+
+

फ्रान्समा कम्युनिष्ट पार्टीका राष्ट्रपतीय उम्मेदवारमाथि ५ वर्षसम्म ढाँटेर सरकारी तलब खाएको आरोप

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन १० गते १७:०४

१० फागुन, काठमाडौं । फ्रान्समा कम्युनिष्ट पार्टीका राष्ट्रपतीय उम्मेदवारमाथि ५ वर्षसम्म ढाँटेर तलब खाएको आरोप लागेको छ ।

आउँदो अप्रिलमा हुन लागेको राष्ट्रपतीय निर्वाचनमा फ्रान्सको कम्युनिष्ट पार्टीको तर्फबाट उम्मेदवार बनेका फेबियन रुसेलमाथि नक्कली जागिरका लागि ५ वर्षसम्म सरकारी कोषबाट तलब खाएको आरोप लागेको हो ।

आइतबार फ्रान्सको खोजमूलक न्युज साइट मिडियापार्टले सन् २००९ देखि २०१४ सम्म रुसेलले संसदीय सहायकको रुपमा सरकारी तलब लिँदै आएको समाचार लेखेको थियो । तर, उनले तलब लिएको भए पनि सो पदमा बसेर काम गरेको प्रमाण नदिएपछि जागिरबिनै तलब खाएको भन्दै समाचार प्रकाशित भएको हो ।

समाचार अनुसार पूर्वपत्रकार समेत रहेका रुसेलले सांसद जाँ ज्याक सान्डेलियरको कार्यालयमा सहायक भई काम गरे बापत सरकारी तलब खाँदै आएका थिए ।

मिडियापार्टले रुसेललाई सो पदमा बसेर काम गरेको प्रमाणित गर्ने कागजात, ईमेल वा लिखित सन्देश उपलब्ध गराउन भनेको थियो । तर, १० दिनसम्म पनि प्रमाण नदिएपछि आइतबार उनले नक्कली जागिरका लागि सरकारी कोषबाट तलब खाएको आशंका व्यक्त गर्दै समाचार प्रकाशित भएको थियो ।

रुसेलले भने सोमबार उक्त समाचारको खण्डन गर्दै संसदीय सहायक भएर काम गरेका कागजात आफूसँग भएको दाबी गरेका छन् । ‘सान्डेलियरसँग ५ वर्षसम्म काम गरेको थिएँ, उहाँसँगै अन्य सहकर्मीसँग काम गरेको हुँ’, उनलाई उध्दृत गर्दै फ्रान्स२४ ले लेखेको छ, ‘ सान्डेलियर र अन्य सहकर्मीहरूसँगै गरेको कामको साक्षी बन्न सक्छन् ।’

सान्डेलियरले समेत एक विज्ञप्तिमार्फत् रुसेलमाथि लागेको आरोपबाट ‘चकित एवं क्रुद्ध’ बनेको बताए । रुसेल आफ्नो मूल्यवान र राम्रो सहयोगी रहेको पनि उनको भनाइ थियो ।

रुसेल सन् २००७ यता राष्ट्रपतीय निर्वाचनमा प्रतिस्पर्धा गर्न लागेका कम्युनिष्ट पार्टीका पहिलो उम्मेदवार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?