+
+

सडक भनेको विकासको पर्याय रहेछ !

ऋषिराम सिग्देल ऋषिराम सिग्देल
२०७८ फागुन ११ गते ८:४२

उच्च शिक्षा अध्ययनको सिलसिलामा जापान सरकारबाट प्राप्त छात्रवृत्तिका लागि पहिलो पटक जापानको विमानस्थलबाट त्यहाँको आवासतर्फ जाँदै गर्दा त्यहाँको विकास देखेर मन्त्रमुग्ध भएका हामी सहपाठीहरूबीच एक किसिमको सन्नाटा नै छाएको थियो। बसका झ्यालबाट एकटकले बाहिरका दृश्यहरूको रसस्वादन गर्दै गर्दाको धेरैबेरको शून्यतालाई चिर्दै एकजना सहकर्मी मित्रले भन्नुभयो, ‘यहाँको सडकमा त खाना पस्किएर दिए पनि निर्धक्क खान सकिने रहेछ।’

साथीले यो कुरा भन्दै गर्दा एकनाश बसको झ्यालबाट नयाँ परिवेश नियालिरहेको मेरो मनले सडकको अनुहार नियाल्न पुग्यो। मस्तिष्कमा एउटा विषयले स्थान लियो कि साँच्ची विकसित देशको सडक सफा पो हुँदोरहेछ। यसका अतिरिक्त मेरो मनमा अर्को कुराले पनि डेरा जमाउन पुग्यो कि कतै सडक नै विकासको प्रतिबिम्ब त हैन? तर यो कुरा प्रमाणित गर्नका लागि धेरै आयामबाट यसलाई केलाउनु पर्ने हुन्थ्यो नै।

विश्वका विद्वानहरूले विकास मापन गर्नका लागि कैयौं सूचकको प्रयोग गर्दै आएको परिप्रेक्ष्यमा केवल सडकको अवस्थालाई मात्र सूचक मानेर विकासका कुरा गर्दा कसले पो स्वीकार गरिदेला र! यी र यस्तै प्रश्नका बीच फेरि मैले आफ्नै देशका सडकहरूको कल्पनामा सयर गरिरहें। त्यतिबेला जापानका सुन्दर दृश्यहरू हराइरहेका थिए किनकि म मेरो काठमाडौंका सडकहरूमा एकाएक विचरण गर्न पुगेको थिएँ। यतिकैमा गन्तव्यमा पुगेपछि लामो यात्राको थकान सँगसँगै हामी आवासतर्फ प्रवेश गर्यौं र आराम गर्न थाल्यौं।

जतिसुकै थकान भए पनि मैले आराम महसुस गर्न सकिरहेको थिइनँ। मेरो मनमा उब्जेका अनगिन्ती सवालले मलाई पछ्याइरहेका थिए। के साँच्चिकै विकसित देशका सडक सफा र अविकसित देशका सडक फोहोर हुने हुन् त? के सडक सम्बन्धी अरू सूचकहरू पनि विकासको स्तर मापन गर्न सक्षम छन्? यति प्रश्न मनमा उब्जिसकेपछि मलाई जापान बसाइको अवधिभर सडक सम्बन्धी सूक्ष्म अध्ययन गर्ने रहर जागेर आयो।

सोचें, विमानस्थलबाट सहरको मुख्य खण्डको सडक भएर यति सफा सुन्दर अनि मनमोहक देखिएको होला। तर फेरि मेरो आफ्नो विमानस्थलदेखि सहरको मुख्य भागकै सडकको सचित्र मानसपटलमा घुमिरह्यो। फोहोरका डंगुरदेखि छाडा चौपायासम्म र सडकपेटीमा वेफ्वाँक गफ चुट्ने रमितेदेखि माग्न बसेका व्यक्तिहरूसम्मका तस्वीर झलझली आँखै वरिपरि घुमिरह्यो। बिहान बिहान घरपालुवा कुकुरलाई सडकमा दिसा गराउने घरानियाँहरूले मेरा मनलाई बेचैन गराइरहे। केही हदसम्म विकसित मुलुकका सडकमा पनि केही कमजोरी भेटिई पो हालिन्छ कि भनेर हरेक दिन बिहान बेलुका सकेसम्म र फेला पारेसम्मका सानाठूला सबै सडकहरूको नजिकबाट नियाल्ने प्रयास गरियो। यो क्रम करिब जापान बसाइको दुईवर्षे अवधिभर जारी नै रह्यो।

त्यहाँका सडकमा जे जति घटना अनुभूत गरिन्थ्यो, नचाहँदा नचाहँदै हाम्रा सडकको नियति तुलना गर्न पुगिन्थ्यो। हाम्रा सडकको हविगत सम्झेर कतिपय अवस्थामा मन अमिलो हुन्थ्यो भने कतिपय अवस्थामा आँखा नै रसिला हुन्थे। नीतिनिर्माता, योजनाकारदेखि राजनीतिका कैयौं हस्तीले जापानको भ्रमण गरे होलान्, तर यहाँबाट के सिक्न सकिन्थ्यो र के सिकियो भन्ने प्रश्नचाहिं अनुत्तरित नै रहे। करिब दुई वर्षको सूक्ष्म अनुभवले सारमा भन्दा विकास मापन गर्नका लागि अन्य सूचकको आवश्यकता नै नपर्ने निष्कर्षमा पुग्ने निर्णय गरियो। यसका लागि मूलभूत रूपमा सडकका निम्न गुणहरूले यो पंक्तिकारलाई सहयोग गरे।

सडकको सरसफाइ

जापानीहरू आफूले सडकमा फोहोर गर्नु त परको कुरा हो, सडकमा कथम् कदाचित कुनै फोहोर देखे भने पनि जो कोहीले आफ्नो झोलामा राखेर विसर्जन गर्दा रहेछन्। रेल स्टेशनहरूमा स्वयंसेवी रूपमा फोहोर संकलन गरेर मानिसहरू बस्दा रहेछन्। सडक सुन्दर र सफा हुनुमा उनीहरू गर्व गर्दा रहेछन्। उनीहरू जंगली जनावर वा पक्षीले गरेका फोहोर पनि स्वयंसेवी रूपमै सफाइ गर्दछन्।

त्यहाँका कुनै पनि सडकमा फोहोर देख्नु भनेको लगभग असम्भव प्राय: नै रहेछ। यता हाम्रा सडक तथा गल्लीमा देखिने फोहोरको कुरा छाडौं, शहरका मुख्य सडकमा दिसा, पिसाब र खकारका थुप्रोले हामी कति सभ्य र विकसित छौं भन्नेमा कुनै शंका रहेन। सडक सफा गर्ने सन्दर्भमा हाम्रो पुस्ता भन्दा हाम्रा पिता पुर्खाको पुस्ता निकै विकसित र सभ्य भएको आभास भयो किनभने उहाँहरूले कम्तीमा वर्षको एकपटक चाडबाडका बेलामा नै भए पनि सडक सफा गर्नुहुन्थ्यो, वरपीपलका बिरूवा सार्नुहुन्थ्यो र सडकमा हिंड्ने बटुवाको सेवा गर्न पाउँदा गर्व महसुस गर्नुहुन्थ्यो।

सडक अनुशासन

हाम्रा पिता पुर्खाले छोरा वा छोरीको विवाह गर्ने बखत केटा वा केटीको घरको शौचालय हेरेर उक्त घर कति सभ्य छ भन्ने सजिलै अनुमान गर्दथे रे! त्यसैगरी कम विकसित मुलुकमा आउने विदेशीहरूले पनि सडक हेरेरै त्यो देशको आर्थिक स्थिति तथा सभ्यताका बारेमा सजिलै आकलन गर्दछन् भन्नेमा कत्ति पनि शंका रहेन। विडम्बना नै भन्नुपर्दछ, सडकलगायतका अन्य सार्वजनिक स्थान सफासुग्घर राख्ने संस्कृतिमा हुर्केका हामी कसरी सडकको यो दुर्दशा बनाउन पुग्यौं

जापानीहरू सडक अनुशासनमा कत्ति पनि सम्झौता गर्दैनन्। एक पटक यो पंक्तिकार कलेज जान हतार भएका कारण सडकमा गाडी नदेखेर ट्राफिक लाइट रातो हुँदाहुँदै सडक पार गरेर गाडी चढेको के थियो चालकले के के पढाए, कसो जापानिज भाषा नबुझेकाले हीनताबोध भएन। तर लज्जित त त्यो बेला भएँ जब यो कुराको ज्ञात भएर मेरो कलेजले सडक अनुशासनको कक्षा नै सञ्चालन गर्यो। सडक अनुशासनको अर्को घटना पनि निकै अविस्मरणीय थियो। सानी छोरीका साथ म बजारमा घुम्ने क्रममा निसंकोच रेलको लिग पार गरेछु।

मेरो पछि पछि मेरी छोरी पनि लिग पार गर्ने क्रममा थिइन् र त्यति नै बेला नजिकै लिग पार गर्न प्रतीक्षारत ट्रक चालक झरेर छोरीलाई रोकेका थिए। म जीवनमा सायदै त्यति लज्जित भएको थिइनँ जब ती ट्रक चालकले मसँग माफी माग्दै छोरीलाई छोएकोमा क्षमायाचना गरे।

मलाई थाहा भयो कि त्यहाँ रेलको लिग पार नगर्ने संकेत गर्ने बत्ती बलिसकेको थियो र सूचना स्वरूप घण्टी बजिरहेको थियो। धन्य ती ट्रक चालक यदि तिनले त्यसो नगरेको भए जे पनि हुन्थ्यो। यससँगै मैले हाम्रा रेलका लिग नभए पनि सडक र बत्ती सम्झें। जेब्राक्रस सम्झें र बाटो काट्ने अभ्यास सम्झें। जबजब जेब्राक्रस आउँछ तबतब चालकहरू सामान्य गतिलाई उच्च गतिमा परिणत गरेका दृश्य सम्झें। अर्कोतर्फ पैदलयात्रु पनि केही मिटर परको जेब्राक्रसलाई नजरअन्दाज गरेर जहाँ पायो त्यहींबाट बाटो काट्ने अभ्यास सम्झें।

सडक सुरक्षा

जापानमा कुनै पनि बेला कुनै पनि सडक गल्लीमा महिला, केटाकेटी वा जोकोही विना हिच्किटाहट स्वतन्त्र रूपमा हिंडडुल गर्न सक्दछन्। त्यहाँका सडकहरू निकै शान्त र सुरक्षित छन्। चोरी डकैतीको कल्पना समेत गर्न सकिंदैन। यसै सन्दर्भमा त्यहाँको बसाइमा यो पंक्तिकारले रोचक घटनासँग साक्षात्कार गरेको छ। एकजना सिनियर विद्यार्थी साथीको निकै महङ्गो मोबाइल किनमेल गर्ने क्रममा कुनै बजार क्षेत्रमा हरायो।

साथीले मलाई खबर गर्नुभएको थियो र मैले सोही दिन खोज्न जाउँ भन्दा उहाँले जापानमा हराएको सामान घरमै आइपुग्छ खोज्न जान पर्दैन भनी उल्टो मजाक गर्नुभयो। भोलिपल्ट खाना खाइवरी उहाँसँगै मोबाइल हराएको रिपोर्ट गर्न प्रहरीकोमा पुगियो। त्यसपछि अघिल्लो दिन उहाँ हिंडेको सडकपेटी हिंड्दै गर्दा सडकपेटीमै उहाँको मोबाइल भेटियो।

मोबाइल टिप्दै साथीले पुनः हाँसो गर्नुभयो, ‘कसो राति पानी परेनछ!’ साथीको मजाक सुन्दै गर्दा हाम्रा सडकका सुरक्षाको याद आइरह्यो। हाम्रो सडकमा मोबाइल त के मोहर पनि सुरक्षित रहँदैन। अरू त के मन्दिरमा जुत्ता, चप्पल समेत सुरक्षित छैनन्। सडकमा हिंडेका महिला, बालबालिका त के घरमै बसेका किशोरीहरू पनि सुरक्षित छैनन्। तसर्थ, विकासको सूचकको रूपमा सडक सुरक्षा पनि निकै महत्वपूर्ण विषय रहेछ भन्नुमा मलाई कुनै संकोच रहेन।

सडकका मानिस

विकसित मुलुकका सडकहरू प्रायः शान्त हुन्छन्। मानिसहरूको भीड कमै मात्रामा देखिन्छ। सडकमा माग्ने मानिसहरू कमै मात्रामा देखिन्छन्। सडक बालबालिका तथा बेवारिसे मानिसहरू विरलै देखिन्छन्। तर हाम्रो जस्तो कम विकसित देशमा सडकका पेटीमा बसेर मानिसहरू अनावश्यक गफ चुटिरहेका हुन्छन्, सडकपेटीमै खुद्रा व्यापार गरिरहेका हुन्छन्, सडकापेटीमै निर्माणका सामग्री राखिएका हुन्छन्। यी र यस्तै गतिविधिले बटुवाहरूलाई निकै मर्का परिरहेको हुन्छ। यसका अतिरिक्त सडकमा कुनै सामान्य घटना घटेमा रमितेहरूको तत्काल अनियन्त्रित भीड लाग्दछ, प्रहरीलाई भीड व्यवस्थापन गर्नै हम्मे पर्दछ।

यो देख्दा सोच्न मन लाग्दछ कि हामी कति फुर्सदिला छौं ! वर्षौंदेखि आफैंले चुनेको सरकारलाई सराप्न नथाक्ने हामीहरू उत्पादनशील काममा समय व्यतित गर्नुको सट्टा सडकपेटीमा क्यारेमबोर्ड खेलेरै जीवनयापन गर्न सक्षम छौं।

सडकको संरचना र गुणस्तर

जहाँका सडकहरू सफा, शान्त मात्र नभई बलिया र टिकाउ हुन्छन्, त्यस ठाउँलाई विकसित ठाउँ भन्नमा कत्ति पनि संकोच मान्नु नपर्ने रहेछ। विकसित देशका मानिसहरू सडकको गुणस्तर र मर्मतलाई निकै प्राथमिकतामा राख्दछन्। तर कम विकसित राष्ट्रका सडक जीर्ण र गुणस्तरहीन मात्र नभई अत्यधिक दुर्घटना निम्त्याउने खालका हुन्छन्।

काठमाडौंकै सडकको अवस्था हेर्ने हो भने पनि गहिरा खाडल त छँदैछन् कतिपय स्थानमा त वर्षातमा धान रोप्न लायक पनि छन्। विकसित स्थानका सडक अपाङ्गतामैत्री हुनुका साथै ट्राफिक नियम पालना गर्ने गराउने यथेष्ट सांकेतिक संरचनाहरू निर्माण गरिएका हुन्छन्। सार्वजनिक यातायातको समयतालिका तय गरिएको हुन्छ।

पैदलयात्रु, साइकलयात्री तथा अन्य सवारी साधनका लागि अलग अलग लेन तयार गरिएका हुन्छन्। सडक बत्तीको यथेष्ट व्यवस्था गरिएको हुन्छ। मानव मात्रका लागि नभएर जंगली जनावर समेतका लागि विशेष किसिमका संरचनाहरू तयार गरिएका हुन्छन्।

हाम्रा पिता पुर्खाले छोरा वा छोरीको विवाह गर्ने बखत केटा वा केटीको घरको शौचालय हेरेर उक्त घर कति सभ्य छ भन्ने सजिलै अनुमान गर्दथे रे! त्यसैगरी कम विकसित मुलुकमा आउने विदेशीहरूले पनि सडक हेरेरै त्यो देशको आर्थिक स्थिति तथा सभ्यताका बारेमा सजिलै आकलन गर्दछन् भन्नेमा कत्ति पनि शंका रहेन।

उनीहरूले कम विकसित मुलुकका मानिसलाई हेर्ने दृष्टिकोण, गर्ने व्यवहार पक्कै पनि फरक हुन्छ नै, भलै प्रत्यक्ष व्यक्त नगरेका होउन्। विडम्बना नै भन्नुपर्दछ, सडकलगायतका अन्य सार्वजनिक स्थान सफासुग्घर राख्ने संस्कृतिमा हुर्केका हामी कसरी सडकको यो दुर्दशा बनाउन पुग्यौं, सबैले संवेदनशील भएर सोच्ने र सभ्य नागरिक भई कर्तव्य निभाउने बेला भइसकेको छ।

म्याग्दे–४, घुम्ती, तनहुँ। हाल काठमाडौं।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?