+
+

सत्यवती एकेडेमीले जित्यो एलपीएलको उपाधि

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन १४ गते १९:४६

१४ फागुन, धनगढी । कैलाली गेटाको विद्याभूषण पब्लिक स्कुललाई १६१ रनको विशाल अन्तरले पराजित गर्दै अत्तरियाको सत्यवती एकेडेमीले छैठौं संस्करणको धनगढी मेयर लिटल फ्लावर प्रिमियर लिग अन्डर-१९ स्कुल स्तरीय क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ।

उपाधिसँगै सत्यवतीले एक लाख पचास हजार रुपैयाँ र उपविजेता विद्याभूषणले ७५ हजार रुपैयाँ प्राप्त गर्‍यो । धनगढीस्थित प्रदेश प्रहरी कार्यालयको खेल मैदानमा सम्पन्न फाइनलमा सत्यवती एकेडेमीले दिएको २५१ रनको विशाल लक्ष्य पछ्याउने क्रममा विद्याभूषणले १२.१ ओभरमा ८९ रन मात्र बनाउन सक्यो।

विद्याभूषणका नुरेन विष्टले ३१ रन र प्रशान्त थापाले १३ रन बनाउनुबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । सत्यवती एकेडेमीको बलिङतर्फ युवराज खत्री र निरज भट्टले समान तीन विकेट तथा सन्तोष कार्की र सुजन गौतमले समान दुई विकेट लिए ।

यसअघि टस जितेर ब्याटिङ गरेको सत्यवती एकेडेमीले २० ओभरमा ४ विकेट क्षतिमा २५० रन बनाएको थियो ।

सत्यवतीको ब्याटिङमा यु-१९ राष्ट्रिय क्रिकेटर समेत रहेका ओपनर सन्तोष कार्कीले सर्वाधिक ९८ रन बनाए जुन क्रममा उनले ४५ बलमा ३ चौका र ११ छक्का प्रहार गरे। यस्तै खगेन्द्र जोशीले ८३ रन बनाउने क्रममा ५१ बलमा १० चौका र ३ छक्का प्रहार गरे । आदिल अन्सारीले १२ बलमा २ चौका र ३ छक्का मद्दतले अविजित ३५ तथा सुजन गौतमले ५ बलमा ३ छक्का मद्दतले १९ रन योगदान दिए ।

सन्तोष कार्की र खगेन्द्र जोशीले १८० रनको ओपनिङ साझेदारी गरे जुन प्रतियोगिताकै उच्च साझेदारी हो । चौंथो विकेटको लागि आदिल अन्सारी र सुजन गौतमले ५३ रनको साझेदारी गरे ।

विद्याभूषणका बलर प्रदीप चन्दले तिन विकेट तथा वीरेन्द्र नाथले एक विकेट लिए ।

प्रतियोगिताकै उत्कृष्ट खेलाडी सत्यवती एकेडेमीका सन्तोष कार्की चुनिए जसले २० हजार रुपैयाँ प्राप्त गरे । यस्तै उत्कृष्ट ब्याट्सम्यान विद्याभूषणका वीरेन्द्र नाथ तथा उत्कृष्ट बलर हिमालयन ह्वाइट हाउसका दीपक बोहरा घोषित भए जसले जनही दश हजार रुपैयाँ प्राप्त गरे । यस्तै उदीयमान खेलाडी सत्यवती एकेडेमीका युवराज खत्री चुनिए, उनले १० हजार रुपैयाँ प्राप्त गरे ।

फागुन २ गते सुरु भएको प्रतियोगितामा दश टोलीको सहभागिता थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?