
९ फागुन, काठमाडौं । फागुन १३ गते रिलिज हुन लागेको चलचित्र ‘म यस्तो गीत गाउँछु २’को नयाँ गीत सार्वजनिक गरिएको छ । यो चलचित्रमा समावेश ‘चुपचाप जिन्दगी’ बोलको गीतको लिरिकल भिडियो सार्वजनिक गरिएको हो ।
यो गीतमा सुरेश लामा र अस्मिता अधिकारीको स्वर, अर्जुन पोखरेलको शब्द तथा संगीत छ । चलचित्रको लिरिकल भिडियो मात्र सार्वजनिक गर्नुको कारणबारे निर्देशक सुदर्शन थापाले भने, ‘यो गीतको भिडियोमा कथा लुकेको छ । यसैले पनि हामीले पूरा भिडियो सार्वजनिक नगरेका हौं । भिडियोका लागि दर्शकले चलचित्र नै हेर्नुपर्नेछ ।’
चलचित्रमा सौरभ लामाको छायांकन, रामजी लामिछानेको कोरियोग्राफी, शिवम् अधिकारी र दिनेश न्यौपानेको पटकथा, सुदर्शन थापाको कथा, बनिष शाह र मिलन श्रेष्ठको सम्पादन छ ।
पूजा शर्मा र सुदर्शन थापा निर्माता रहेको चलचित्रमा जन्मजय साम्पाङ राई सहनिर्माताको रुपमा छन् । चलचित्रलाई सुदर्शन थापाले निर्देशन गरेका हुन् ।
प्रतिक्रिया 4