+
+

यी हुन् आईपीएल मेगा अक्सनमा १० महँगा खेलाडी

लखनउले सबै पैसा सकायो, चेन्नाइ र पञ्जावले धेरै रकम बचाए

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन २ गते ७:२८

२ फागुन, काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) को १५औं संस्करणको मेगा अक्सन शनिबार र आइतबार बेंगललुरुमा सम्पन्न भयो ।

कुल ६०० खेलाडी अक्सनका लागि समावेश भएकोमा २०४ खेलाडी मात्र विभिन्न १० फ्रेन्चाइजमा लिलामी भए ।

यसपटक दुई नयाँ टिम गुजरात टाइटन्स र लखनउ सुपर जायन्ट पनि आईपीएलमा इन्ट्री भएका छन् । त्यसैले अक्सनमा धेरै खेलाडी अनुबन्ध भए ।

एक टिमले अक्सनमा बढीमा ९० करोड भारु खर्च गर्न पाउने प्रावधान थियो । जसबाट बढीमा २५ खेलाडीसम्म राख्न पाइन्थ्यो । यस्तै फ्रेन्चाइजले कम्तीमा पनि १८ खेलाडी राख्नैपर्छ ।

दुई दिन चलेको अक्सनको दोस्रो दिन धेरै व्यस्थ रह्यो । पहिलो दिन ७४ खेलाडी मात्र अक्सनमा लिलामी भएका थिए भने दोस्रो दिन थप १३० खेलाडी लिलामी भए ।

१० टिममा कुल गरेर २३७ खेलाडी आईपीएल १५ का लागि छानिएका छन् । ३३ खेलाडी अक्सनअघि नै रिटेन/ड्राफ्टबाट अनुबन्ध भएका थिए ।

१० फ्रेन्चाइजले पाँच अर्ब ५१ करोड ७० लाख रकम अक्सनमा खर्च गरे ।

नयाँ टिम लखनउ सुपर जायन्ट्सले अक्सनमा आफ्नो पर्सको सबै रकम सकायो । यसवापत उसले २१ खेलाडी मात्र अनुबन्ध गर्न सक्यो । लखनउले अक्सनअघि केएल राहुल, मार्कुस स्टोइनिस र रवि बिश्नोइलाई अनुबन्ध गरेको थियो । बाँकी १८ खेलाडी अक्सनबाट भित्र्याएको हो ।

यस्तै साविक विजेता चेन्नाई सुपर किंग्स र पञ्जाव किंग्सले धेरै रकम बचाए । पञ्जावले ८६.५५ करोड भारु खर्च गर्दै ३.४५ करोड भारु बचायो । यस्तै चेन्नाईले ८७.०५ करोड भारु खर्च गरेर २ करोड ९५ लाख भारु बचायो ।

यसैगरी रोएल च्यालेन्जर्स बेंगलोरले १ करोड ५५ लाख, राजस्थान रोयल्सले ९५ लाख, कोलकता नाइट राइडर्सले ४५ लाख, गुजरात टाइटन्सले १५ लाख तथा दिल्ली क्यापिटल्स, मुम्बई इन्डियन्स र सनराइजर्स हैदरवादले समान १० लाख बचाए ।

अक्सनमा विकेटकिपर ब्याट्सम्यान इशन किसन सबैभन्दा महँगा बने । उनलाई मुम्बईले टिममा फर्काउनका लागि १५ करोड २५ लाख भारु खर्च गर्‍यो । यस्तै चेन्नाइले फास्ट बलर दिपक चाहरलाई १४ करोड हाल्दै टिममा फर्कायो ।

कोलकाताले दिल्लीका पूर्वकप्तान श्रेयास अयेरका लागि १२ करोड २५ लाख खर्च गर्‍यो । यस सिजनको अन्य महँगा खेलाडीमा लियम लिभिङ्गस्टोन शार्दुल ठाकुर, वानिन्दु हसारंगा, हर्षल पटेल, निकोलस पुरन, लकी फर्गुसन, प्रसिद् कृष्णा र आभेष खान रहे । यस पटक फास्ट बलरमाथि धेरै बोली लाग्दा स्पीनरहरु भने कम लिलामी भए ।

नेपाली लेग स्पीनर सन्दीप लामिछानेले लाई पनि कुनै टिमले अनुबन्ध गरेन । पहिलो दिन ११औं सेटमा रहेका सन्दीपलाई कसैले बोली लगाएन । सन्दीपले ४० लाख भारु बेस प्राइज राखेका थिए । आइतबार फ्रेन्चाइजले आफूले चाहेका खेलाडीलाई अनुबन्ध गर्न सक्थे । तर सन्दीप भने कसैको रोजाइमा परेनन् ।

पहिलो दिन नबिकेका डेभिड मिलर,  मोहम्मद नावी, एलेक्स हाल्स, साम बिलिङ्स, उमेश यादव, डारेल मिचेल जस्ता खेलाडी दोस्रो दिन बिके ।

मिस्टर आईपीएलका रुपमा परिचित चेन्नाइ सुपर किंग्सका पूर्वखेलाडी सुरेश रैनालाई भने कुनै टिमले पनि बोली लगाएन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?