+
+

चन्दा उठाउन भूमिगत समूहको नाममा झापामा नक्कली बम आतंक

९ जना पक्राउ, मुख्य योजनाकार फरार

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन ६ गते १०:०८

६ फागुन, काठमाडौं । भूमिगत समूहको नाममा प्रेसर कुकर बम जस्तो देखिने शंकास्पद वस्तु राखेर झापामा आतंक फैलाउने प्रयास भएको छ । लागूऔषध र ठगीमा संलग्न व्यक्तिहरुको समूहले ‘हिमाल सुरक्षा परिषद्’ नामक भूमिगत समूहको नाममा आतंक फैलाएर व्यवसायीबाट चन्दा उठाउने प्रयास गरेको हो ।

१ नं. प्रदेश प्रहरी कार्यालय, बिराटनगरको क्षेत्रीय अपराध अनुसन्धान समूह र जिल्ला प्रहरी कार्यालय, झापाको टोलीले यसमा संलग्न गिरोहलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गौरादह-२ का सुमनकुमार कार्कीसहित ९ जना छन् ।

जिल्ला प्रहरी कार्यालय, झापाका प्रमुख एसपी विश्वमणि पोखरेलका अनुसार यो समूहले शंकास्पद वस्तु राखेर व्यवसायीबाट चन्दा उठाउने प्रयास गरिरहेको थियो । ‘अधिकांश पहिल्यै मुद्दा चलिरहेका व्यक्ति छन्, उनीहरुलाई संलग्न गराएर भूमिगत समूहको नाममा असूली गर्न खोजेको देखिन्छ’ पोखरेल भन्छन्, ‘पक्राउ पर्नेहरुको साथबाट आर्थिक संकलन गरिएका कागज र पर्चाहरु पनि बरामद भएका छन् ।’

मुख्य योजनाकार को हुन् ?

प्रहरी स्रोतका अनुसार घटनाका मुख्य योजनाकार अझै फरार छन् । ती व्यक्ति विगतमा ‘हिमाल सुरक्षा परिषद्’को नामबाट समूह चलाएर चन्दा असूल्दै आएका थिए । ‘उनले कनकाई पुलसहित विभिन्न स्थानमा बम राखेका थिए, गत वर्ष पक्राउ पनि गरेका थियौं’ स्रोत भन्छ, ‘त्यहाँबाट छुटेपछि कार्कीसहितका व्यक्तिहरुलाई प्रयोग गरेर पुरानै धन्दा थालेको देखिन्छ ।’ उनी हाल भारतमा छन् ।

यो समूहले बिर्तामोडमा ९ माघ र दमकमा १३ माघमा प्रेसर कुकर बम जस्तो देखिने वस्तु राखेको थियो । नेपाली सेनाको टोलीले शंकास्पद वस्तु डिस्पोज गरेको थियो ।

हाल फरार रहेका मुख्य योजनाकारले ठेक्कापट्टामा संलग्न गौरादहका कार्कीलाई प्रयोग गरेर असूली धन्दा चलाउने योजना बनाएको अनुसन्धानबाट देखिएको छ । एसपी पोखरेलका अनुसार उनी वैदेशिक रोजगारी सम्बन्धी ठगीमा समेत पक्राउ परिसकेका व्यक्ति हुन् ।

पुजारी सहयोगी

प्रहरीका अनुसार कार्कीको घरबाट ११ साउन २०७८ मा इलाका प्रहरी कार्यालय, दमकले ३० ग्राम लागूऔषध ब्राउन सुगर बरामद गरेको थियो । तर उनी त्यसयता फरार थिए, अदालतबाट वारेन्ट जारी भइसकेको थियो ।

प्रहरीले घटनामा संलग्न रहेको अभियोगमा कनकाई नगरपालिका-३ का मजदुर ४१ वर्षीय भीष्म थापा, दमक-९, चिया दोकान चोककी ५० वर्षीया देवी बाँस्कोटा गुरागाईं, कनकाई नगरपालिका-३ का कुमार भनिने यमदत्त सिटौला र शिवसताक्षी नगरपालिका-१ का ३२ वर्षीय सरुण लिम्बु भन्ने दिलकुमार सामेखामलाई पनि पक्राउ गरेको छ ।

संखुवासभाका २९ वर्षीय मनमोहन दाहाल, गौरीगञ्ज-३ का ३२ वर्षीय आनन्द भनिने अनन्तप्रसाद गिरी, गौरादहका ३३ वर्षीय प्रदीप थापा र गौरीगञ्ज-३ का ४५ वर्षीय विजयकुमार दास हलुवाई पनि पक्राउ परेका छन् ।

बिहीबार विर्तामोड आयोजित पत्रकार सम्मेलनमा जिल्ला प्रहरी कार्यालय, झापाका डीएसपी वसन्त पाठकले विर्तामोडमा शंकास्पद वस्तु राख्न कनकाई नगरपालिकाका थापा संलग्न देखिएको बताए । पेशाले ट्युबेल गाड्ने मजदुर उनलाई मोटरसाइकल दिने प्रलोभनमा प्रेसर कुकर राख्न भनिएको थियो ।

छिमेकी समेत रहेका कोटीहोमका पुजारी सिटौलाले कनकाई नगरपालिकाका थापालाई प्रेसर कुकर राख्न अह्राएका थिए । सिटौला ग्रेटर नेपालको माग राखी शंकास्पद वस्तु प्रेसर कुकर राखेको अभियोगमा यसअघि नै पक्राउ परिसकेका व्यक्ति हुन् । त्यसपछि कार्की ९ माघमा प्रेसर कुकर बोकेर विर्तामोड बस स्ट्याण्डमा पुगेका थिए ।

‘बिहान ३ बजे नै उनले सुरुङ्गाको चारआली चोकबाट शंकास्पद वस्तु र पर्चा ल्याएका रहेछन्,’ पाठकले भने । पक्राउ परेका मध्ये देवी बाँस्कोटा कार्कीका मुख्य सहयोगी हुन् । प्रहरीका अनुसार बाँस्कोटाले झापाको विभिन्न ठाउँमा शंकास्पद वस्तु राख्न केर्खा चोकबाट ४ वटा प्रेसर कुकर खरिद गरेकी थिइन् । उनी चन्दा संकलन गर्ने कार्यमा पनि संलग्न रहेको प्रहरीले बताएको छ ।

पक्राउ परेकामध्ये सरुण लिम्बु यसअघि लागूऔषध मुद्दामा ५ वर्ष कैद सजाय पाइ कारागारबाट छुटेका व्यक्ति भएको प्रहरीले जनाएको छ । उनले ‘हिमाल सुरक्षा परिषद्’ नामक समूहको गतिविधिका लागि झापा र मोरङका विभिन्न स्थानबाट चन्दा संकलन गर्दै आएको प्रहरीले जनाएको छ । लिम्बु दमकमा शंकास्पद वस्तु राख्ने कार्यमा संलग्न रहेको एसपी पोखरेल बताउँछन् ।

यो पनि पढ्नुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?