
८ फागुन, काठमाडौ । पूर्व प्रधानन्यायाधीश कल्याण श्रेष्ठले मुलुकमा संविधानले प्रत्याभूत गरेका व्यवस्थाहरुबाट जनताले के के पाए भनेर पुनरावलोकन गर्नुपर्ने बेला भएको बताएका छन् । आइतबार आफ्नै निवासमा वर्तमान स्थिति र संवैधानिक अवस्थामाथि बोल्दै पूर्व प्रधानन्यायाधीश श्रेष्ठले सो कुरा बताएका हुन् ।
जनताको आय, जीवनस्तर, रोजगारी, सुरक्षा, न्यायको पहुँच र मुलुकमा बसिरहुँ भन्ने अनुभूति जगाउनमा वर्तमान संविधान जारी भएयता कुनै सुधार नभएको भन्दै पूर्व प्रधानन्यायाधीश श्रेष्ठले मुलुक अहिले संसद अवरुद्ध गरेर चुनावको माग गर्ने विरोधाभासपूर्ण अवस्थामा रहेको बताएका छन् । ‘यसको अर्थ संविधानमाथि हाम्रो स्वामित्व कमजोर भइरहेको छ’, पूर्व प्रधानन्यायाधीश श्रेष्ठले भने ।
श्रेष्ठले थपे, ‘यथास्थितिमा यो संविधान अगाडि बढ्न मुश्किल छ, तत्काल यसलाई जनता सापेक्ष बनाउन पनि पुनरावलोकन गर्नु जरुरी छ । यदि यसो गरिएन भने जतिसुकै अर्कमण्य वा वेथितीलाई पनि जनताले सहनु पर्छ भन्ने कुरामा म चाहिँ विश्वास गर्दिन ।’
पूर्व प्रधानन्यायाधीश श्रेष्ठका विचारमा, यो संविधानले गर्न नसकेका कुराहरुमा अव पुनरावलोकन थाल्नुपर्छ । ‘यदि लुगा थोरै च्यातिएका बेला सिउन खोजिएन भने त्यो लुगा पुरै फाल्नु पर्ने अवस्था आउँछ । विगतका संविधानले यस्तै नियती भोगेर आएका हुनाले यो पटक पनि त्यस्तो नहोस भन्ने मलाइ लाग्छ’ उनी भन्छन् ।
जनताको आयमा, जीवन स्तरमा, रोगजारीमा, शिक्षा र स्वास्थ्यमा सुधार ल्याउँदैन भने पदाधिकारी र संस्था खडा गर्न मात्रै किन चुनाव गर्ने भन्ने प्रश्न उठाउँदै पूर्व प्रधानन्यायाधीश श्रेष्ठले भने, ‘चुनाव जनताको आकाक्षा संवोधन गर्ने उद्देश्यले हुनुपर्छ ।’
स्थानीय तहमा राजनीतिक दलहरुलाई एउटै चुनाव चिह्न लिएर चुनाव लड्न नदिइएको प्रति असन्तुष्टि जनाउँदै पूर्व प्रधानन्यायाधीश श्रेष्ठले भने, ‘यो त मुलुकमा नयाँ राजनीतिक शक्तिको उदय नै नहोस् भन्ने चिन्तन भयो । यो गलत छ ।’
प्रतिक्रिया 4