार्टीको १४ औं महाधिवेशनबाट सभापतिमा निर्वाचित भएका देउवालाई फोनमा बधाई दिनुबाहेक दुई नेताबीच सम्वाद नभएको निकटवर्तीहरु बताउँछन् ।

शेखरले खोजेको राजनीतिक स्पेस

कांग्रेसको १४औं महाधिवेशनमा डा. शेखरले देउवालाई सभापतिमा कडा टक्कर दिएका थिए । पहिलो चरणमा सभापति पदका चारैजना उम्मेदवारको बहुमत  नआएपछि भएको दोस्रो चरणमा सभापतिका उम्मेदवारद्वय प्रकाशमान सिंह र विमलेन्द्र निधिले समर्थन गरेपछि देउवा निर्वाचित भएका थिए । तर पराजित भएका डा. शेखरले ४० प्रतिशत मत पाएका थिए । उनको टिमबाट एक उपसभापति, एक महामन्त्री, दुई समहामन्त्रीका साथै केन्द्रीय सदस्यहरु निर्वाचित भएका कारण डा. शेखर नेताका रुपमा उदाएका थिए ।

महाधिवेशनपछि महाधिवेशन प्रतिनिधिलाई धन्यवाद दिने क्रममा यो समूहले भागवण्डा नखोज्ने बताएको थियो । नेताहरुका अनुसार समूहका नेताहरुले डा. शेखरलाई पनि देश दौडाहामा गएर कार्यकर्तासँग सम्वाद गर्न र आम चुनावसँग सभापति देउवालाई पनि सहयोग गर्न सुझाएका थिए । त्यसअनुसार उनले सभापतिलाई भेटेर सम्वाद गर्न पटकपटक प्रयास पनि गरेका थिए ।

तर सभापति देउवा, डा. शेखरलाई नेता मान्नै तयार नभएको उनी निकट नेताहरु बताउँछन् । बरु देउवाले रामचन्द्र पौडेल र कृृष्ण सिटौलालाई विश्वासमा लिने र डा. शेखरको समूहले पेल्ने नीति लिए । पौडेललाई पाँचदलीय समन्वय समितिको सयोजक र सिटौलालाई सदस्य बनाएका उनले राष्ट्रियसभा सदस्यको उम्मेदवारदेखि प्रदेश सरकारको मन्त्रीसम्म चयन गर्दा दुबै नेतालाई भाग दिएका छन् । तर डा. शेखरलाई न सत्तारुढ दलहरुसँग भएको छलफलमा बोलाए, न आफूले सम्वाद गरे ।

महामन्त्रीमा चुनाव हारेका डा. प्रकाशशरण महतलाई केन्द्रीय सदस्य हुँदै प्रवक्ता मनोनित गरेका देउवाले उपसभापतिमा पराजित उम्मेदवार चन्द्र भण्डारी र महामन्त्रीका पराजित उम्मेदवार मिनेन्द्र रिजाललाई केन्द्रीय सदस्य मनोनित नगर्नुको कारण पनि डा. शेखर समूहमा आवद्धता भएको नेताहरु बताउँछन् ।

सभापति देउवाले पेल्नै खोजेपछि डा. शेखरले आफ्नो राजनीतिक स्पेस खोज्ने क्रममा प्रमुख दलका शीर्ष नेताहरुलाई भेटेको उनको टिमका एक सदस्य बताउँछन् ।

‘पार्टीमा विधान पालनाका लागि लड्न सक्छौं, अरु विषयमा सभापतिलाई भन्ने बाहेक केही गर्न सक्दैनौं’ उनको समूहका एक नेता भन्छन्, ‘बाँकी राजनीतिक मुद्दामा त प्रष्ट बोल्न सक्छौं नि ! अहिले त्यही गरिरहेका छौं ।’

हुन पनि शेखर समूहका नेताहरु सुरुदेखि नै चुनावी गठबन्धन नगर्ने पक्षमा खुलेर आएका छन् । स्थानीय चुनाव कहिले गर्ने भन्नेबारे प्रधानमन्त्री र सत्तारुढ गठबन्धनका नेताहरु अलमलमा रहेका बेला डा. कोइराला र उनको समूहका नेताहरुले सार्वजनिक रुपमा वैशाखभित्र चुनाव गर्नुपर्ने अडान लिए । स्थानीय तहको मिति घोषणा भएपछि कांग्रेसले गठबन्धन नगर्ने बताउने गरेको छ ।

ओली र प्रचण्डलाई भेट्नुको कारण

डा. शेखरले राजनीतिक मुद्दाहरुमा सभापति देउवासँग मत मात्र बझाएका छैनन्, अरु दलहरुसँग सम्वाद पनि थालेका छन् । त्यही क्रममा उनले बुधबार साँझ बालकोट पुगेर एमाले अध्यक्ष केपी शर्मा ओलीसँग लामै सम्वाद गरे । बिहीबार विहान माओवादी अध्यक्ष प्रचण्डलाई भेटेका उनले अब एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई भेट्ने तयारी गरेका छन् ।

स्रोतका अनुसार डा. शेखरले भन्दा पहिले डा. मिनेन्द्र रिजालले एमाले अध्यक्ष ओलीलाई भेटेका थिए । प्रचण्ड र माधवकुमार नेपाललाई भने महामन्त्री गगनकुमार थापाले भेटेका थिए ।

नेताहरुसँग भएको भेटमा डा. रिजाल र महामन्त्री थापाले कांग्रेस भनेको देउवा मात्र होइन है भन्ने सन्देश दिएका थिए । उनीहरुले भनेका थिए, ‘हिजो जसरी केपी ओलीलाई मात्र बुझेर नेकपा बुझिँदैनथ्यो, प्रचण्ड र माधवकुमार नेपाललाई बुझ्नुपर्थ्यो । त्यस्तै हो कांग्रेस पनि ।’

५ पुस २०७७ मा तत्कालिन प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गर्दा कांग्रेस सभापति देउवाले त समर्थन नै गरेका थिए । तर आफूहरु विघटनको विपक्षमा सडकमा आएको मात्र नभई सिंगो कांग्रेसलाई विघटनको विपक्षमा ल्याएको स्मरण गराउँदै उनीहरुले शीर्ष नेताहरुलाई कांग्रेसलाई एकाङ्गी ढंगले मात्र नबुझ्न सुझाएका थिए ।

त्यसपछि नेताहरुले डा. शेखरलाई भेट्न खोजे, जुन डा. शेखरले पनि चाहेका थिए । ‘कांग्रेसमा देउवाले मात्र चाहेको हुँदैन, डा. शेखरले पनि एउटा फोर्स हो भन्ने सन्देश दिन खोजेका हौं,’ भेटवार्ताको उद्देश्य खुलाउँदै उनको टिमका एक नेता भन्छन्, ‘पार्टी सभापतिले स्पेस नदिएपछि उहाँ (डा. शेखर) ले आफैं बनाउन खोज्नुभएको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?