+
+

नेपाल विश्वकपका लागि साँच्चै तयार थियो ?

कुशल तिमल्सिना गोविन्दराज नेपाल कुशल तिमल्सिना, गोविन्दराज नेपाल
२०७८ फागुन १० गते २१:४०

१० फागुन, काठमाडौं । युएईसँग पराजित भएपछि नेपालले ८ महिनापछि अस्ट्रेलियामा हुने आईसीसी टी–२० विश्वकपमा छनोट हुन असफल भएको छ ।

ग्लोबल क्वालिफायर ‘ए’को समूह चरणमा निकालेको शतप्रतिशत जितले हौसिएको नेपाली टोलीले सेमिफाइनलमा यूएईबाट १७६ रनको लक्ष्य पाएको थियो । यो लक्ष्य भेट्टाएको भए नेपाल विश्वकपमा पुग्थ्यो । तर ८ बल बाँकी छँदा १०७ रनमा अलआउट भएपछि नेपालको विश्वकप खेल्ने सपना अधुरै रह्यो ।

आठ वर्षको अन्तरमा दोस्रोपल्ट टी–२० विश्वकप खेल्ने सपनाको संघारमै पुगेर फिर्ता हुनु दुःखद हो । तर जुन धरातलमा नेपाली टोली विश्वकप छनोट खेल्न गएको थियो र अरु टिमले जसरी तयारी गरेका थिए, त्यस आधारमा नेपाल विश्वकपमा छनोट हुन सक्ने गरी तयार थियो त भन्ने प्रश्न उठ्छ ।

पूर्वकप्तान पवन अग्रवाल भन्छन्, ‘यो असफलताका पछाडि मैदानबाहिरका कारणहरु नै प्रमुख छन् ।’

राष्ट्रिय टिमको स्तरवृद्धिका लागि मैदानभित्र र बाहिरबाट धेरै तत्वहरु मिश्रण हुनुपर्छ । घरेलु क्रिकेटको संरचना, पूर्वाधार विकास, खेलाडीको सुविधा, ग्रासरुट कार्यक्रम, नियमित अन्तर्राष्ट्रिय प्रतियोगिताको अवसरमा सरकारको प्राथमिकता र नियमनकारी निकाय (नेपाल क्रिकेट संंघ) को सक्रियताले धेरै अर्थ राख्छ ।

सन् २०१४ मा विश्वकप खेलेपछि अन्तर्राष्ट्रियरुपमा ध्यान आकर्षित गरेको नेपाली क्रिकेटले त्यसबाट फाइदा लिनुपर्ने थियो । तर उल्टै स्वार्थ समूहको चलखेल र आन्तरिक विवादमा सरकारी हस्तक्षेप हुँदा सन् २०१६ अप्रिलमा अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी)बाट निलम्बित हुनुपर्ने स्थितिसम्म आयो । राष्ट्रिय टोलीलाई अन्तर्राष्ट्रिय सहभागिताबाट बञ्चित नगरिए पनि नेपाली क्रिकेटको संरचनात्मक विकासलाई यो निलम्बनले धेरै वर्ष पछाडि धकेलिदियो ।

सन् २०१८ मा एक दिवशीय अन्तर्राष्ट्रिय मान्यता पाएपछिको अवसरलाई पनि नेपालले उपयोग गर्न सकेन । पूर्वकप्तान अग्रवाल भन्छन्, ‘ नेपाली क्रिकेटको संरचना १५ वर्ष अगाडिकै स्तरमा छ । छिटपुट रुपमा आएका नतिजाबाट उत्साहित हुन्छौं तर, ठूलो छलाङका लागि त्यही संरचनागत विकास बाधक बनेको बुझेका छैनौं ।’

सन् २०११ पछिको तीन वर्ष डिभिजन चारदेखि दुईसम्मको यात्रामा नेपालले स्वर्णिम सफलता हासिल गरेको थियो । त्यही लयलाई टेकेर ६ टोली छनोट हुने ग्लोबल क्वालिफायरमा तेस्रो भएको नेपाल २०१४ मा पहिलो पटक विश्वकप खेल्न बंगलादेश पुग्यो । तर ९ वर्षअघिको क्रिकेट संरचना र एसोसियट टोलीबीचको प्रतिस्पर्धा स्तर अहिलेभन्दा धेरै फरक थियो ।

‘विश्वकप खेलेपछि हामीसँग अन्तर्राष्ट्रिय लगानीको स्रोत जुटाउने अवसर थियो । विदेशी सहायतालाई राष्ट्रिय टोलीको स्तरोन्नत्ति र पूर्वाधार विकासमा उपयोग गर्न सकेको भए नतिजाको आशा गर्न सकिन्थ्यो,’ पूर्व कप्तान अग्रवाल अनलाइनखबरसँग भन्छन्, ‘अहिले क्रिकेट संघको काम भनेको अन्तर्राष्ट्रिय प्रतियोगिताअघि २०/३० जनालाई क्याम्पमा बोलाउने, टिम छान्ने र पठाउनेबाहेक केही छैन । दीर्घकालीन योजना बनेकै छैन ।’

वरीयता क्रमका आधारमा सिधै ग्लोबल क्वालिफायरमा पुगेको नेपालले पछिल्लो दुई वर्षको बीचमा दुईवटामात्र अन्तर्राष्ट्रिय शृंखला खेलेको छ । गत वैशाखमा नेदरल्याण्ड्स र मलेसियालाई आमन्त्रण गरी आयोजना गरिएको त्रिकोणात्मक श्रृंखला खेलेको नेपालले ग्लोबल क्वालिफायरअघि ओमानमै अघिल्लो साता चारदेशीय शृंखला खेलेको थियो ।

त्यसमाथि यो पटक विश्वकप छनोट खेल्न जानुअघि नेपाली टोली निकै ठूलो संकटमा थियो । वर्गीकरणलाई लिएर सुरु भएको विवादमा नेपाल क्रिकेट संघले तत्कालीन कप्तान ज्ञानेन्द्र मल्ल र उपकप्तान दीपेन्द्रसिंह ऐरीसहित चार खेलाडीलाई कारबाही मात्र गरेन, सन्दीप लामिछानेलाई नयाँ कप्तान घोषणा गर्‍यो । राष्ट्रिय टोलीका सदस्यहरु कारबाहीमा परेका खेलाडीहरु र नयाँ कस्तानको पक्षमा बाँडिए । त्यही कारण बन्द प्रशिक्षण समयमा हुन सकेन ।

एक डेढ महिना यही विवादमा रुमल्लिएको नेपाल क्रिकेट संघले कारबाही फिर्ता लिएर खेलाडीहरुलाई मैदानमा त फर्कायो, तर त्यसैले टिममा पर्याप्त असर गरिसकेको थियो ।

खेलाडी विवादमात्र होइन, क्यानले ग्लोबल क्वालिफायरका लागि विशेष प्राथमिकता र तयारीमा समय खर्चिएको पनि देखिएन । भदौमा डेभ ह्वाटमोरले मुख्य प्रशिक्षकबाट राजीनामा दिएपछि नयाँ प्रशिक्षक नियुक्त गर्न करिव चार महिनाको समय लाग्यो ।

प्रतियोगिताको सन्मुखमा पूर्व प्रशिक्षक पुवुदु दासानायकेले जिम्मेवारी पाए । तर लामो समयपछि नेपाली टोलीको जिम्मेबारी फर्किएका उनले ग्लोबल क्वालिफायर लक्षित विशेष योजना बनाउनै भ्याएनन् ।

यही प्रतियोगिताका लागि भनेर ओमान जानु एक साताअघि मात्र नेपालले फिल्डिङ सल्लाहकार प्रशिक्षक रघुराम श्रीनिवासनलाई नियुक्त गरेको थियो । बलिङ सल्लाहकार प्रशिक्षकका रुपमा नियुक्ति पाएका श्रीलंकाली धम्मिका प्रसाद त नेपाल आउनै भ्याएनन् । उनी श्रीलंकाबाट सिधै ओमान पुगेका थिए । समय घर्किसकेपछि नियुक्त भएका उनीहरुले मैदानमा नतिजा देखिने गरी काम गर्ने अवस्था रहेन ।

चोटका कारण प्रमुख बलर सोमपाल कामी टिममा थिएनन् । अनुभवी खेलाडीहरु करण केसी र शरद भेषावकर ओमान भ्रमणमा रहे पनि अन्तिम समयमा चोटका कारण टिमबाट बाहिरिनुपर्‍यो । उनीहरुका स्थानमा टिममा प्रवेश पाएका लोकेश बम, विवेक यादव र गुल्सन झाले यसअघि यस्तो दबाबपूर्ण खेल झेल्नुपरेको थिएन, त्यसैले उनीहरुले अपेक्षाअनुसार प्रदर्शन गर्न सकेनन् ।

यो नतिजाका पछाडि थुप्रै कारणले पनि भूमिका खेलेको हुनसक्ने पूर्वकप्तान अग्रवालको विश्लेषण छ । ‘कहि‌ं न कहिं त ती कुराहरुले पनि स्वाभाविक रुपमा भूमिका खेलेको हुन्छ । क्रिकेटभन्दा बाहिरका कुराहरुमा समय व्यतित गर्नुपर्दा खेलमा ध्यान केन्द्रित गर्न कठिन हुन्छ,’ अग्रवालले थपे, ‘अर्धव्यवसायिक क्रिकेट व्यवस्था भएको देशमा मैदान बाहिरका तत्वहरुले धेरै नै असर पुर्‍याएको हुन्छ ।’

राष्ट्रिय टोलीका पूर्वकप्तान तथा क्यानका क्रिकेट म्यानेजर विनोद दासले भने नेपालको सबभन्दा खराब र युएईको सबैभन्दा उत्कृष्ट प्रदर्शन एकै दिन परेको टिप्पणी गरे । उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘हाम्रो सबैभन्दा खराब र युएईको सबैभन्दा उत्कृष्ट प्रदर्शन आज एकैचोटी आयो । तर उत्कृष्ट प्रयासको श्रेय खेलाडीहरुलाई नै जान्छ । हार्मी जहाँ पुग्न चाहन्छौं, त्यसबाट धेरै टाढा छौं । हामीले प्रयास जारी राख्नुपर्छ ।’

कसरी पुगे आयरल्याण्ड र युएई विश्वकपमा ? 

नेपाललाई पन्छाएको युएईसँगै आयरल्याण्ड टी-२० विश्वकपमा लागि छनोट भएको छ । मंगलबार नै भएको अर्को सेमिफाइनलमा आयरल्याण्डले घरेलु राष्ट्र ओमानलाई पराजित गरेर विश्वकपमा स्थान बनाएको हो ।

युरोपेली देश आयरल्याण्ड सातौं पटक र युएई दोस्रो पटक टी-२० विश्वकपमा छनोट भएका हुन् । आयरल्याण्ड र युएईले टी-२० विश्वकपमा पुग्नका लागि तयारी पनि राम्रो गरेका थिए ।

कोभिड-१९ ले गर्दा गत वर्ष अन्तर्राष्ट्रिय क्रिकेट प्रभावित बनेपनि यी दुई टोलीले टी-२० क्वालिफायर अघि विभिन्न श्रृखंलाहरु खेलेका थिए । आयरल्याण्डले केही समय अघि मात्र दुई पटकको टी-२० विश्वकप विजेता वेष्ट इन्डिज विरुद्ध सिरिज जितेको थियो । उसले ओमान जानुअघि गत जनवरीमा वेष्ट इन्डिज भ्रमण गर्दै तीन खेलको टी-२० श्रृखंला खेलेको थियो ।

पहिलो खेलमा वेष्ट इन्डिजसंग २४ रनले पराजित भएको आयरल्याण्डले दोस्रो खेल ५ विकेट र तेस्रो खेल २ विकेटले जितेको थियो । त्यसअघि आयरल्याण्डले जमाइकासँग पनि ५० ओभरको खेल खेलेको थियो । त्यसमा भने आयरल्याण्ड पराजित भएको थियो । त्यसअघि डिसेम्बरमा आयरल्याण्डले अमेरिका भ्रमण गरेको थियो । अमेरिकाविरुद्ध दुई खेलको टी-२० श्रृखंला आयरल्याण्डले जितेको थियो । एकदिवसीय श्रृंखला भने स्थगित भएको थियो ।

आयरल्याण्डले गत अक्टोबरमा युएई र ओमानमा भएको टी-२० विश्वकप समेत खेलेको थियो । त्यसअघि युएईसँग श्रृखंला समेत खेलेको थियो । टेष्ट राष्ट्रको हैसियतमा रहेको आयरल्याण्डले दुई देश र तीन देश सम्मिलित विभिन्न श्रृङ्खलाहरु खेल्दै आएको छ । यसबाट पनि आईरिस खेलाडीले राम्रो एक्सपोजर पाइरहेका छन् ।

ग्लोबल क्वालिफायरअघि ओमानमै भएको चारदेशीय टी-२० सिरिजमा आयरल्याण्डले ओमानलाई सहजै हराउँदा युएईसंग भने १३ रनले पराजित भएको थियो । त्यसपछि नेपाल विरुद्ध १२७ रन मात्र बनाएर पनि आयरल्याण्डले स्कोर रक्षा गर्दै जित हात पारेको थियो । ठूला टिमसँगको निरन्तरको खेलले खेलाडीलाई दबाबमा कसरी खेल्ने र कुन अवस्थामा कसरी खेल्नुपर्छ भन्ने पाठ सिकाउँछ । आयरल्याण्डले खेलेका धेरै श्रृङ्खलाहरुले उसका खेलाडीलाई मानसिक रुपमा बलियो बनाएको थियो ।

युएईले पनि टी-२० क्वालिफायरअघि राम्रै तयारी गरेको थियो । क्वालिफारअघि ओमानमै पुगेर युएईले आईसीसी विश्वकप लिग २ को तीन खेल खेलेको थियो, जहाँ दुई खेलमा युएईले ओमानलाई पराजित गरेको थियो भने एक खेल बराबरी भएको थियो ।

यस्तै चारदेशीय सिरिजमा पनि युएईले नेपाल र ओमानलाई पराजित गर्दै आफू तयारी अवस्थामा रहेको संकेत गरेको थियो । त्यसपछि युएई सिरिजको अन्तिम खेलमा ओमानसँग पराजित भएको थियो । तर क्वालिफायरको समूहको पहिलो खेलमै युएईले आयरल्याण्डलाई हराएर विपक्षीलाई चुनौती दिएको थियो । समूहको अन्तिम खेलमा बहराइनसँग २ रनले पराजित भएपनि सेमिफाइनल जस्तो महत्वपूर्ण खेलमा युएईले एकरुपताको प्रदर्शन गर्‍यो । युएईले गत वर्ष जनवरीमा पनि आयरल्याण्डलाई पराजित गरेको थियो ।

आयरल्याण्ड र युएईले टी-२० विश्वकपमा स्थान बनाउँदा उनीहरुको घरेलु संरचना टिमले पाएको एक्सपोजर र ठूलो प्रतियोगितामा गरेको तयारी महत्वपूर्ण बन्यो, जुन नेपाल जस्तो देशको लागि महत्वपूर्ण सिकाइत हुनसक्छ ।

सन् २००७ मा भएको पहिलो संस्करणको टी-२० विश्वकपमा छनोट हुन नसकेको आयरल्याण्डले त्यसयता हरेक टी-२० विश्वकप छनोट चरण पार गरेर नै खेलिरहेको छ । आयरल्याण्डका खेलाडीहरु विश्वस्तरमा समेत राम्रो प्रदर्शन गर्न सक्ने खालका छन् ।

अर्कोतर्फ युएईको घरेलु संरचना उत्कृष्ट छ । पछिल्लो समय युएईको उमेर समूहको टिमले पनि राम्रो प्रदर्शन गरिरहेको छ । केही समयअघि वेष्ट इन्डिजमा भएको आईसीसी यू-१९ विश्वकपमा प्लेट च्याम्पियनसिपको उपाधि जित्दै युएईले इतिहास रचेको थियो । जहाँ युएईको यू-१९ टिमले वेष्ट इन्डिज र आयरल्याण्ड जस्ता टिमलाई समेत हराएको थियो ।

आयरल्याण्ड र युएई जसरी टी-२० विश्वकपमा छनोट भए त्यसका लागि उनीहरु हकदार नै थिए । त्यसका लागि उनीहरुको तयारी पनि राम्रो रह्यो ।

लेखकको बारेमा
कुशल तिमल्सिना

तिमल्सिना अनलाइनखबरका खेलकुद संवाददाता हुन् ।

गोविन्दराज नेपाल

नेपाल अनलाइनखबर डटकमका खेलकुद संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?