+
+

नवौं राष्ट्रिय खेलकुद यो वर्ष पनि नहुने !

अहिलेसम्म कार्यविधिलगायत प्रशासनिक काम सुरु नहुनु, नयाँ मिति घोषणा, लोगो/मस्कट सार्वजनिक नगरिनु, जिल्लादेखि नै हुनुपर्ने खेलाडी छनोटको काम सुरु नहुनुले यो वर्ष नै आयोजना हुने सम्भावना टर्दैै गएको छ ।

कुशल तिमल्सिना कुशल तिमल्सिना
२०७८ फागुन ८ गते २१:०३
नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता हुने तय भएको पोखरा रंगशाला ।

८ फागुन, काठमाडौं । राष्ट्रिय खेलकुद परिषद (राखेप) मा सरकारी हस्तक्षेप र अदालती चक्करका कारण नवौं राष्ट्रिय खेलकुद यो वर्ष पनि नहुने लगभग निश्चित भएको छ ।

प्रतियोगिता तयारीको प्रारम्भिक प्रक्रिया नै सुरु नभएको अवस्थामा युवा तथा खेलकुद मन्त्रालय र राखेपले भने यही वर्ष नै प्रतियोगिता आयोजना गर्ने दावी छाडेका छैनन् ।

२०७६ वैशाखमा लुम्बिनी प्रदेशमा भएको आठौं राष्ट्रिय खेलकुदको समापन समारोहमा अर्को संस्करण दुई वर्षपछि गण्डकी प्रदेशले आयोजना गर्ने घोषणा गरिएको थियो । तत्कालीन पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका कार्यवाहक अध्यक्ष सम्पन्न श्रेष्ठ आयोजनाको झण्डा बोकेर पोखरा फर्किएका थिए । २०७७ फागुन २० का लागि निर्धारित समय कोरोना महामारीका कारण भन्दै एक वर्षका लागि सारिएको हो ।

राखेपले राष्ट्रिय खेलकुदका पछिल्ला दुई संस्करण नियमित आयोजना गरी सकारात्मक सन्देश दिएको थियो । त्यसयता कोरोना महामारी, नयाँ खेलकुद ऐनको कार्यान्वयनको सकस, राखेप सदस्य सचिवमा सरकारी हस्तक्षेप र त्यसपछिको अदालतमा पुगेको विवादका कारण राष्ट्रिय खेल आयोजना सर्दै गएको छ ।

सरकारले फागुनमा सम्भव नभएपछि चैतको तेस्रो सातासम्ममा नवौ राष्ट्रिय खेलकुद प्रतियोगिता गर्ने तयारी गरेको छ । तर, अहिलेसम्म कार्यविधिलगायत प्रशासनिक काम सुरु नहुनु, नयाँ मिति घोषणा, लोगो/मस्कट सार्वजनिक नगरिनु, जिल्लादेखि नै हुनुपर्ने खेलाडी छनोटको काम सुरु नहुनुले यो वर्ष नै आयोजना हुने सम्भावना टर्दैै गएको छ ।

यो वर्ष आयोजना सम्भव नभएमा २०७९ वैशाख ३० गते स्थानीय तहको निर्वाचन तोकिएको छ । जेठ महिनादेखि मनसुन सुरु हुँदा खेल प्रभावित हुनसक्ने देखिएको छ । पोखरा देशमै सबैभन्दा धेरै वर्षा हुने ठाउँ हो । आगामी सेप्टेम्बरमा चीनमा आयोजना हुने १९औं एसियाली खेलकुदका लागि राष्ट्रिय टोलीको छनोटका लागि पनि नवौं खेलकुदको यथाशीघ्र गर्नुपर्ने बाध्यता छ ।

अहिलेसम्म कार्यविधिलगायत प्रशासनिक काम सुरु नहुनु, नयाँ मिति घोषणा, लोगो/मस्कट सार्वजनिक नगरिनु, जिल्लादेखि नै हुनुपर्ने खेलाडी छनोटको काम सुरु नहुनुले यो वर्ष नै आयोजना हुने सम्भावना टर्दैै गएको छ ।

हाल राखेपको बोर्ड सदस्य रहेका पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका तत्कालिन कार्यवाहक अध्यक्ष सम्पन्न श्रेष्ठले गण्डकी प्रदेशमा सम्पूर्ण पूर्वाधार निर्माण नभएसम्म राष्ट्रिय खेलकुद हुन नसक्ने दावी गरेका छन् ।

‘विगतमा राष्ट्रिय प्रतियोगिता हतार–हतार आयोजना गरेर आलटालमै टुंग्याउने परिपाटी छ । यसको गम्भीरतालाई हेरेर माहोल निर्माण गरी आयोजना गर्न यो वर्षभित्र सम्भव छैन । केही व्यक्तिको निहित स्वार्थ पूरा गर्नका लागि प्रतियोगिता गर्नुले खेलको विकास हुँदैन’ उनले भने ।

राखेपले गण्डकी प्रदेशका सबै जिल्लाले अपनत्व महसुस गर्ने गरी नवौं खेलकुद आयोजना गर्ने योजना बनाएको थियो । यो भनेको सम्भव भएसम्म सबै जिल्लामा प्रतियोगिताका खेलहरु आयोजना गर्ने भन्ने हो ।

स्थानीय आयोजक गण्डकी प्रदेश खेलकुद विकास परिषदका अनुसार पौडी, सुटिङ र हक्कीबाहेकका पूर्वाधार तयार अवस्थामा छन् । पौडी र सुटिङका लागि दुई वर्षदेखि वजेट विनियोजन भए पनि संरचना निर्माण सुरु भएको छैन ।

‘यो वर्ष आयोजना हुने सम्भावना धेरै साँघुरो हुँदै गएको छ । अहिलेसम्म आयोजनाको प्राविधिक कामहरु सुरु भएका छैनन् । केन्द्रीय सरकारले निर्णय गरेको अवस्थामा हामी प्रतियोगिताका खेल आयोजना गर्न चाहिं तयार छौं,’ गण्डकी प्रदेश खेलकुद विकास परिषदका सदस्यसचिव तेजबहादुर गुरुङले अनलाइनखबरसँग भने, ‘राष्ट्रिय खेलमा ३६/३७ वटा खेलहरु हुन्छन् । सुटिङ र पौडीबाहेक अरु सबै खेलका लागि हामी तयार छौं । केन्द्रीय सरकार र राखेपले मिति घोषणा गरेर निर्देशन दिँदा हामी तयार छौं भनेर सन्देश दिन चाहन्छौं ।’

सदस्य सचिव गुरुङले नजिकिँदो एसियाली खेलकुदलाई ध्यानमा राखेर पनि छिटो प्रतियोगिता आयोजना गर्नुपर्ने आवश्यकता औंल्याए । उनले थपे, ‘हामीले अहिलेसम्म प्रारम्भिक छनोटको प्रक्रिया सुरु गरेका छैनौं । तर, वैकल्पिक उपाय खोजेर खेलाडी छनोटको प्रक्रिया छोट्याएर भए पनि राष्ट्रिय खेलकुद आयोजना गर्नुपर्ने देखिन्छ ।’

राष्ट्रिय खेलकुदको सुरुवाती संकल्प भनेको देशभरबाट प्रतिभा पहिचान गरी उनीहरुलाई राष्ट्रिय हुँदै अन्तर्राष्ट्रिय स्तरमा पहिचान दिलाउनु हो । देश संघीय संरचनामा गइसकेपछि स्थानीय तहदेखि नै राष्ट्रिय खेलकुदको माहोल सिर्जना गर्नुपर्ने आवश्यकतालाई सरकारले नजरअन्दाज गर्न लागको राखेप बोर्ड सदस्य श्रेष्ठले बताए ।

‘देशमा तीन तहको सरकार छ । राष्ट्रिय खेलकुदको महाउत्सवमा तीनै तहका सरकार र जनताले अपनत्व महसुस गर्न सकेमात्र यसले सार्थकता पाउँछ । तीनै तहसँगको सहकार्य नगरी राष्ट्रिय खेलकुद कसरी आयोजना हुन्छ ?,’ श्रेष्ठले प्रतिप्रश्न गरे ।

राखेप र मन्त्रालय भन्छ– चैतमा नभए जेठ पहिलो साता

अघिल्लो साताको विहीबार राखेपका कर्मचारी कुलबहादुर थापाले निमित्त सदस्यसचिवको जिम्मेवारी पाएपछि नवौं खेलकुदको तयारीबारे छलफल सुरु भएको छ ।

थापाले आफ्नो नियुक्तिलगत्तै राखेप कार्यकारी समितिको बैठक बस्नेदेखि राष्ट्रिय खेलसंघ, विभागीय टोली र विभागीय प्रमुखहरुसँग छलफल तथा प्रतियोगिताका लागि बजेट खाकाको काम सुरु गरेको बताएका छन् । उनले राष्ट्रिय खेल संघहरुलाई नै खेलाडी छनोटको जिम्मा दिने गरी फाष्ट ट्र्याकमार्फत चैतमै प्रतियोगिता आयोजना गर्ने दावी गरेका छन् ।

‘धेरैजसो खेलाडी विभागीय टिममा छन् । चुनाव नजिकिँदो भएको हुनाले उनीहरुसँगको राय अनिवार्य रहन्छ । अनौपचारिक कुराकानी हुँदा राष्ट्रिय खेल संघहरुले यो अवधिमा खेलाडी छनोट सम्भव छ भनेका छन् । बजेटका लागि खाका तयार गर्न लगाएका छौं,’ निमित्त सदस्य सचिव थापाले अनलाइनखबरसँग भने, ‘सरोकारवाला सबैसँग छलफल गरेर १/२ दिनभित्रै मिति घोषणा गर्नेछौं । हाम्रो लागि यो प्रतियोगिता यही वर्षभित्र आयोजना हुनु एकदमै जरुरी छ ।’

उनले समय अभावका कारण यसपल्ट खेलाडी छनोट प्रक्रिया छोटो हुने दावी गरे । ‘चैतको २० गतेदेखि आयोजना गर्ने हाम्रो लक्ष्य हो । खेलाडी छनोट प्रक्रियाका लागि खेल संघ र प्रदेश खेलकुद परिषदसँग यो साताभित्रै छलफल गर्दैछौं,’ उनले थपे, ‘राखेपको तालिम तथा प्रशिक्षक विभागले केही दिनभित्रै खेलाडी छनोटको समय र मापदण्ड तयार गर्नेछ ।’

थपाले आठौैं राष्ट्रिय खेलकुदम भन्दा कम नहुने गरी खेल संख्या निर्धारण गर्ने बताए । लुम्बिनी प्रदेशमा आयोजित आठौं खेलकुदमा ३५ खेलका स्पर्धा समावेश गरिएको थियो । त्यतिबेला जिल्लास्तरदेखि खेलाडी छनोटका लागि तीन महिनाको समय लागेको थियो ।

युवा तथा खेलकुद मन्त्रालयका सचिव डा. दामोदर रेग्मीले राखेपमा कार्यकारी नेतृत्वको रिक्तताका कारण फागुनमा प्रतियोगिता आयोजना सम्भव नभए पनि चैत तेस्रो साता र त्यतिबेला नभए जेठ पहिलो साता आयोजना गर्ने गरी राखेपसँग समन्वय भइरहेको बताए ।

‘सदस्य सचिवको रिक्तताका कारणले हामीले फागुनमा आयोजना गर्न सकेनौं । अहिले निमित्तको जिम्मा दिएपछि पटक पटक कार्यकारी समिति र विभागीय प्रमुखसँग छलफल गरिरहेका छौं । बजेटको स्रोत व्यवस्थापन र स्थानीय आयोजकसँग पनि समन्वय भइरहेको छ,’ डा. रेग्मीले भने, ‘चैत अन्तिममा आयोजना गर्ने तयारी छ । त्यतिबेला सम्भव नभए जेठमा गर्नुपर्छ । चुनावका कारण वैशाखमा सम्भव हुँदैन ।’ उनले आठौं राष्ट्रिय खेलकुदका कार्यविधि र निर्देशिकालाई टेकेर आवश्यक परिमार्जनसहित नवौं खेलकुद गर्ने बताए ।

गत कात्तिक १ मा मन्त्रिपरिषदले रमेशकुमार सिलवाललाई बर्खास्त गरी मंसिर ११ गते टंकलाल घिसिङलाई नयाँ नियुक्त गरेको थियो । सिलवालले आफ्नो बर्खास्ती र नयाँ नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा दायर गरेको रिटमा मंसिर ३० गते आएको अल्पकालीन अन्तरिम आदेशपछि राखेप कार्यकारी नेतृत्वविहीन अवस्थामा पुगेको हो । त्यसयता यो विवाद दुईपटक पेशीमा चढेर ‘हेर्न नभ्याइने’मा प¥यो भने दुई पटक नै पेशीमै नचढी स्थगित भएको छ ।

प्रदेशसँग समन्वय छैन

अघिल्लो वर्ष जारी भएको राष्ट्रिय खेलकुद विकास ऐन–२०७७ अनुसार खेलकुदमा पनि संघीयता अनुसार तीन तहको संरचना छ । केन्द्रीय संरचनाले प्रदेशसँग र प्रदेशले जिल्ला र स्थानीय तहसँग समन्वय गर्नेछन् । नियमावली बन्न भइरहेको ढिलाइले तीनै तहबीच कार्यगत तालमेल हुन सकेको छैन ।

नवौं राष्ट्रिय खेलकुद आयोजनाको हकमा पनि राखेपबाट अहिलेसम्म प्रदेश खेलकुद परिषदहरुसँग छलफल र समन्वय भएको छैन । जबकी खेलाडी छनोटका लागि प्रदेशमार्फत जिल्लास्तरमा पुग्नुपर्ने हुन्छ ।

‘नवौंका लागि मात्र होइन स्थापना भएयता अहिलेसम्म खेलकद परिषदबाट प्रदेशसँग समन्वयको सुरुवात भएको छैन । पुरानो कार्यविधिले अहिले काम गर्न धेरै अप्ठेरो छ । नवौं राष्ट्रियको निर्देशिका पनि अझै पूरा भएको छैन,’ बागमती प्रदेश खेलकुद विकास परिषदका सदस्यसचिव सूर्य भण्डारीले अनलाइनखबरसँग भने, ‘जिल्ला संरचना प्रदेश मातहत छन् । खेलाडी छनोटका लागि अहिलेसम्म औपचारिक निर्देशन वा अनुरोध आएको छैन ।

भण्डारीका अनुसार कार्यविधि बनाएर संघहरुलाई नै खेलाडी छनोट गर्न दिने हो भने पनि ऐन कार्यान्वयनमा भएको ढिलाइले गर्दा धेरैजसो संघहरु कानूनतः अवैधानिक भइसकेका छन् । कतिपय संघहरु नवीकरण भएका छैनन् र धेरै संघमा कार्यसमितिको पदावधि सकिएका छन् । जसकारण संघले सरकारी बजेट पाउन मुश्किल छ ।

दशौं राष्ट्रिय खेलकुद आयोजना हुने प्रदेश कर्णालीका सदस्यसचिव विश्वामित्र सञ्ज्यालले पनि नवौं खेलकुदबारे केन्द्रबाट कुनै समन्वय नभएको प्रष्ट पारे । उनले यो वर्षमात्र होइन अर्को वर्षको असोजयता नवौं खेलकुदको आयोजना असम्भव रहेको दावी गरे ।

‘हामीलाई केन्द्रबाट कुनै जानकारी नभए पनि प्रदेशस्तरमा नवौंको तयारीका लागि बजेट विनियोजन गरी प्रशिक्षण गरिरहेका छौं । तर नवौंको आयोजना अहिले सम्भव देख्दिनँ,’ राखेपका पूर्व कर्मचारीसमेत रहेका उनले विगतको अनुभव सुनाउँदै भने, ‘चुनावको माहोल सुरु भइसकेको छ र अहिलेसम्म कुनै पनि सर्कुलर छैन ।’

हाल परिषदको बोर्ड बैठक बस्न सकेको छैन । खेलाडी छनोट र प्रशासनिक काममा कम्तीमा तीन महिना तयारीकै लागि लाग्छ । ‘गर्नकै लागि गर्ने हो भने त जहिले गरे पनि भयो, जिल्लादेखि नै माहोल बनाएर गर्ने हो भने सम्भव छैन’ सञ्ज्यालले भने ।

शरदचन्द्र साह राखेप सदस्यसचिव हुँदा हरेक दुई वर्ष आयोजना गर्ने गरी २०३८ सालदेखि सुरु भएको राष्ट्रिय खेलकुद प्रतियोगिता सुरुवाती तीन संस्करण पूर्व निर्धारित मितिमै आयोजना भयो ।

त्यसपछि चौथो संस्करण २०५४, पाँचौं संस्करण २०६५ र छैटौं संस्करण २०६८ मा आयोजना भएको थियो । सातौं र आठौं क्रमशः २०७३ र २०७५/०७६ मा आयोजना हुँदा पुनः लयमा फर्किएको अनुभव खेलाडीले गरेका थिए ।

लेखकको बारेमा
कुशल तिमल्सिना

तिमल्सिना अनलाइनखबरका खेलकुद संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?