+
+

एमसीसीबारे छलफल गर्न सत्ता गठबन्धनको बैठक बस्दै

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन ५ गते ८:१५
फाइल तस्वीर ।

५ फागुन, काठमाडौं । अमेरिकी सहयोग परियोजना एमसीसीको विषयमा छलफल गर्न सत्ता गठबन्धनको बैठक आज बस्दैछ । बैठक दिउँसो तीन बजे बस्न लागेको हो ।

शुक्रबार प्रतिनिधिसभामा एमसीसी पेश गर्ने तयारी भएकाले साझा धारणा बनाउने प्रयासमा गठबन्धनको बैठक बस्न लागेको हो ।

बुधबारकै संसद बैठकमा एमसीसी पेश गर्ने सरकारको तयारी थियो । तर दलहरुबीच सहमति कायम हुन नसकेको भन्दै त्यसलाई स्थगित गरिएको थियो ।

प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच भएको भेटवार्तामा एमसीसी संसदमा पेश गर्नुभन्दा अघि गठबन्धनको बैठक बोलाउने सहमति भएको थियो । त्यसैले आजको गठबन्धनको बैठक एमसीसीको सम्बन्धमा निर्णायक हुनसक्ने अनुमान छ ।

माओवादी केन्द्रले एमसीसीलाई जबरजस्ती अघि बढाए गठबन्धन तोडिने चेतावनी दिएको छ । माओवादी केन्द्रले हिजो एमसीसीको विरोधमा आफ्ना भ्रातृ संगठनहरुलाई नयाँबानेश्वर क्षेत्रमा सडकमा उतारेको थियो ।

नेपाली कांग्रेस एमसीसी देशकै हितमा भएको भन्दै यसलाई जस्ताको तस्तै संसदबाट पारित गर्नुपर्ने पक्षमा छ । तर माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी संशोधन विना यसलाई संसदमा लैजान नहुने अडानमा छन् ।

जनता समाजवादी पार्टी (जसपा)ले एमसीसीबारे पार्टीको आधिकारिक धारणा तय गरिसकेको छैन । पार्टी अध्यक्ष उपेन्द्र यादव यस विषयमा मौन देखिएका छन् । यद्यपि संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले भने एमसीसीको पक्षमा आफ्ना धारणा राख्दै आएका छन् ।

सत्ता गठबन्धनको अर्को एक दल राष्ट्रिय जनमोर्चा भने एमसीसी खारेज गर्नुपर्ने पक्षमा छ ।

सत्ता गठबन्धनको आजको बैठकमा सहमति जुटाएर शुक्रबार बस्ने प्रतिनिधिसभा बैठकमा एमसीसी पेश गर्ने सरकारको तयारी छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?