+
+

आगलागीको घटनाबाट कहिले चेत्ने ?

आगलागीको एउटै घटनामा करोडौंको धनमाल क्षति भएको देखिन्छ । त्यो क्षतिभन्दा कम लगानीमा आगलागी नियन्त्रणका लागि दमकल लगायतका पूर्वाधार तयार गर्न सकिन्छ । तर यसतर्फ ध्यान नजानु भनेको नागरिकको जीउधनप्रतिको हदैसम्मको उपेक्षा हो ।

किशोरकुमार भट्टराई किशोरकुमार भट्टराई
२०७८ फागुन ७ गते १३:१४

आगलागी मानव सिर्जित विपद् हो । मानवीय अज्ञानता, असावधानी वा लापरबाहीको कारण आगलागीको घटना हुने गर्दछ । हुनत चट्याङको कारण पनि आगलागी हुन्छ ।

चट्याङको कारणबाट हुने आगलागीलाई प्राकृतिक विपद्को रूपमा लिइन्छ । नेपालको सन्दर्भमा चट्याङको कारणबाट आगलागी भएको तथ्याङ्क प्रायः पाइँदैन ।

नेपालमा हुने आगलागी मानव सिर्जित कारणबाट भएको पाइन्छ । आगलागीको घटना सम्बन्धमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको वेबसाइटका अनुसार चालु आर्थिक वर्षमा अहिलेसम्म १३०० आगलागीको घटना भएको तथ्याङ्क देखिन्छ । यी घटनाबाट २३२ जना घाइते भएका छन् भने ६२ जनाको मृत्यु भएको छ । १ हजार ५२० घरपरिवार प्रभावित भएका छन् । ३९१ वटा घरमा आंशिक क्षति भएको छ । ४८० वटा पशुचौपाया मरेका छन् ।

आगलागीबाट अनुमानित १ अर्ब ८० करोड २ लाख ८० हजार रुपैयाँ बराबरको क्षति भएको छ । पछिल्लो एक हप्तामा आगलागीको कारण १४ जनाको मृत्यु र १४ जना घाइते भएको जानकारी राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले दिएको छ ।

हालैको दिनमा दाङ र मेचीनगर नगरपालिकामा ठूल्ठूला आगलागी भई ठूलो मात्रामा जनधनको क्षति भएको छ । समाचार स्रोतका अनुसार मेचीनगर नगरपालिका वडा नं. ६ बर्मेली टोलस्थित एसएस फुटवेयरमा २० माघ २०७८ मा भएको आगलागीमा मेचीनगर नगरपालिकाको दमकल बिग्रेको हुँदा झण्डै २५ किलोमिटर टाढा रहेको बिर्तामोड र भद्रपुर नगरपालिकाको दमकल गएर आगो नियन्त्रण गरेको र छिमेकी भारतको सीमावर्ती क्षेत्रबाट समेत दमकल बोलाई अग्नि नियन्त्रण गरेको देखिन्छ ।

विपद् प्रतिकार्य तथा उद्धार सेवालाई भौगोलिक सीमाले छेक्दैन । आगलागी नियन्त्रण सीमारहित सेवा हो । आगलागीको ठूला घटना हुँदा आपसी सहमतिमा अग्नि नियन्त्रणको लागि सीमावर्ती क्षेत्रमा नेपालको दमकल भारतमा र भारतको दमकल नेपाल आई अग्नि नियन्त्रण गर्नु नौलो विषय होइन । यो पुरानो अभ्यास नै हो ।

आगलागीमा प्रथम प्रतिकार्यको लागि स्थानीय दमकल समयमा नै घटनास्थलमा पुगी अग्नि नियन्त्रण कार्य सुरु गर्नुपर्दछ । यसले गर्दा आगो बढ्न र नियन्त्रणभन्दा बाहिर जानबाट रोक्छ । आगो ठूलो भएमा थप मद्दतको लागि छिमेकी नगरपालिकाहरूबाट दमकल बोलाउने हो ।

दाङको तुल्सीपुर उपमहानगरपालिका वडा नं. ५ स्थित ईरम फुटवेयर जुत्ता–चप्पल पसलमा २८ माघ २०७८ मा आगलागी हँुदा पनि समयमा दमकल पुग्न सकेन र धुवाँमा फसेर पाँच जनाको ज्यान गएको समाचार सुन्नमा आएको छ ।

मेचीनगर नगरपालिकाको वडा नं. १४ स्थित मनसा फुड कम्पनीको मगमग चाउचाउ फ्याक्ट्रीमा भीषण आगलागी भयो । यसमा उल्लेखित आगलागीको घटनामा करोडौंको आर्थिक क्षति भई निर्दोष पाँचजना नागरिकले ज्यान गुमाएका छन् । यी त हालसालै घटेको आगलागीको प्रतिनिधि घटना मात्र हुन् । यसभन्दा अघि पनि योभन्दा ठूला आगलागीको घटना हामीले व्यहोरिसकेका छौं । तर पनि आगलागी नियन्त्रणको लागि किन हामीले भरपर्दो संस्था बनाउन सकेनौं ? यसतर्फ हामीले के पहल गर्‍यौं ? यसको जवाफ हामीले नागरिकलाई दिनुपर्छ ।

आगलागीको एउटै घटनामा करोडौंको धनमाल क्षति भएको देखिन्छ । त्यो क्षतिभन्दा कम लगानीमा आगलागी नियन्त्रणका लागि दमकल लगायतका पूर्वाधार तयार गर्न सकिन्छ । तर यसतर्फ ध्यान नजानु भनेको नागरिकको जीउधनप्रतिको हदैसम्मको उपेक्षा हो ।

विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन–२०७४ ले पालिकाहरूलाई विपद् जोखिमको पूर्वतयारीदेखि प्रतिकार्य गर्नेसम्मको अधिकार दिएको छ । प्रत्येक पालिकाले आफ्नो क्षेत्रभित्र दमकल सेवा प्रवाह गर्नुपर्ने कानुनी प्रावधान छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय विपद् व्यवस्थापन शाखाका अनुसार ७५३ स्थानीय तहमध्ये ६५५ पालिकामा अझसम्म पनि दमकल सेवा सञ्चालन छैन । अझ स्पष्ट भाषामा भन्नु पर्दा दमकल सम्बन्धी पूर्वाधार एवं संरचना केही पनि छैन ।

दमकल सेवा सञ्चालन भएका महानगर, उपमहानगर र नगरपालिकाहरूमा भएका दमकलहरू पनि सबै पूर्ण रूपमा चालु हालतमा छैनन् । दमकल मर्मतसम्भारको लागि झन्झटिलो प्रक्रिया छ । सबैकोमा कुनै न कुनै समस्या रहेको देखिन्छ । कोही पालिकामा जनशक्तिको अभाव छ । कुनै पालिकामा भएका जनशक्तिलाई तालिम उपलब्ध छैन । कसैमा अग्नि नियन्त्रण तथा उद्धार कार्यको लागि आवश्यक आधारभूत औजार उपकरण नै उपलब्ध छैन ।

अरू त अरू अधिकांश पालिकामा फायर फाइटरले आगलागी हँुदा लगाउने व्यक्तिगत सुरक्षा सामग्री नै सामान्य कपडा र क्यानबास जुत्तामा अग्नि नियन्त्रण खटिरहेका छन् । व्यक्तिगत सुरक्षा सामग्री उपलब्ध भएका दमकलकर्मीहरूले पनि उचित किसिमले प्रयोग गरेको पाइँदैन । व्यक्तिगत सुरक्षा सामग्री नलगाएको कारणबाट केही समय अघि फायर फाइटरलाई आगोले पोलेको देखिन्छ ।

प्रभावकारी रूपमा दमकल सेवा संचालनको लागि ‘फोर–टी’ को आवश्यकता पर्दछ । अर्थात् टुल्स (औजार उपकरण), ट्रेनिङ (तालिम), टेक्नोलोजी (प्रविधि) र ट्याक्टिस् (रणनीति) हुन् । यसका साथै हामीले आफ्नो प्राथमिकता पनि निर्धारण गर्नुपर्ने हुन्छ ।

औजार/उपकरण

आगलागी नियन्त्रण तथा उद्धार कार्यको लागि प्राथमिक वस्तु भनेको औजार उपकरण नै हो । औजार उपकरण विना खालीहातले औजार फायर फाइटिङ्ग गर्न सकिंदैन । हाम्रो सन्दर्भमा धक नमानी यथार्थ कुरा भन्नु पर्दा आधारभूत औजार उपकरणको कुरै छोडौं । अपवादमा केही दमकल बाहेक गतिलो किसिमको पानी फाल्ने नोजल पनि उपलब्ध छैन ।

तालिम

आगलागी नियन्त्रण तथा उद्धार कार्य गर्ने दमकलकर्मीलाई नियमित रूपमा तालिम दिई दक्ष बनाई चुस्त हालतमा उच्च सतर्कताका साथ ब्यारेकमा राख्नुपर्दछ । तर नेपालमा भएका दमकलकर्मीहरू अधिकांशले अग्नि नियन्त्रण सम्बन्धी आधारभूत तालिम समेत प्राप्त गरेका छैनन् । गतिलो आवास गृह र मेस छैन ।

तालिम विनाको मानिसलाई दमकल जिम्मा लगाइएको अवस्था छ । आगलागी नियन्त्रणको लागि फायर फाइटरलाई मात्र नभई समुदायलाई पनि सचेतनामूलक तालिम दिनु उपयुक्त हुन्छ । यसले गर्दा आगलागीको घटनामा कमि आउँछ ।

प्रविधि

अहिलेको आधुनिक जमानामा पुरातन शैलीमा काम गरेर इच्छित प्रतिफल प्राप्त गर्न सकिंदैन । आगलागीको सूचना प्राप्त गर्ने भरपर्दो संयन्त्र र दमकल परिचालन गर्ने कल सेन्टर प्रविधियुक्त हुनुपर्दछ । यसले दमकलकर्मीलाई अग्नि नियन्त्रणमा जिम्मेवार बनाउँछ ।

समयमा प्रतिकार्य गरे/नगरेको यस प्रविधिबाट पत्ता लगाउन सकिन्छ । कतिबेला दमकल घटनास्थलमा गयो, कुन बेला फर्कियो, कसरी काम गर्‍यो भन्ने यो प्रविधिबाट जानकारी प्राप्त गर्न सकिन्छ । आगलागीमा दमकलकर्मीहरूबीच समन्वय र सञ्चारको लागि रेडियो सेट हुनुपर्दछ । दमकलमा जीपीएस जडान हुनुपर्दछ ।

यसले सेवाग्राही तथा नियामक निकायले दमकलको अवस्थाबारे जानकारी लिन सक्छन् । दमकलकर्मी आगलागी स्थलमा सोधी–खोजी विना सीधै पुग्न सक्छन् । यसले समयमा नै घटनास्थलमा पुगी क्षति न्यूनीकरण गर्न सकिन्छ । हाम्रो सन्दर्भ अहिले पनि दमकलकर्मीहरू आगलागी स्थल खोज्दै र धुवाँको गन्ध सुँघ्दै जानुपर्ने अवस्था रहेको छ ।

रणनीति

सहरमा दमकल परिचालन सम्बन्धी रणनीति विना प्रभावकारी दमकल सेवा प्रवाह गर्न सकिंदैन । चुस्त रणनीति विना आगलागीमा क्षति न्यूनीकरण गर्न सकिंदैन । दमकल परिचालनमा दमकल पठाउने समय र दमकल घटनास्थलमा पुग्ने समय निर्धारण हुनुपर्दछ ।

कम्तीमा कति समयभित्र घटनास्थलमा पहिलो प्रतिकार्य दमकल पुर्‍याउने भन्ने समय निर्धारण गर्नुपर्दछ । यसको लागि सहरको सबै क्षेत्रलाई कभर गर्ने गरी दमकल स्टेशन बनाउनुपर्दछ । कस्तो विपद्मा कसरी परिचालित हुने, कुन/कुन निकाय बीच कसरी समन्वय हुने ? समय समयमा सरोकारवाला निकाय बीच बैठक हुने कार्यविधिको व्यवस्था हुनुपर्दछ ।

नेपालमा दमकल परिचालन सम्बन्धी रणनीतिको अभाव छ । प्रतिफलमा अधिकांश घटनामा दमकल समयमा आगलागी स्थलमा पुर्‍याउन नसकेर क्षति बढी भएको समाचार हामीले बारम्बार सुन्ने गरेका छौं ।

समयमा दमकल घटनास्थलमा पुग्न नसक्नुमा दमकलकर्मीको मात्र दोष छैन । यसमा एकले अर्कालाई दोष लगाएर पन्छिन मिल्दैन । यसमा सबै पक्ष जिम्मेवार हुन जरूरी छ । दमकल ढिला पुग्नुमा कहिले ढिलो गरी घटनाको सूचना प्राप्त हुन्छ । कतिपय घटनास्थलमा दमकल जान सडक हुँदैन ।

कतिपय स्थानमा सडकको अवस्थाले गर्दा दमकल गुडाउन सकिंदैन । कतिपय स्थानमा लत्रिएका तारले दमकललाई अवरोध गर्छ । कति स्थानमा सडक र ढलले बाटो खनेको कारण दमकल गन्तव्यमा समयमा पुग्दैन ।

नेपालमा हालसम्म काठमाडौं दमकल बाहेक अन्यत्र एउटै मात्र दमकल स्टेशन भएको हँुदा दमकल स्टेशन र आगलागी घटना स्थलको दूरी टाढा हँुदा समयमा दमकल पुग्न सक्दैन । समयमा दमकल आगलागीमा नपुग्दा आगो फैलिएर ठूलो भइसकेको हुन्छ र आगलागीबाट ठूलो मात्रामा क्षति भइरहेको छ ।

प्राथमिकता

दमकल जस्तो पवित्र आपतकालीन मानवीय सेवा प्रवाह गर्ने जनताको घर जल्दा पानी हानेर आगो निभाउने सेवा दिने दमकल जस्तो संस्था पालिकाहरूको प्राथमिकतामा नपरेको कुरा दमकल सम्बन्धी तथ्याङ्कले नै देखाएको छ ।

कानुनतः पालिकाहरूले सञ्चालन र व्यवस्थापन गर्नुपर्ने दमकल सेवा अझै ६५५ स्थानीय तहले व्यवस्था गरेको देखिंदैन । दमकल सेवा सञ्चालन गरेका स्थानीय तहहरूले पनि कर्मकाण्डी रूपमा मात्रै सेवा सञ्चालन गरेको देखिन्छ ।

जसको कारण हामीले समयमा आगलागीको प्रतिकार्य गर्न सकिरहेका छैनौं । यसमा समस्या कहाँनिर छ, पहिचान गरी यसबाट पाठ सिक्नुपर्दछ । आगलागीको यत्रो घटना घट्दा र क्षति व्यहोर्दा समेत नचेते अब हामीले कहिले चेत्ने ?

(लेखक जुद्ध बारुण यन्त्र कार्यालय, काठमाडौंका पूर्व प्रमुख हुन् ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?