+
+

कमल थापाको नासो उहाँलाई नै फिर्ता गरिदिएँ : लाक्पा तामाङ

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन २ गते ७:५३

२ फागुन, काठमाडौं । राप्रपा नेपालका निवर्तमान अध्यक्ष लाक्पा तामाङले कमल थापालाई अध्यक्ष पद सुम्पिएका छन् । थापालाई राप्रपा नेपालको अध्यक्ष बनाएपछि उनले ‘कमल थापाको नासो कमल थापालाई नै सुम्पिएको’ बताएका छन् ।

२०७४ सालमा राप्रपा घटकहरुबीच एकता भएपछि थापाले नेतृत्व गरेको तत्कालीन ‘राप्रपा नेपाल’ नामक पार्टी रहने स्थिति थिएन । तर, त्यसबेला धनकुटा जिल्लाको उपाध्यक्ष रहेका तामाङले राप्रपा नेपाल नवीकरण गरी निरन्तर चलाइरहेका थिए ।

पछिल्लो समय राप्रपा नेपाल छाडेर बसेका कमल थापा पुनः राप्रपा नेपालमै आउन चाहे र तामाङले अध्यक्ष पद नै सुम्पिदिए । प्रस्तुत छ, तामाङसँगको कुराकानी :

राप्रपा नेपाल निर्वाचन आयोगमा कहिले दर्ता गर्नुभएको थियो ?

२०७५ चैत २५ गते दर्ता गरेका थियौं ।

राप्रपाका घटकहरुबीच एकता भएपछि पनि राप्रपा नेपाल जोगाऔं भन्ने लागेर अघि बढ्नुभयो, हैन ?

हो, राप्रपाका सबै घटकहरुबीच एकता भएपछि राप्रपा नेपाल नरहने स्थिति रह्यो । म पनि एकता हुनुअघि राप्रपा नेपालको धनकुटा जिल्ला उपाध्यक्ष थिएँ । कमल थापाले राप्रपा नेपाल छोडेर गएपछि मैले रिन्यु गरें र अहिलेसम्म चलाएँ वा पार्टी सञ्चालन गरें ।

सबै राप्रपाहरु एक हुँदा तपाईं किन बेखुसी ? कि कमल थापाले नै पार्टी बचाइराख्न भन्नुभएको थियो ?

उहाँ (कमल थापा)ले भन्नुभएको होइन । सबैजना राप्रपातिर जानुभयो । तर, मलाई राप्रपा नेपाल खारेज भएको मन परेन । मैले पार्टी छोड्न सकिनँ र एक्लै भए पनि हुन्छु भनेर रिन्यु गरेको हुँ ।

कमल थापासँग कुरा नगरेरै पार्टी बचाउनुभएको हो त ?

उहाँ केन्द्रीय नेता । मैले भेट्न त पाउने थिइनँ । कहाँ कुरा हुनु …

कमल थापाले छोडेको पार्टी बचाउँदा के कस्ता उद्देश्य लिनुभएको थियो ? विधानमा के लेख्नुभएको थियो ?

म राप्रपा नेपालमा लागेकै सनातन हिन्दू राष्ट्रसहितको राजसंस्थाको एजेण्डामा सहमत भएर हो । दल दर्ता गर्दा पनि त्यही नै लेखियो ।

कमल थापालाई स्वागत गरेपछि यो दलको एजेण्डा के हुन्छ ?

अब हिन्दू राष्ट्र र राजसंस्था हट्छ ।

किन तपाईंले त राजसंस्थाको एजेण्डा मन परेर पार्टी जोगाउनुभएको हैन ?

अहिले परिस्थिति बदलियो । हिन्दू राष्ट्रको एजेण्डा नै मुख्य हुने भयो ।

कमल थापालाई स्वागत गर्दा एजेण्डा बदलियो ?

हजुर ।

तपाईंले दर्ता गर्दा बुद्धिष्ट राज्य स्थापना गर्ने बहस चलेको थियो त ?

हो चलेको थियो । दल दर्ता गर्नुभन्दा अगाडि २०७४/०७५ सालमा राप्रपा नेपाल दल दर्ता गर्ने भनेर छलफल चल्दा बुद्धिष्ट राज्य स्थापनाको एजेण्डा बोकेर जाने हो कि भन्ने बहस चलेको थियो । तर, त्यो एजेण्डा स्वीकार भएन र सनातन धर्म सहितको राजसंस्था भनेर गयौं । यही नै विधानमा छ ।

कुनै औपचारिकता नै पाएन बुद्धिष्ट राज्य स्थापनाको एजेण्डाले ?

पाएन । मुखले बोल्ने भन्दा बढ्ता औपचारिकता पाएन ।

अनि अहिले कमल थापासँग के कस्ता सम्झौता भएका छन् ? कसरी जाने भन्ने भएको छ ?

मैले उहाँको नासो उहाँलाई नै सुम्पिएँ । अबदेखि पार्टी अध्यक्ष कमल थापा । बाँकी विधान बमोजिम १५१ सदस्यीय केन्द्रीय कार्यसमिति बनाउने कुरा छ । यही ७ गते घोषणा सभा छ । त्यसपछि बस्ने केन्द्रीय कमिटीले जे निर्णय गर्छ, त्यस अनुसार पार्टी अगाडि बढाउने ।

नासो भनेको कसैको लिएर राखेर पछि फिर्ता गरेको भन्ने हुन्छ । तपाईंले त कमल थापासँग सल्लाह नगरी राप्रपा नेपाल जोगाएको भन्नुभयो । आफैं दर्ता गरेको हो भने नासो फिर्ता दिएँ भन्न मिल्छ र ?

सुरुमा राप्रपा नेपाल स्थापित गर्ने कमल थापा नै हो । उहाँलाई नसोधेेरै पार्टी बचाएको भएपनि स्थापना कसले गरेको भन्ने कुराको सत्यता त उहाँसँगै जोडिन्छ । त्यसकारण मैले उहाँको नासो भनेको हुँ । आजबाट उहाँलाई सुम्पिएँ ।

कमल थापा अध्यक्ष हुँदा तपाईं के त अब ?

उहाँ अध्यक्ष, म केन्द्रीय सदस्य ।

राप्रपा नेपाल बचाए पनि चलाउन सक्नुभएन र अहिले कमल थापालाई पनि पार्टी चाहिएकाले मिल्यो भन्न मिल्छ ?

तपाईं जे भन्नुस् । राजनीतिमा त्यागको कुरा पनि आउँछ । सबैजना लिने-लिने मात्रै भन्छन् । किन नत्याग्ने ? यदि सक्षम मान्छेले नेतृत्व गर्छ भने भन्ने चाहिं मेरो कुरा हो । म भन्दा त कमल थापा हजारौं कुरामा सक्षम हुनुहुन्छ ।

राप्रपाको महाधिवेशनमा अध्यक्षमा पराजित भएको दुई महिना भएको छैन पार्टी छोडेर हिडनुभयो कमल थापा । तपाईं उहाँलाई सक्षम नेता भन्नुहुन्छ 

एउटा महाधिवेशनमा हार्दैमा असक्षम भन्ने हुँदैन । उहाँको राजनीतिक इतिहास हेर्दा पटक-पटक मन्त्री भएको । पटक-पटक चुनाव जितेको । एक पटक पार्टीमा हार्दैमा राजनीतिक जीवन सकिन्न ।

नेपालको राजनीतिमा बुढा पुस्ताको हालीमुहाली भयो भन्ने छ । तपाईं उही पुरानो नेता, पटक-पटक मन्त्री भएको, पटक-पटक चुनाव जितेकोलाई सक्षम भनेर पार्टी जिम्मा लगाइदिनु भएको ?

युवाहरुले पनि अवसर पाउनुपर्छ । तर, अग्रजहरुबाट सिक्दै अगाडि बढ्नुको विकल्प छैन ।

मैले यतिन्जेल (२०७५ सालदेखि हालसम्म) राप्रपा नेपाल चलाइरहेको थिएँ । कुनै राष्ट्रिय मिडियाले वास्ता गरेन । अहिले सबैले फोन गरिरहेका छन् । यो भनेको त कमल थापाको कति क्रेज छ भन्ने हो नि ! उहाँ कता जानुहुन्छ, के गर्नुहुन्छ, भन्ने चासो भएर हो नि !

कतिपयले तपाईंलाई पैसा लिएर पार्टी बेचेको आरोप लगाएका छन् । के भन्नुहुन्छ ?

आरोप लगाउनेले लगाउन् तर यसको पछाडि प्रमाण हुनुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?