+
+

एप्पल सीईओ कुकको वार्षिक तलब भत्ता १२ अर्ब रुपैयाँ !

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन ६ गते १०:१७

काठमाडौं । संसारको सबैभन्दा मूल्यवान कम्पनी एप्पलका सीईओ टिम कुकले एक वर्षमा तलब, भत्ता, सुविधा, बोनस आदि गरेर कम्पनीबाट कति रकम हात पार्दछन् होला ?

३० खर्ब डलर मूल्य भएको विश्वकै एकमात्र कम्पनी एप्पलका प्रमुख कार्यकारी अधिकृतको तलब भत्ता चानचुने हुने त कुरै भएन । वास्तवमा त्यो अर्बको संख्यामा छ ।

हो, एप्पल सीईओ टिम कुकले बितेको वर्ष सन् २०२१ मा कम्पनीबाट कूल ९ करोड ८७ लाख डलर अर्थात् करीब ११ अर्ब ८५ करोड रुपैयाँ आर्जन गरेका छन् । सन् २०२० मा १ करोड ४८ लाख डलर हात पारेका कुकको तलब भत्ता तथा सुविधाको रकम २०२१ मा आकासिएको हो ।

रिपोर्ट अनुसार कुकले गत वर्ष एप्पल कम्पनीबाट वार्षिक तलब स्वरुप ३० लाख डलर अर्थात् झण्डै ३२ करोड रुपैयाँ बुझे ।

त्यस्तै उनले कम्पनीबाट शेयर अवार्डको रुपमा ८ करोड २३ लाख डलर अर्थात् झण्डै १० अर्ब रुपैयाँ बराबरको शेयर प्राप्त गरे । त्यसबाहेक टिम कुकले कम्पनीको वित्तिय लक्ष्य पूरा गरेबापत थप १ करोड २० लाख डलर अर्थात् झण्डै डेढ अर्ब रकम हात पारे ।

त्यसबाहेक गतवर्ष एप्पललाई कम्पनीले हवाई यात्रा खर्च, बिमा प्रिमियम लगायतका विभिन्न शीर्षकमा गरी थप १४ लाख डलर रकम भुक्तानी गरेको थियो । यी सबै रकम जोड्दा सन् २०२१ मा टिम कुकले एप्पल कम्पनीबाट नगद र शेयरमा गरी कूल ९ करोड ८७ लाख डलर प्राप्त गरे ।

कम्पनीको नियमानुसार टिम कुकले गत वर्ष एप्पलको ३ लाख ३३ हजार ९८७ कित्ता शेयर पुरस्कार स्वरुप प्राप्त गरे ।

रिपोर्ट अनुसार सीईओ टिम कुकको एप्पल कम्पनीको वार्षिक आम्दानी त्यहाँको एउटा तल्लो स्तरको कर्मचारीको औसत आम्दानीको १४ सय ४७ गुणा धेरै हो ।

उता सीईओ टिम कुकको अस्वभाविक तलब भत्ता तथा सुविधा र इक्विटी अवार्डको रुपमा ठूलो शेयर हिस्सा प्रदान गरिएको विषय आलोचित समेत बनेको छ । परामर्शदातृ कम्पनी इन्स्टिच्युसनल शेयरहोल्डर सर्भिसेसले सिइयोको तलबभत्ता तथा सुविधाको विरुद्धमा मतदान गर्न एप्पल कम्पनीका शेयर लगानीकर्ताहरुलाई आग्रह गरेको छ ।

स्मरण रहोस् एप्पलका शेयर होल्डरहरुको वार्षिक बैठक आगामी मार्च महिनाको पहिलो हप्ता हुँदैछ ।

–एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?