+
+

युक्रेनमा भएको आक्रमणको नेपालले गर्‍यो विरोध

सबै पक्षलाई अधिकतम संयमता अपनाउन अपिल

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन १२ गते १३:३१

१२ फागुन, काठमाडौं । रुसले युक्रेनमा विशेष सैन्य कारबाही सुरु गरेपछि नेपालले मुख खोलेको छ । बिहीबार परराष्ट्र मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै कुनै पनि सार्वभौम मुलुकविरुद्ध हुने बल प्रयोगको कडा विरोध गर्ने बताएको छ ।

त्यस्तै, मन्त्रालयले जारी गरेको विज्ञप्तिमा सम्बन्धित सबै पक्षलाई अधिकतम संयमता अपनाएर तनाव चर्किन नदिन समेत भनेको छ ।

‘नेपाल सरकारले युक्रेनमा विकसित घटनाक्रमलाई नजिकबाट पछ्याइरहेको छ’, मन्त्रालयको विज्ञप्तिमा भनिएको छ, ‘नेपालले सम्बन्धित सबै पक्षलाई अधिकतम संयमता अपनाएर तनाव कम गर्न अपिल गर्न चाहन्छ ।’

कुनै पनि मुलुकको सार्वभौमिकता र भौगोलिक अखण्डता अक्षुण रहेको भन्दै यसको पूर्ण सम्मान हुनुपर्ने पनि नेपालको भनाइ छ । ‘संयुक्त राष्ट्रसंघको सदस्य भएको हुँदा राष्ट्रसंघको बडापत्रमा उल्लिखित सार्वभौमिकता र भौगोलिक अखण्डताको सिद्धान्त अक्षुण रहेको र यसको पूर्ण पालना हुनुपर्छ’, विज्ञप्तिमा भनिएको छ ।

साथै, युक्रेनको डोनेट्स्क र लुहान्सकलाई स्वतन्त्र राज्यको मान्यता दिने कार्य राष्ट्रसंघको बडा पत्रविपरीत हुने भन्दै कुनै पनि सार्वभौम मुलुकविरुद्ध हुने बल प्रयोगको नेपालले विरोध गर्ने पनि विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तिमा भनिएको छ, ‘युक्रेनको डोनेट्स्क र लुहान्सक क्षेत्रलाई स्वतन्त्र राज्यको मान्यता दिने कदम राष्ट्रसंघको बडापत्रमा उल्लिखित प्रावधानविरुद्ध छ ।नेपालले कुनै पनि परिस्थितिमा सार्वभौम मुलुकविरुद्ध हुने बल प्रयोगको विरोध गर्दै विवादलाई कुटनीति एवं वार्तामार्फत् शान्तिपूर्ण समाधान हुनु पर्ने कुरामा विश्वास गर्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?