+
+

उदयपुरमा बढ्दैछ व्यावसायिक केरा खेती

जिल्ला कृषि ज्ञान केन्द्रका अनुसार अहिले जिल्लाको त्रियुगा, बेलका, कटारी र चौदण्डीगढी नगरपालिकासहित उदयपुरगढी गाउँपालिकामा केरा खेती विस्तार हुँदै गएको छ ।

रासस रासस
२०७८ फागुन ८ गते १३:२०

८ फागुन, उदयपुर । उदयपुर जिल्लामा उत्पादन हुने फलफूल खेतीमध्ये केही वर्षदेखि व्यावसायिक केरा खेती विस्तार हँदै आएको छ । जिल्ला कृषि ज्ञान केन्द्रका अनुसार अहिले जिल्लाको त्रियुगा, बेलका, कटारी र चौदण्डीगढी नगरपालिकासहित उदयपुरगढी गाउँपालिकामा केरा खेती विस्तार हुँदै गएको छ ।

त्रियुगा नगरपालिकाका प्रमुख बलदेव चौधरीका अनुसार अहिले यस नगरपालिकाको राजाबास, बगाहा, जोगिदह, खैजनपुर, साउने, खाँबु चुहाडे तथा श्रीपुर क्षेत्रलाई केरा जोन क्षेत्र नै घोषणा गरेर व्यापक केरा खेती विस्तार गरिएको हो ।

चौदण्डीगढी नगरपालिकाको हँडिया, सिवाई, सुन्दरपुर, देवधार तथा बसाहा क्षेत्रलाई अहिले केरा जोन क्षेत्रका रुपमा विकास गर्दै लगिएको नगरप्रमुख खगेन्द्रकुमार राईले पनि बताए ।

सबैभन्दा बढी केरा उत्पादन बेलका नगरपालिकाको भागलपुर, तपेस्वरी, पुरनदह, बानडाँडा क्षेत्रका साथै कटारी नगरपालिकाको त्रिवेणी, रिस्कु, सोमबारे, मरुवा, हरैया, बेलस्रोतसहित क्षेत्रहरुलाई तीन वर्षदेखि केरा जोन क्षेत्रका रुपमा विकास गरिएको सम्बन्धित नगरपालिकाले जनाएको छ ।

पहाडी क्षेत्रको उदयपुरगढी गाउँपालिकाको नेपालटार, दनुवारबेँसी, क्षेत्रलाई पनि चार वर्षदेखि केरा जोन क्षेत्रका रुपमा विकास गरिएको उक्त गाउँपालिकाकी उपाध्यक्ष सानुकुमारी राउतले बताए ।

कृषि ज्ञान केन्द्रका प्रमुख महेश चौधरीका अनुसार २०७० सालसम्ममा त्रियुगा चौदण्डी, बेलका र कटारी नगरपालिकाका केही स्थानमा मात्र गरेर पचास हेक्टर जमिनमा मात्र केरा खेती हुँदै आएकामा २०७४ सालसम्म आइपुग्दा ९१ हेक्टर जमिनमा केरा उत्पादन हुन थालेको थियो ।

विसं २०७४ पछि भने जिल्लाको मुख्य चार नगरपालिकाहरु कटारी, त्रियुगा, बेलका, चौदण्डीगढीमा व्यापक केरा खेती विस्तार गर्दै केरा जोन तथा पकेट क्षेत्रसमेत घोषणा गरिएपछि अहिले केरा खेती व्यापक विस्तार भएको हो ।

विसं २०७६ मा जिल्लामा केरा खेती विस्तार भएर १५० हेक्टर जमिनमा केरा खेती गरिएकामा कूल एक हजार ५६० मेट्रिक टन केरा उत्पादन भएको थियो । २०७७ सालको आँकडाअनुसार जिल्लामा १७५ हेक्टर जमिनमा केरा खेती विस्तार भएकामा यसपटक एक हजार ९५० मेट्रिक टन केरा उत्पादन भएको केन्द्रका प्राविधिक अधिकृत अम्बिकाकुमारी भट्टराईले बताए ।

बेलका र चौदण्डीगढी नगरपालिकाका कृषकहरुले बढी केरा उत्पादन गरेर आम्दानी पनि बढी गरेको सम्बद्ध कृषकले बताए । बेलका आम्बासीका कृषक पुण्यप्रसाद भट्टराईले भने, ‘आफूले २०६४ सालदेखि नै व्यावसायिकरुपले केरा खेतीमा लाग्दै आए पनि २०७० सालदेखि अहिले घरको अढाई बिघा जग्गामा खेती विस्तार गरेको छु ।’

भट्टराईका अनुसार गत वर्ष रु आठ लाखभन्दा बढीको केरा उत्पादन गरेकामा कोभिड–१९ को असरका कारण राम्ररी केरा बिक्री नभए पनि कात्तिकदेखि अहिलेसम्म आएर झन्डै रु पाँच लाखको केरा बिक्री भइसकेको छ।

चौदण्डीगढी नगरपालिका–३ हँडियाका कृषक रमानन्द चौधरीले २०७२ सालदेखि वार्षिक रु चार लाखसम्मको केरा बिक्री गर्दै आएका दुई वर्षदेखि कोरोनाको महामारीले रु तीन लाख बराबरको मात्र केरा बिक्री गर्न सकेको बताए ।

त्रियुगा–१ जोगिदहका कृषक भुवेन्द्रनारायण चौधरीले भने, ‘२०६५ सालदेखि व्यावसायिक केरा खेतीमा लागेको भए पनि हाल आएर प्रायः सबै जग्गामा आफूले केरा खेती नै गर्दै आएको छु ।’ यस वर्षबाहेक गत वर्षसम्मको अवधिमा आफूले वार्षिक रु पाँच लाखसम्मको केरा उत्पादन गरेर बिक्री गर्दै आएको उनको भनाइ थियो ।

बेलका, चौदण्डीगढी र त्रियुगा नगरपालिकाको जोगिदह क्षेत्रमा उत्पादन हुने केरा अहिले जिल्लाको सदरमुकाम गाईघाटसहित सप्तरी जिल्लाको कञ्चनपुर र फत्तेपुर बजारदेखि सुनसरीको इटहरी र धरान बजारसम्म बिक्री हुने गरेको स्थानीय कृषकहरुको भनाइ छ ।

त्रियुगा नगरपालिकाको साउने खाँबु, राजाबाससहित उदयपुरगढी क्षेत्रमा उत्पादन हुने अधिकांश केरा अहिले जिल्ला सदरमुकाम गाईघाटमा नै बिक्री हुने गरेको स्थानीय कृषकले बताए ।

विगतका वर्षहरुमा जिल्लामा प्रायः परम्परागतरुपमा उत्पादन हुने झप्री, मर्चे, मुङग्रेजस्ता केरा उत्पादन हुने गरे पनि २०७० सालपछि जिल्लामा आधुनिक प्रजातिका रोबोस्टा र चिनियाँ चम्पा प्रजातिका केरा बढी उत्पादन हुन थालेपछि केरा उत्पादनमासमेत व्यापक वृद्धि भएको कृषकहरुको दाबी छ ।

राजाबास, साउने, खाँबु, जोगिदह, मोथ्याई खैजनपुर श्रीपुर र बगाहा क्षेत्रका ५० प्रतिशत कृषक अहिले व्यावसायिक केरा खेतीमै निर्भर हुँदै आएको त्रियुगाका नगरप्रमुख चौधरीले बताए ।

यता बेलका नगरपालिका–१ को बानडाँडा-२ को तपेस्वरी, पुरनदह र ३ को भागलपुर क्षेत्रका ६० प्रतिशत कृषक व्यावसायिक केरा खेतीमा निर्भर हुन थालेको नगरप्रमुख दुर्गाकुमार थापाको भनाइ थियो । उनका अनुसार अहिले बेलकामा मात्र वार्षिक रु तीन करोडभन्दा बढीको केरा उत्पादन हुने गरेको र सरदर रु डेढ करोडसम्मको केरा बिक्री हुने गरेको छ ।

प्रधानमन्त्री कृषि योजना कार्यान्वयनसँगै उदयपुरमा अहिले मुख्य गरेर जिल्लाको तराई क्षेत्रको चार नगरपालिकामा केरा खेती विस्तारमा जोड दिएर सोहीअनुसार योजना सञ्चालन भइरहेको केन्द्र प्रमुख चौधरीले बताए ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?