+
+

भ्रष्टाचारको भाष्य

भ्रष्टाचार गर्ने बानी लागेपछि मान्छेले आफूभित्रको मनुष्यलाई मार्छ। ऊ आचारमा निर्जीव, विचारमा विचलित हुन्छ। उसको ध्येय केवल पैसा कमाउनेमा हुन्छ, परिणाम सोच्दैन।

लक्ष्मण सिटौला लक्ष्मण सिटौला
२०७८ फागुन ११ गते १०:५२

कानुनविरुद्ध नैतिक पतन हुने काम गरी घुस खाएर पक्षपातपूर्ण निर्णय र व्यवहार गर्ने काम नै भ्रष्टाचार हो। भ्रष्ट मनसाय वा घुसखोरीको काम भ्रष्ट आचार भएको व्यक्तिले मात्रै गर्न सक्छ। कसैलाई दुःख दिने नियतवश सहज ढंगबाट सम्पन्न हुने कामलाई जटिल र झन्झटिलो बनाई सेवाग्राहीबाट आर्थिक लाभांश लिने काम भ्रष्टाचार हो। यसरी हेर्दा, भ्रष्ट आचार भएका व्यक्तिले आर्थिक लाभांश लिने काम नै भ्रष्टाचार हो।

सम्पत्ति आर्जनको कुनै सीमा नै हुँदैन। कति धन दौलत आर्जन गरेर राखियो भने आफ्नो जीवन सुरक्षित हुन्छ भन्ने कुरामा मान्छे आफैं अनभिज्ञ छ। त्यही अनभिज्ञताका कारण पनि समाजमा भ्रष्टाचार मौलाएको हुन्छ। शिक्षा र स्वास्थ्य जस्ता आधारभूत कुराको जिम्मा यदि सरकारले लिने हो भने नेपालमा अवश्य पनि भ्रष्टाचार स्वतः कम भएर जानेछ।

मनुष्य जीवन मृत्युबाट जहिले पनि भागिरहेको हुन्छ। रोग लाग्यो भने खर्च गर्नुपर्छ, खर्च हुन्छ। त्यसैले पनि धेरै पैसा संग्रह गरेर राख्नुपर्छ भन्ने सोच हुन्छ हामीमा। त्यही सोचका कारण पनि भ्रष्टाचार हुन्छ। जीवनलाई सुख दिने सपनाहरूको जुगुप्साका कारण पनि समाजमा भ्रष्टाचार हुन्छ। अझै दार्शनिक ढंगले भ्रष्टाचारलाई परिभाषित गर्ने हो भने यो एउटा मृत्यु छोप्ने बहाना हो। भौतिक संग्रहको लिप्सा वा लिप्तताबाट मनुष्यभित्र रहेको आनन्द दिने ग्रन्थिमा सुखद सन्देश प्रवाह हुन्छ र ऊ रमाउँछ। जसरी गाँजा, लागूऔषध वा रक्सी सेवनको लत लागेका दुर्व्यसनीहरूलाई लागूपदार्थ धेरै संग्रह गर्न मन लाग्छ। ताकि यो आफूले चाहेको बेलामा उपयोग गर्न सकियोस्।

लागूपदार्थ संग्रह गरिएन भने ती दुर्व्यसनीहरू आफैं कमजोर भएको महसुस गर्छन्। उनीहरूलाई मृत्युको भय हुन्छ। जसरी पनि बाँच्नुपर्छ भन्ने कारण चोरेर, छलेर, ढाँटेर भए पनि दुर्व्यसनीहरू लागूपदार्थको संग्रह गर्छन्। ठिक त्यसैगरी भ्रष्टाचार पनि एउटा सामाजिक दुर्व्यसन हो। भ्रष्टाचार गर्नेहरू सामाजिक दुर्व्यसनी हुन्। भ्रष्टाचारीहरू राज्यका महादुर्व्यसनी हुन्।

भ्रष्टाचारी

भ्रष्टाचार गर्ने आचरण भएको; नैतिक र भौतिक दुवै रूपमा आचरणको पतन भएको व्यक्तिलाई भ्रष्टाचारी भनिन्छ। भ्रष्टाचार गर्ने व्यक्ति भ्रष्टाचारी हो। भ्रष्टाचार गर्नेहरू आचारसंहिताबाट च्यूत, नैतिकताहीन, आर्थिक प्रलोभनबाट ग्रसित, कुनियतको बाटोबाट धन आर्जन गर्ने समाजका विषालु कीरा हुन्। समाजलाई जसरी लागूपदार्थ खाने दुर्व्यसनीहरूले धमिल्याइरहेका हुन्छन्, त्यसैगरी भ्रष्टाचारीहरूले समग्र समाज, देशको समृद्धिमा नै असर पुर्‍याइरहेका हुन्छन्। लागूपदार्थ खाने त ऊ आफू एक्लो सकिन्छ, तर भ्रष्टाचार गर्नेले त सिङ्गै राज्य नै पतन गराउन सक्छ।

भ्रष्टाचारीहरू राज्यका महादुर्व्यसनी हुन्। दुर्व्यसन एउटा रोग हो, नैतिकताको रोग। यो मनोरोग पनि हो। मनलाई नियन्त्रणमा राख्न नसक्ने मनोरोगीहरूमा नैतिकता हुँदैन। नैतिकता भनेको सामाजिक नियन्त्रण पनि हो। भ्रष्टाचारीहरू समाजको नियन्त्रणमा बस्न रुचाउँदैनन् वा यिनीहरूलाई समाज नै बाधक बनिरहेको हुन्छ। भ्रष्टाचार गर्ने र लागूपदार्थका दुर्व्यसनमा परेकाहरू समाजदेखि नै पर पर हुन खोजिरहेका हुन्छन्। उनीहरूले समाज, प्रहरी र प्रशासनलाई बाधाका रूपमा लिइरहेका हुन्छन्।

भ्रष्टाचार गर्ने बानी लागेपछि मान्छेले आफूभित्रको मनुष्यलाई मार्छ। ऊ आचारमा निर्जीव हुन्छ। विचारमा विचलित हुन्छ। उसको ध्येय केवल पैसा कमाउनेमा हुन्छ। उसले आगत परिणाम सोच्दैन। उसले नैतिकता सोच्दैन। उसले समाजको समृद्धि सोच्दैन। उसले केवल ऊ मात्रै सोचिरहेको हुन्छ। उसले आफ्नो र आफ्नो परिवारको सुख सोचिरहेको हुन्छ। उसले आफ्नो बैंकको खातामा जम्मा भएको धनको कल्पना गर्छ। त्यसबाट प्राप्त भएको ब्याज कल्पना गर्छ। सुन, गहना, महङ्गो गाडीको कल्पना गर्छ। भौतिक सुखसुविधा, आराम, मोज मस्तीको कल्पना गर्छ। त्यस संग्रहबाट प्राप्त हुने सुखसयलको कल्पना गर्छ। मीठा खाना, राम्रो नाना र भव्यत्तर छानाको डिजाइन गर्छ।

त्यो भन्दा माथि अझै जुवातास, महँगा महँगा रक्सी र सेक्सको कल्पना गर्छ। भ्रष्टाचारीले सोच्ने र गर्ने क्रियाकलाप यही नै हो। भ्रष्टाचारीको मनोविज्ञान यही र यस्तै हुन्छ। भ्रष्टहरूको चरित्र यही हो। एउटा फकिर समाज सुधार्ने कुरा गर्छ, एउटा भ्रष्ट मनुष्य समाज पतनको कुरा र त्यही प्रकारको आचार गर्छ।

भ्रष्टाचार गर्ने मौका राज्यको अधिकार प्राप्त व्यक्तिले पाउँछन्। अधिकार प्राप्त व्यक्ति भनेको सरकारले निश्चित कामका लागि निश्चित समयका लागि नियुक्त गरेका व्यक्ति हुन्। समय यही हो। यो बेलामा नकमाए कहिले कमाउने भन्ने सोच उब्जिएसँगै अख्तियार प्राप्त अधिकारी भ्रष्टाचार गर्न थाल्छ। अधिकार प्राप्त व्यक्तिले आफ्नो अधिकारको दुरूपयोग गरी अनैतिक ढंगले आर्थिक लाभ लिने काम भ्रष्टाचार हो। यसलाई निरुत्साहित गर्ने निकाय सरकार स्वयं र ऊ मातहतको अख्तियार दुरूपयोग निवारण आयोगको हो।

भ्रष्टाचार पापको कमाइ हो। भ्रष्टाचार लुट, झुट र छुटको कमाइ हो। भ्रष्टाचार गरेर कमाएको पैसाले आनन्द भन्दा धेरै बदनामी दिन्छ। सन्तान दरसन्तानलाई समेत पछिसम्म पनि फलिफाप हुनेछैन। भ्रष्टाचारीका सन्ततिहरू कुमार्गतिर लागेका हुन्छन्। हामी देख्छौं, भ्रष्टाचारीहरूका छोराहरू लागूपदार्थको दुर्व्यसनीमा फसेका वा गैरकानुनी क्रियाकलापमा प्रहरीद्वारा कारबाहीमा परेका हुन्छन्।

कालो धनले पिर्छ। पसिनाले आर्जित गरेको सम्पत्ति मात्रै चिरस्थायी हुन्छ भन्ने कुरा भ्रष्टाचारीलाई बुझाउन सकिएको छैन। भ्रष्टाचार गर्न हुन्न, भ्रष्टाचारमुक्त समाजको परिकल्पना हरेक राष्ट्रको मूलमन्त्र हो तर त्यस्तो कुनै देश छैन जहाँ भ्रष्टाचार शून्य अवस्थामा होस्।

लागूपदार्थ खाने एउटा दुर्व्यसनीलाई सुधारगृहमा राखेर सुधार्न सकिएला तर आर्थिक दुर्व्यसनीहरूलाई सुधार्न धेरै कठिन छ।

आर्थिक दुर्व्यसनीहरूको महासञ्जाल हुन्छ। राष्ट्रिय, अन्तर्राष्ट्रियसम्म यसको नसा फैलिएको हुन्छ। भ्रष्टाचारीलाई आफ्नो ज्यानको समेत परवाह हुँदैन। यिनीहरूको लत वा आदत एकोहोरो हुन्छ।

भ्रष्टाचारको काममा महिला भन्दा पुरुष नै सक्रिय पाइएको छ। नेपालमा महिलाहरू भ्रष्टाचारको केशमा ज्यादै कम छन्। जति पनि भ्रष्टाचार भएको छ, पुरुषकै प्रत्यक्ष सहभागितामा भएको देखिएको छ। अप्रत्यक्ष रूपमा होला, त्यो आफ्नो ठाँउमा छ तर महिला कर्मचारीले प्रत्यक्ष भ्रष्टाचार गरेर कारबाही भएको ज्यादै कम सुनिएको छ।

भ्रष्टाचारका प्रेरक तत्व

भ्रष्टाचार अभाव, गरिबी, अशिक्षा, कानुनी शासनको कमजोर परिपालना, दण्डहीनताको अवस्था, धनी र गरिबबीचको सामाजिक असन्तुलन र राजनैतिक अस्थिरताका कारण हुन्छ।

मूलतः शासनको बागडोर सम्हालेका राजनैतिक पार्टीहरू जनताबाट अनुमोदन हुनुपर्ने हुन्छ। चुनाव आफैंमा महङ्गो प्रक्रिया हो।

चुनावी खर्च यसरी आकाशिंदै गएको छ कि अब सामान्य मानिसले राजनीति गर्न सक्तैन। चुनाव र भ्रष्टाचार अहिले एकअर्कासँग सम्बन्धित देखिन्छ। नेता जतिसुकै प्रख्यात होस्, बुद्धिजीवी होस्, विद्वान होस्, शिक्षित होस्, विकासप्रेमी होस्, सबल होस्, सरल होस् मतलब छैन। उसले चुनाव जित्न आफ्नो भएभरको सम्पत्ति खर्च गर्नैपर्छ। नत्र उसले चुनाव हार्छ।

चुनाव केका लागि जित्ने ? देशको हित गर्न ? नेपाललाई समृद्धि तुल्याउन ? वा आफ्नो र आफ्नो कुलवंशको नाम राख्न ? इज्जत, मान कमाउन वा प्रतिष्ठित हुन ? केका लागि चुनाव जित्ने त्यति धेरै पैसा खर्च गरेर ?

चुनावमा जति खर्च हुन्छ त्यो कसरी उठाउने भन्ने चिन्ता भोट गन्न थालेपछि सुरु हुन्छ। अहिलेको परिवेशमा नेपालका हरेक राजनीति गर्ने व्यक्तिको उद्देश्य देश बनाउने, समाज बनाउने, राष्ट्रनिर्माण गर्ने, लोक हित गर्ने, समाज सुधार गर्ने, समाजसेवा गर्ने त एउटा बहाना मात्रै हो।

समाज सुधारका बहस निकै उरालिन्छन्। यो त चुनावी नारा मात्रै हो। चुनावी घोषणापत्रमा उल्लेख भएको कुराहरू हरेक नेताले वा पार्टीले लागु गर्ने हो भने यो देश स्वर्गको एक टुक्रा भैसकेको हुन्थ्यो। अहिले भोट पाउन जनतालाई भोटो हाल्दिनुपर्छ। पैसा खर्च गरेर चुनाव जित्ने परम्परा नेपालका पार्टीहरूले स्थापित गरेका हुन्। नोट छ त भोट छ भन्ने उखान बनिसकेको छ।

भ्रष्टाचारी बन्न राजनीतिक अस्थिरता, शिक्षाको अभाव, गरिबी, कमजोर न्यायप्रणाली, राज्यको असमान उपस्थिति, दण्डहीनता, सिर्जनात्मक सोच र वैज्ञानिक चिन्तनको अभाव जस्ता विषयले प्रेरित गरिरहेको हुन्छ।

जनताका आधारभूत आवश्यकतालाई राज्यद्वारा सम्बोधन नहुँदा पनि भ्रष्टाचार बढ्छ। त्यस्तै, दक्ष जनशक्तिको अभाव, सक्षम र विज्ञ व्यक्तिहरूको विदेश पलायन,  महँगो स्वास्थ्य उपचार जस्ता विषयले पनि भ्रष्टाचार बढ्छ।  उद्योग र उद्यमीहरूलाई राज्यले महत्त्व नदिनु, बैंकहरू सधैं करोडौं नाफामा, ऋण लिनेहरू सधैं घाटामा हुने अभ्यास र धनी र गरिबबीचको दुरी लम्बिंदै जाँदा पनि भ्रष्टाचार बढिरहेको हुन्छ। बेरोजगारीको वृद्धि र भोलिको चिन्ताले पनि भ्रष्टाचार बढिरहेको हुन्छ।

भोलिको चिन्ताको कारणले भ्रष्टाचार निम्त्याउँछ। भोलिमा बाँच्नेहरूलाई सम्पन्न हुने लोभ लाग्छ। भ्रष्टाचारको यो एउटा मनोचेत हो। भ्रष्टाचारको मनोविज्ञान नै व्यक्ति असुरक्षित हुनु हो। चाहे आर्थिक होस्, चाहे सामाजिक रूपमा होस् जब एक व्यक्ति आफ्नो समाजमा वा आफ्नो राज्यमा असुरक्षित महसुस गर्छ, उसले मौका पाउनासाथ भ्रष्टाचार गर्न थाल्छ। राज्यले एउटा एउटा नागरिकको सुरक्षाको ग्यारेन्टी लिन सक्यो भने मात्रै त्यहाँ भ्रष्टाचार न्यून हुन्छ।

सामाजिक सुरक्षाको प्रत्याभूति आर्थिक सहयोग गरेर मात्रै हुँदैन। यसका लागि अनुकूल प्रणाली नै विकास गर्नुपर्ने हुन्छ। बिरामी हुँदा उपचार सरकारले जिम्मा लिने र बुढेसकालमा म एक्लो पर्दिनँ, मलाई सामाजिक सुरक्षा मिल्छ, ओखतीमुलो नपाएर म मर्दिनँ, मलाई राज्यले हेर्छ भन्ने मनोवैज्ञानिक रूपमा जब जनताले आफूलाई सन्तुष्ट पार्छ अनि मात्रै भ्रष्टाचारमा कमि आउला।

युरोपेली मुलुकहरूले रोजगार जनताबाट निरन्तर कर लिन्छ र उनीहरूसँग लिएको करबाट नै उनीहरूलाई पछिसम्म सामाजिक सुरक्षाको प्रत्याभूत गर्छ। निश्चित उमेरसम्म काम गरिसकेपछि वृद्ध अवस्था पुगेपछि राज्य उपस्थित हुन्छ त्यहाँ। त्यसैले, कसैले धन थुपार्ने जरुरत सम्झँदैनन्। किनकि सरकार उपस्थित छ।

हाम्रोमा सरकार छ कि छैन को अवस्था छ। संस्थागत भ्रष्टाचार मौलाएको छ। जवाफदेही छैन। आर्थिक रूपमा कोही पनि सुरक्षित महसुस गर्दैनन्। सबलाई भविष्यको चिन्ता छ। सबलाई छोराछोरीको चिन्ता छ। सबलाई गरिबीको चिन्ता छ। सबैलाई भोलिको चिन्ता छ।

भ्रष्टाचार र भविष्य

मेलम्ची ढिलो हुनाको रहस्य के हो ? आर्मीमा भएको भ्रष्टाचारको किन छानबिन हुँदैन ? न्यायपालिका किन निरीह बन्दै गएको ? सारा जनताको अख्तियारी गर्ने अख्तियारका आयुक्त आफैं कमाउ धन्दा र भ्रष्टाचारमा निर्लिप्त पाइनुले पनि भ्रष्टाचार कति मौलाएको रहेछ भन्ने कुरा अझै छर्लङ्ग हुँदैन र ?

भ्रष्टाचारको मूल गुरु भविष्य हो। मानिस जहिले पनि भविष्यद्वारा निर्देशित हुन्छ। यदि ऊ वर्तमानद्वारा निर्देशित भएको भए पक्कै पनि यतिविघ्न भ्रष्टाचार हुन्नथ्यो होला। वर्तमानमा त एक पेट खाने हो। एकसरो लाउने हो। मानिस काममा नै रमाइरहेको हुन्छ। त्यहाँ जब भविष्य जोडिन आउँछ अनि ऊ झस्किन्छ- ओहो ! मेरो भविष्य के होला ?

उसले अनेकौं चुनौतीको सामना गर्नुपर्ने सम्झिन्छ। अनि थुपार्न थाल्छ सम्पत्ति। सम्पत्ति विपत्तिका लागि हो भनेर सम्झिने संस्कृति दक्षिणपूर्वी एशियाको हो। युरोपेलीहरूमा सम्पन्नताको सपना होइन, जीवनलाई कसरी सहज ढंगले इमानदारीपूर्वक बिताउने भन्ने कुरालाई प्राथमिकतामा राख्छन्। हामी हरपल भविष्य काखी च्यापेर बाँचिरहेका हुन्छौं र त ज्यादै दुःखी छौं। हामी भविष्य सोचिरहेका हुन्छौं। त्यसैले दुःखी छौं। विकसित देशहरू वर्तमान सोचिरहेका हुन्छन्। त्यसैले सुखी छन्। भनिन्छ नि पछिका लागि सञ्चिति गरेको हो भनेर। वरत्र होइन परत्र सुधारका लागि भनेर जसरी धर्मान्दाहरू धर्म आर्जन गर्न एकोहोरो लागिपरेका हुन्छन्।

उनीहरू मनुष्यसँग कम ढुङ्गा मूर्तिसँग ज्यादा नजिक हुन्छन्। शरीरलाई दुःख दिन्छन्। भविष्य बिर्सिदिने हो भने मनुष्य सबैभन्दा सुखी जीवन हुनेछ। पशुपछिसम्म चराचुरुङ्गीहरूमा भविष्यको चेतना छैन। त्यसैले उनीहरू आहारा सञ्चिति गरिरहनुपर्ने झन्झटबाट मुक्त छन् र शान्त छन्। खुशी छन्। भविष्यको चेत नभएकोले नै होला उनीहरू भ्रष्टाचार गर्दैनन्।

मनुष्य मात्रै एक यस्तो जीवन हो ऊ आफूलाई मात्रै होइन आफ्ना तीन पुस्तालाई समेत भ्रष्टाचार गरेर कमाउन चाहन्छ।

भ्रष्टाचार र भविष्य दाजुभाइ हुन्। भविष्यले भ्रष्टाचार गर्न प्रेरित गर्छ हामीलाई। अहिलेको लागि कमाउने होइन। पछिको लागि कमाउने हो। अहिलेको लागि त जसरी नि पुगेकै छ नि। मानिस सन्तुष्ट नै छ।

दुःख चाहिं यसमै छ कि हामी भोलिका लागि बाँचिरहेछौं र भोलिका लागि कमाइरहेछौं। कमाउने चाहिं श्रम र सीपका माध्यमबाट भन्दा पनि विना मिहिनेत अरुलाई दुःख दिएर, ठगेर, झुठो बोलेर, धम्क्याएर, लुटेर, तथाकथित राजनीतिक स्वार्थका नाउँमा चन्दा असुलेर। सोझा र कर्म गरिखाने किसानसँग लेबी उठाउँछन् नेपालका राजनीतिक पार्टीहरू। यो त झन् अपराध हो।

राजनीतिक पार्टी र भ्रष्टाचार

नेपालका सबै राजनीतिक पार्टीहरूले पार्टी सञ्चालनका लागि जनताबाट चन्दा असुल्छन्। असुलिइरहेका छन्। दिइएन भने धम्क्याएर भए पनि लिइरहेका छन्। नयाँ पार्टी खोलिनु भनेको जनतामाथि आर्थिक भार थपिनु हो। कसले भन्न सक्छ यो भ्रष्टाचार होइन भनेर ? चन्दा असुली पनि भ्रष्टाचार हो।

कसैलाई चन्दा दिनै मन छैन तर पनि चन्दा जबर्जस्त दिन परिरहेको हुन्छ। चन्दा लिएर बाँचिरहेका राजनीतिक पार्टीहरू जब सत्तामा आउँछन् फेरि तिनै चन्दादाताहरू त्यो राजनीतिक पार्टीसँग फाइदा लिन्छन्। ठेक्का मिलाइदिएर वा कुनै आयआर्जन हुने काम दिलाइदिएर।

नेपालमा भ्रष्टाचार मौलाउनुको मुख्य कारण नै राजनीति हो। राजनीतिमा जे पनि छुट हुन्छ हाम्रो नेपालमा। किसान हेपिन्छन्। उत्पादनको मूल्य छैन। तरकारीमाथि डोजर चलाउनुपर्ने बाध्यता छ। उखु कृषकले चिनी कारखानालाई उधारोमा उखु दिइरहेका छन् र मूल्य पाएका छैनन्।

पशुपालकहरूले दूध नबिकेर सडकमा फालेका घटना आइरहेका हुन्छन्। फेरि हामी नै हौं दूधदेखि चिनीसम्म तेलदेखि तरकारीसम्म भारतसँग किन्छौं र आफैंलाई भन्छौं कृषिप्रधान देश। गाउँका युवा जवान सिङ्गो खेतीपाती छोडेर गल्फ मुलुकको तातो बालुवामा रगत पसिना पोखिरहेछन्। सरकार रेमिट्यान्सका नाउँमा जुँगामा ताउ लगाइरहेको देखिन्छ। युवाहरूलाई विदेश जान सरकार आफैं प्रेरित गर्छ अनि आफैं भन्छ जमिन बाँझो राख्यो भने तीन लाखसम्मको जरिवाना। युवाविहीन गाउँमा खेत कसरी हराभरा हुन्छ त ?

बन्दाबन्दैका पुलहरू किन भत्किन्छन् ? पिच गर्दागर्दै सडक किन उदास गीत गाउँछ ? मालपोत कार्यालयमा सरुवा हुन किन मन्त्रीहरूलाई गुहारिन्छन् ? प्रमोशनको बेला आएपछि किन प्रहरीहरू ठूला नेताका घरमा धाउँछन् ? पाँच हजार रुपैयाँ लिएर किन दश पन्नाको पासपोर्ट दिएको जनतालाई ? निवेदन दिएको एक वर्षसम्म नि किन सर्वसाधारणले लाइसेन्स पाइरहेका छैनन् ? पाँच हजार तिरेर पनि पासपोर्ट बन्न डेढ महिना लाग्ने तर १० हजार तिर्‍यो भने दुई दिनमा बन्ने यो के हो ? पासपोर्टले पनि पैसा चिन्छ र ? दुई वर्षमा सम्पन्न हुने आयोजनाहरू किन दश वर्षमा नि सकिंदैन ?

मेलम्ची ढिलो हुनाको रहस्य के हो ? आर्मीमा भएको भ्रष्टाचारको किन छानबिन हुँदैन ? न्यायपालिका किन निरीह बन्दै गएको ? सारा जनताको अख्तियारी गर्ने अख्तियारका आयुक्त आफैं कमाउ धन्दा र भ्रष्टाचारमा निर्लिप्त पाइनुले पनि भ्रष्टाचार कति मौलाएको रहेछ भन्ने कुरा अझै छर्लङ्ग हुँदैन र ?

ठेकेदारले ठेक्का पाएपछि सम्बन्धित स्थानमा काम गर्न जाँदा राजनैतिक पार्टीका स्थानीय कार्यकर्ताले अवरोध सिर्जना गर्छन् र पैसा असुल्छन्। ठेक्काको पैसा माथिल्लो निकायसम्म नपुर्‍याए थुप्रै प्रशासनिक झन्झट बेहोर्नुपर्ने र कार्य सम्पन्न गर्न अप्ठ्यारो हुने गर्छ। ठेकेदार बिचरो निमित्त नायक मात्रै हो। उसैको माध्यमबाट पैसा असुल्छन् राजनीतिक पार्टीहरू। राजनीतिको आडमा भ्रष्टाचार यसरी मौलाउँदै आएको छ कि यो अनुमान भन्दा बाहिरको कुरा हो। ट्रान्सपरेन्सी इन्टरनेशनलको रिपोर्टले पनि यही भन्छ कि नेपालमा ७० प्रतिशत भ्रष्टाचार राजनीतिको आडमा वा राजनीतिको संरक्षकत्वमा भइरहेको छ।

नेपाल सार्वभौम एक कानुनी राज्य हो। यहाँ कानुनी शासन छ भनेर हामीलाई थाहा छ र यो पढ्दै पनि आएका छौं। राजतन्त्रको २३८ वर्षको एउटा लामो र प्रत्यक्ष शासन व्यवस्था समाप्ति पछि हामी गणतन्त्र युगमा प्रवेश गर्‍यौं। नयाँ नेपाल र समृद्ध नेपालीको परिकल्पना तीन करोड नेपालीको सामूहिक सपना हो। यो सपना केवल गणतन्त्र प्राप्ति पछि मन्त्री, सांसद, राष्ट्रपति र प्रधानमन्त्री बनेका वा अन्य ठुलाठालु तालुकवाला बनेकाहरूको मात्रै थिएन। सपना परिप्राप्तिका लागि १८ हजार नेपाली जनताको बलिदानी भएको छ।

गणतन्त्र प्राप्तिका निम्ति नेपालका खोलाहरूले नेपाली जवानहरूको रगत लिएर बगे। नेपालका पर्वतहरूमा नेपाली जनताका चिहान छ्याप्छ्याप्ती छन्। हिमालय पर्वतका शिरहरूमा शहीदका आँसुका चिसा शीत झरिरहेका छन्। कति आमाहरूले आफ्ना जवान छोरा गुमाए। कति पत्नीहरूले आफ्ना सिउँदो उजाड बनाए। कति छोराछोरीले आफ्ना अभिभावक गुमाए। मर्ने त मरे गए। सकियो कहानी। तर ! जो ज्युँदा छन् तिनका छातीमा आफन्त गुमाउँदाको क्रूर पीडाको खत सयौं वर्षसम्म मेटिन्न। जसले आफन्त गुमाएका छन्, उनीहरूले त्यो पीडाको बदलामा कुनै आर्थिक हिसाबकिताब मागेका छैनन्, धन मागेका छैनन्। जागिर देऊ भनेर मागेका छैनन्, खाना, नाना र छाना देऊ भनेर पनि मागेका छैनन्। मागेका छन् त केवल नेपाल र नेपाली जनताको समुच्च समृद्धि अनि एउटा शान्त नेपाल र सुखी नेपाली।

(लेखक विवेकशील साझा पार्टीका केन्द्रीय सदस्य हुन्।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?