
२९ माघ, काठमाडौं । ए डिभिजन लिगमा पहिलो पटक खेलिरहेको सातदोबाटो युथ क्लबले जाइन्ट किलरको छविलाई कायम राख्दै शनिबार लिगको पूर्वविजेता नेपाल पुलिस क्लबलाई पराजित गरेको छ ।
यसअघि दुई पूर्व विजेता थ्रीस्टार र मनाङ मर्स्याङ्दी क्लबलाई हराइसकेको सातदोबाटोले शनिबार पुलिसलाई १-० ले हरायो । कुनै समय घरेलु फुटबलमा बाघको रुपमा रहेको पुलिसले यस सिजन भने नाम अनुसार खेल्न सकेको छैन ।
नेपाली फुटबलमा पुलिस, मनाङ र थ्रीस्टार ठूलो क्लबको रुपमा थियो । तर नवप्रवेशी सातदोबाटोले डेब्यु सिजनमै यी तीनवटै क्लबलाई हराइदियो ।
सातदोबाटोस्थित एन्फा कप्लेक्समा भएको खेलमा सातदोबाटोलाई जित दिलाउन आकाश बुढा मगरले १९औं मिनेटमा पेनाल्टीमा गोल गरे ।
पुलिसका हेमन्त श्रेष्ठले आकाशलाई फाउल गरेपछि सातदोबाटोले पेनाल्टीको अवसर पाएको थियो । त्यसमा आकाशले गोल गरे ।
ए डिभिजन लिगको डेब्यु सिजनमै नवप्रवेशी सातदोबाटोले ठूला क्लबहरुलाई स्तब्ध पार्दै आएको छ । उद्घाटन खेलमा फ्रेण्ड्ससंग बराबरी खेल्दै लिग सुरुवात गरेको सातदोबाटोले दोस्रो खेलमै थ्रीस्टारलाई हराएको थियो ।
त्यसपछि सातदोबाटोले मनाङ मर्स्याङ्दीलाई पनि हरायो । सातदोबाटोले १० खेल खेल्दा ४ खेल जितेको छ । जसमा सातदोबाटोले तीन ठूला क्लब बाहेक एपीएफलाई पराजित गरेको थियो ।
१० खेलबा६ ४ जित र ३ बराबरीबाट १५ अंक जोडेको सातदोबाटो पाँचौ स्थानमा उक्लेको छ । पुलिस भने १० खेलबाट १० अंकसहित दशौँ स्थानमै छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया 4