+
+

देवदह खानेपानीमा ६ दलीय गठबन्धनलाई हराउँदै एमाले विजयी

‘केन्द्रमा एकथरि नेताहरु गठबन्धन गर्न हुँदैन भन्दै कुर्लिनुहन्छ तर धरातल अर्कै छ’

टोपराज शर्मा टोपराज शर्मा
२०७८ फागुन १५ गते ७:३०

१५ फागुन, बुटवल । मिनी स्थानीय तहको चुनावको रुपमा हेरिएको रुपन्देहीको देवदह खानेपानी तथा सरसफाइ संस्थाको अधिवेशनमा ६ दलीय गठबन्धनलाई फराकिलो मत अन्तरले हराउँदै नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् ।

४ हजार ३ सय मतदाता रहेको खानेपानीको अधिवेशनमा एमालेविरुद्ध नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, राप्रपा, राष्ट्रिय जनमोर्चा र राष्ट्रिय जनमुक्ति पार्टीले गठबन्धन गरेका थिए । चुनावबाट अध्यक्षसहित पदाधिकारीमा एमाले उम्मेदवारले गठबन्धनका उम्मेदवारलाई क्लीन स्वीप गरेका छन् ।

शनिबार राति सम्पन्न मतगणनाको परिणाम अनुसार ३ हजार १०१ मत खसेको चुनावमा एमालेका अध्यक्षका उम्मेदवार गुमानसिंह कुँवरले १७ सय ८ मत प्राप्त गर्दै विजयी भएका छन् । गठबन्धनबाट अध्यक्षका उम्मेदवार बनेका माओवादी केन्द्रका मोतिलाल ढकालले १२ सय ६७ मत पाए । नवनिर्वाचित अध्यक्ष कुँवर खानेपानी संस्थाका हालका अध्यक्ष हुन् भने पराजित ढकाल यसअघिको अधिवेशनमा पनि कुँवरसँगै पराजित भएका थिए ।

उपाध्यक्षमा एमालेकै उम्मेदवार अनिशा पौडेल १५ सय ९ मतसहित विजयी हुँदा गठबन्धनकी उम्मेदवार मिनादेवी रिमालले १३ सय ९८ मत पाएर पराजित भइन् ।

सचिवमा एमालेका हरि पाण्डेयले १५ सय ६१ मत पाएर विजयी भए । उनका प्रतिस्पर्धी गठबन्धनका डिल्लीराज मरासिनीले १३ सय २४ मत पाए ।

यस्तै कोषाध्यक्षमा एमाले उम्मेदवार कृष्णप्रसाद ज्ञवालीले १६ सय २६ मत प्राप्त गरेर विजयी हुँदा गठबन्धनका उम्मेदवार थानेश्वर भट्टराईले १२ सय २७ मत पाए ।

देवदह नगरपालिकाका वडा नंं. ५, ६, ७, ८ र ९ का उपभोक्ता रहेका खानेपानीको निर्वाचनमा वडागतरुपमा पनि सबै वडामा गठबन्धन भन्दा एमाले उम्मेदवारले धेरै मत पाएका छन् । निर्वाचनमा ४८ मत बदर भएको निर्वाचन अधिकृत पदमराज भुसालले बताए ।

यो खानेपानी संस्थाको चुनावी नतिजाले आउँदो स्थानीय तहको चुनावलाई समेत प्रभाव पार्ने भएकाले दुबै पक्षले प्रतिष्ठाको विषय बनाएर उपभोक्तालाई छुटैछुटको अफरसहित एक हप्तासम्म चुनावी अभियान चलाएका थिए ।

नेपाली कांग्रेस देवदह नगर सभापति गुनाखर भुर्तेलले ६ दलको गठबन्धन गर्दा पनि जित्न नसक्नु गम्भीर समीक्षाको विषय भएको प्रतिक्रिया दिए । ‘केन्द्रमा कांग्रेसका एकथरि नेताहरु गठबन्धन गर्न हुँदैन, कांग्रेस एक्लै जित्छ भन्दै कुर्लिनुहन्छ तर धरातल अर्कै छ,’ भुर्तेलले भने, ‘देवदह खानेपानीको चुनावको नतिजा आउने स्थानीय, प्रदेश र संघको चुनावका लागि उदाहरण र पाठ हुनुपर्छ ।’

लेखकको बारेमा
टोपराज शर्मा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?