
५ फागुन, काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले रासायनिक मल खरीद गर्न अर्थ मन्त्रालयसंग १२ अर्ब रुपैयाँ माग गरेको छ । आगामी आर्थिक वर्षको बजेटबाट छुट्याइने गरी यसै वर्ष टेण्डर गर्न उक्त रकमको सहमति माग गरिएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ ।
अर्को वर्ष मल अभाव नहुने गरी अहिले नै खरीद प्रक्रिया सुरु गर्न यस्तो सहमति मागिएको मन्त्रालयका सहसचिव एवम् प्रवक्ता प्रकाश सञ्जेलले बताए । यो रकमले करिब एक लाख ४२ हजार मेटि्रक टन रासायनिक मल खरीद गर्न सकिने उनको भनाइ छ । ‘मल खरीदको रकम मल प्राप्त भएपछि मात्रै तिर्ने हो, अहिले नै खरीद प्रक्रिया सकेर मल आउने निश्चित गर्न सकियो भने अर्को वर्ष मल अभाव हुन्न’ प्रवक्ता सञ्जेलले भने ।
अर्थले सहमति दिए सो परिमाणको मल खरीदका लागि ७० प्रतिशतको जिम्मा कृषि सामग्री कम्पनीलाई र बाँकी ३० प्रतिशत साल्ट ट्रेडिङ कर्पोरेसनलाई दिइने मन्त्रालयको तयारी छ ।
बेलैमा खरीद प्रक्रिया थाल्न नसक्दा यस वर्ष मलको हाहाकार भएको मन्त्रालयको दाबी छ । अर्थमा पठाइएको सहमति स्वीकृत भने भइसकेको छैन । ठेक्का लागेको मल समयमै आउन नसक्दा यो वर्ष मलको हाहाकार भएको र आगामी वर्षको वर्षयामको लागि अहिल्यै टेण्डर गरे मल आइपुग्ने मन्त्रालयको दाबी छ ।
कोलकाता आइपुग्यो मल
यस वर्षको गहुँबालीका लागि खरीद गरिएको २० हजार मेटि्रक टन डीएपी मल भारतको कोलकातामा आइपुगेको छ । इजिप्टबाट खरीद गरिएको उक्त मल बन्दरगाहमा प्याकेजिङ भइरहेको र अर्को सातादेखि नेपाल भित्रिने कृषि सामाग्री कम्पनी लिमिटेडले जनाएको छ ।
गहुँका लागि भनेर आयात गरिए पनि यो मल मकै र चैते धानका लागि प्रयोग हुने कम्पनीको भनाइ छ । अन्य थप तीन वटा टेण्डरको मल आउन बाँकी रहेकाले चैते धान र मकैलाई मल अभाव नहुने कम्पनीका कार्यवाहक प्रबन्ध सञ्चालक राजेन्द्र कार्कीले बताए ।
प्रतिक्रिया 4