+
+

कुनै शक्ति राष्ट्रको पक्षमा उभिन्नौं : माधव नेपाल

‘दुवै देशको अभिव्यक्ति गम्भीर हो । तर कसैको गठबन्धनमा नउभिनेमा प्रष्ट हुनुपर्छ’, नेकपा एकीकृत समाजवादीको स्थायी कमिटी बैठकमा अध्यक्ष माधवकुमार नेपालले भने ।

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन ७ गते १९:५१

७ फागुन, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले असंलग्न परराष्ट्र नीतिमा आँच पुग्ने कुनै काम गर्न नदिइने बताएका छन् । शनिबार बानेश्वरमा बसेको स्थायी कमिटी बैठकमा अध्यक्ष नेपालले अमेरिकी सहयोग परियोजना एमसीसीबारे अमेरिका र चीनको अभिव्यक्ति गम्भीर रहेको बताए ।

तर आफूहरु कुनै पनि शक्ति राष्ट्रको पक्षमा नउभिने अध्यक्ष नेपालको भनाइ छ । ‘कुनै पनि शक्ति राष्ट्रले निर्माण गरेको ब्लकमा सामेल भइने छैन । नेपालको संविधान र कानुनलाई तल पार्ने काम गर्न दिइने छैन’, बैठकमा अध्यक्षले नेपालले राखेको धारणा उधृत गर्दै एक नेताले भने ।

एमसीसी सम्झौता संसदबाट अनुमोदन गर्ने विषयमा नेपालका राजनीतिक दलहरुबीच  विवाद बढ्दै गएका बेला अमेरिका र चीन दुबैले प्रतिक्रिया सार्वजनिक गरेका छन् । अमेरिकाले गत हप्ता नेपालमा प्रमुख तीन राजनीतिक दलका शीर्ष नेतालाई टेलिफोन गरी एमसीसी अनुमोदन गर्न दबाब दिएको थियो ।

त्यसप्रति चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनबिङले अमेरिकाले एमसीसीमा बलजफ्ती कुटनीति अपनाएको प्रतिक्रिया दिएका थिए ।  ‘दुवै देशको अभिव्यक्ति गम्भीर हो । तर कसैको गठबन्धनमा नउभिनेमा प्रष्ट हुनुपर्छ’, ती नेताले अध्यक्ष नेपालको भनाइ सुनाए ।

अध्यक्ष नेपालले कसैको दबाबमा नभएर नेपाली जनताले आफ्नो स्वार्थमा निर्णय गर्न पाउनुपर्ने कुरामा चीन प्रष्ट भएको समेत बताए । ‘छिमेकीहरुको स्वार्थमा संवेदनशील हुनुपर्छ । हाम्रो भूमिबाट भएको गतिविधिले छिमेकीको राष्ट्रिय सुरक्षामा खतरा उत्पन्न हुने काम गर्न दिदैनौं । तर कसैको गठबन्धनमा नरहेकोमा प्रष्ट हुनुपर्छ’, नेपालले बैठकमा भनेका छन् । शक्ति राष्ट्रको कुनै पनि ध्रुवमा उभिन्नौं भन्दा अमेरिका र चीन दुवैले आशंकाले हेर्न नहुने पनि अध्यक्ष नेपालको भनाइ छ ।

एकीकृत समाजवादीको स्थायी कमिटी बैठकले भने एमसीसी यथास्थितिमा अनुमोदन नगर्ने निर्णय गरेको छ । तर नेकपा एमालेले गरिरहेको संसद अवरोध हटेमा एमसीसी पेश गर्न दिइने निर्णय गरेको प्रवक्ता जगनाथ खतिवडाले बताए । ‘संसदको अवरोध हट्नुपर्छ । गठबन्धनमा सहमति हुनुपर्छ । एमसीसीबारे संसदमा छलफल गर्न खुला छौं’, खतिवडाले भने ।

बैठकमा सम्मानित नेता झलनाथ खनालको संयोजकत्वमा बनेको एमसीसी अध्ययन कार्यदलले आफ्नो प्रतिवेदन बुझाएको थियो । अध्ययन कार्यदलले संशोधन गरेर मात्रै एमसीसी अनुमोदन गराउन सकिने निष्कर्ष प्रस्तुत गरेको छ । एमसीसीबारे थप निर्णय लिने अधिकार सचिवालयलाई दिएको छ ।

बैठकले एमसीसीकै कारण सत्तारुढ गठबन्धन नजोगिने परिस्थिति बन्न नदिने निर्णय गरेको  खतिवडाले बताए । ‘अन्तिमसम्म गठबन्धन जोगाउन पहल गर्नेछौं । तर एमसीसीकै कारण गठबन्धनबाट कुनै दल बाहिरिन चाहेमा हामीले मात्रै रोक्न सक्ने कुरा भएन’, प्रवक्ता खतिवडा भन्छन् ।

सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेसले एमसीसी पेश गर्ने र अनुमोदन गर्ने निर्णय गरिसकेको छ । सत्ता साझेदार अर्को दल नेकपा माओवादी केन्द्रले भने एमसीसीको विपक्षमा उभिने निर्णय गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?