+
+
ब्लग :

कहिले बन्छ सुदृढ र व्यावहारिक इन्जिनियर्स एशोसिएसन ?

नेपाली समाज लामो राजनैतिक संक्रमणकालीन अवस्थाबाट विकास र समृद्धितर्फ वामे सर्दै गरेको छ । यहाँ इन्जिनियरिङ समुदायलाई राजनीतिक प्रक्रियाको सहयोगी मात्रै बनाउने कि मूलधारमै स्थापित गर्न अग्रसर बन्ने ? इन्जिनियर्स एशोसिएसनले निर्वाह गर्न सक्ने भूमिकाले तय गर्नेछ ।

अशोक पौडेल अशोक पौडेल
२०७८ फागुन १५ गते ८:४९

सन् १७७१ मा जोन सिमेटोनसहित ६ जनाले ड्राइनिङ क्लबको रूपमा स्थापना गरेको सिभिल इन्जिनियरिङ सोसाइटी इन्जिनियरिङ समुदायकै पायोनियर संगठनका रूपमा चिनिन्छ । त्यसयता थुप्रै इन्जिनियरिङ संगठन अस्तित्वमा छन् । सिमेटोनियन सोसाइटीभन्दा आठ दशक पछाडि कोराटन अक्वाडक्ट, न्यूयोर्कमा दर्जनभन्दा बढी इन्जिनियरहरू भेला भएर स्थापना भएको संयुक्त राज्यकै पहिलो इन्जिनियरिङ संगठन ‘अमेरिकन सोसाइटी अफ सिभिल इन्जिनियर्स’ आजसम्म आइपुग्दा सिभिल इन्जिनियरिङसँग सम्बन्धित कार्य र तिनका मानक तयार पार्ने अग्रणी संस्थाको परिचय बोक्छ ।

हाम्रै छिमेक भारतमा पनि पेशागत इन्जिनियरहरूको साझा संस्था ‘इन्स्टिच्युसन अफ इन्जिनियर्स’ सँग जल व्यवस्थापन, सुरक्षा र गुणस्तर, दिगो विकास, ग्रामीण विकास, डिजाइन र रिसर्चसँग सम्बन्धित पाँच प्रतिष्ठित फोरमहरू सँगसँगै स्वायत्त अंगका रूपमा इन्जिनियरिङ स्टाफ कलेज सञ्चालनमा छन् । नेपालमा पनि इन्जिनियरिङ पेशाकर्मीको हकहितको संरक्षण, पेशागत मर्यादा कायम, इन्जिनियरिङ प्रविधिको विकासलगायतका उद्देश्यसहित सन् १९६२ मा नेपाल इन्जिनियर्स एशोसिएसन स्थापना भयो । तर, अझै पनि स्थापनाका यी ६ दशकमा केही सामान्यबाहेक खास उपलब्धि हासिल गर्न सकिएको छैन ।

अन्तर्राष्ट्रिय इन्जिनियरिङ पेशागत संगठनको जस्तो तीव्रतामा आजको नेपाल इन्जिनियरिङ एशोसिएसन दौडन सकेको छैन । कम्तीमा त्यसलाई पछ्याउने दिशासम्म पनि तय हुन नसक्दाको अलमल देखिन्छ । नेईए भित्रैका कतिपय आन्तरिक पक्षहरूको सुधार आवश्यक छ । संस्थागत जीवनको समीक्षा गर्न माघ ७ का लागि तोकिएको निर्वाचन मितिको सम्मुखमै पुगेर स्थगन भएको छ । निर्वाचन माहोलले निम्न विषयमा सुधार हुने आभास गराउन सकिरहेको थिएन ।

१. सदस्यता वितरण

वर्तमानमा नेपाल इन्जिनियरिङ परिषदमा करिब ६६.५ हजार दर्ता भएका इन्जिनियरमध्ये ३७ हजार मात्रै नेईएसँग आवद्ध भएको तथ्यांक छ । ३७ हजारमध्येमा पनि २१ हजार ६५० जनाले मात्रै नवीकरण दर्ता गरेका छन् । जुन संख्या नेईए निर्वाचनको मतदाताको संख्या पनि हो ।

इन्जिनियर र पेशाभित्रका एजेन्डामाथिको निकटता वा दूरीले सहकार्य र अन्तर्विरोध हुनेभन्दा पनि मूल राजनीतिक दलभित्रको डाइनामिक्सकै चपेटामा पर्दै आइरहेको छ ।

नेपाल इन्जिनियरिङ परिषद ऐन, २०५५ ले निर्दिष्ट गरेअनुसार १७ जना परिषद् सदस्यमध्ये प्रत्येक ४/४ वर्षमा ५ जना परिषद् सदस्य नेईए सदस्यहरूले निर्वाचित गरेर पठाउने र नेईएको अध्यक्ष पदेन सदस्य रहने कानुनी प्रावधान रहेतापनि ६६ हजार बढी दर्ता भएको इन्जिनियरिङ काउन्सिलका सदस्यहरू निर्वाचित गर्न योग्य मतदाताको संख्या २१.५ हजारमा संकुचन गराइनु विरोधाभासपूर्ण छ ।

परिषद्मा दर्ता इन्जिनियरहरू स्वतः नेपाल इन्जिनियर्स एशोसिएसनको सदस्य रहेको स्वीकारेर निर्वाचनको प्रक्रियामा समावेश गराउँदा नेपाल इन्जिनियर्स एशोसिएसनप्रति इन्जिनियरको अपनत्व र संस्थाकै दायरा पनि फराकिलो बन्न सक्थ्यो ।

२. राजनीतिक प्रभाव

इन्जिनियर्स एशोसिएसनको निर्वाचनमा मनोनयन दर्ता हुँदा कुनै पनि दलका शुभेच्छुक वा भ्रातृ संस्थाकै नामबाट प्यानल दर्ता नभएतापनि प्रचार–प्रसार भने दलीय निकटता प्रष्टिने गरी नै गरिन्छ । इन्जिनियर र पेशाभित्रका एजेन्डामाथिको निकटता वा दूरीले सहकार्य र अन्तर्विरोध हुनेभन्दा पनि मूल राजनीतिक दलभित्रको डाइनामिक्सकै चपेटामा पर्दै आइरहेको छ ।

२०७७ चैत २३ मा पहिलोपल्ट निर्वाचन घोषणा भएको मितिमा गठबन्धन गरेर चुनाव लडेकाहरूमध्ये पनि माघ ७ सम्म आइपुग्दा राष्ट्रिय राजनीतिको बदलिंदो कोर्स अनुसार छुट्टिने र मिल्ने अवस्था रह्यो । राष्ट्रिय दलले आफूलाई जाँच्न गरिएको नमूना निर्वाचनकै रूपमा नेईए निर्वाचनलाई बुझियो र इन्जिनियरको हितमा हुनुपर्ने संवेदनशीलतालाई अवमूल्यन गर्दै दलीय बफादारिता मात्रै प्रष्ट्याउने काम भयो ।

आजको राष्ट्रिय राजनीतिको बहस मूलतः सडक निर्माण, रेलवे, विद्युत्, ढल, खानेपानी, सञ्चारलगायतका पूर्वाधारहरूको ट्रान्समिसन लाइनको विस्तार, स्मार्ट सहरलगायतका इन्जिनियरिङसँग सम्बन्धित सवालहरूमा हुने गरेका छन् । तर पनि इन्जिनियरिङ पृष्ठभूमिबाट मूलधारको राजनीतिमा स्थापित हुने अनुकूलताको खोजीको प्रयास त गरिएन नै संस्थालाई पनि राजनीतिक मूलधारको पपेटको भूमिकामा मात्रै खुम्च्याइनुले पेशागत हितको संरक्षण र राजनीतिको मूलधारमा प्रभाव पार्ने दुवै ठाउँबाट इन्जिनियरिङ समुदाय चुक्नु परेको छ ।

३. इन्जिनियरिङ जनशक्तिको समीक्षा

सन् २०२१ मा सार्वजनिक ओपन डोर्सको रिपोर्टअनुसार विगतका ७ दशकमा अमेरिकी विश्वविद्यालयहरूमा १ लाख ८६ हजार ७५ नेपाली विद्यार्थी अध्ययन गरेको पाइन्छ । अमेरिकाबाहेक अन्य देशहरू, युरोप, अस्ट्रेलिया, जापानलगायत देशहरूमा अध्ययन गर्ने नेपालीको यकिन तथ्यांक नभएतापनि त्यो संख्या निकै ठूलो छ ।

यसरी वैदेशिक अध्ययनका लागि जाने विद्यार्थी प्रायः विज्ञान र प्राविधिक पृष्ठभूमिका छन् । जसमध्ये भारतबाहेक अन्य देशमा अध्ययनका लागि जाने अधिकांशहरू अध्ययन पश्चात नेपाल नफर्किने गरेको विभिन्न रिपोर्टले देखाउँछ ।

ठूलो संख्यामा इन्जिनियरिङ जनशक्ति स्वदेशमा बस्न विकर्षण र पलायनका लागि आकर्षित हुनुको कारणहरूको खोजी समयमै गर्न सकिएन भने दीर्घकालमा योग्य जनशक्तिको अभावमा हाम्रा विकास र सम्भावनाहरू माथि निकै ठूलो आघात पर्नेछ । नेपाल सरकारले ‘ब्रेन गेन सेन्टर’ मार्फत केही अग्रसर भए पनि त्यसको प्रभावकारी कार्यान्वयन हुन सकिरहेको छैन भने अर्कोतर्फ स्वदेशमै पनि इन्जिनियरिङमा स्नातक गरेका इन्जिनियरहरू पनि जुनियर तह (असिस्टेन्ट सब–इन्जिनियर, सवइन्जिनियर)मा काम गरिरहनु परेको छ ।

अन्डरग्राजुएट्सहरूले जुनियर तहमा काम गर्नुपर्नाको कारण र बाध्यताहरूका विषयमा बहस, पैरवी भएको पाइँदैन । राज्यको स्वीकृत कोटा अनुसार अध्ययन/अध्यापन भइरहेका शैक्षिक संस्थाबाट निस्कने प्राविधिक जनशक्तिलाई समेत शैक्षिक योग्यता अनुसारको जिम्मेवारीमा समेट्न नसक्नु, पलायनका लागि बाध्य पारिनु र वैदेशिक अध्ययन सिध्याएकाहरूलाई जिम्मेवारीसहित फर्काउन नसकिएको समस्याको डायग्नोसिस र उपचारको विधि खोज्ने प्रयास हुनुपर्दछ ।

इन्जिनियरिङ पेशासँग लामो समय आवद्ध भएका विज्ञ व्यक्तित्वहरूबाटै उठान भइरहेको ‘इन्जिनियरिङकै रि–इन्जिनियरिङको आवश्यकता’ सन्दर्भको मुद्दालाई इन्जिनियर्स एशोसिएसन र सरोकारवालाहरूले अपनत्व लिन बिलम्व गर्नुहुँदैन ।

४. असंगठित इन्जिनियरसँगको पहुँच

सुधारका लागि प्रयास गर्नुपर्ने कैयन् ठाउँ भए पनि तत्कालका लागि स्थानीय तह र निजी क्षेत्रमा कार्यरत इन्जिनियरहरूको सवालमा नेईएको पहिलो ध्यान आवश्यक छ । देश संघीय संरचनामा गइसकेपछि हाल देशका सबैजसो स्थानीय तहमा इन्जिनियरहरू छन् । उनीहरूका भोगाइ र समस्या समेत मूलभूत रूपमा समान नै छन् ।

स्थानीय तहमा काम गर्ने इन्जिनियरहरूका पेशाभित्रका भोगाइहरू बुझिदिन सक्ने, बोलिदिन सक्ने र समाधानको प्रयास गरिदिन सक्ने, निजी क्षेत्रमा काम गर्ने इन्जिनियरहरूका पनि न्यूनतम तलब, कार्यक्षेत्रगत जोखिम, पेशागत सुरक्षा, कार्य समयलगायतका मुद्दाहरू दरिलो ढंगले उठान गर्न सक्ने सशक्त भूमिका सहितको पेशागत संगठनको आवश्यकता खट्किएको देखिन्छ ।

त्यसरी असंगठित रहेका इन्जिनियरहरू संगठित रूपमा रहन सक्ने नेपाल इन्जिनियर्स एशोसिएसनभन्दा विकल्पको संस्था आजका दिनसम्म अर्को छैन । त्यसकारण ती इन्जिनियरहरूको अभिभावकत्व लिंदै संस्थाप्रतिको विश्वास र संस्थाप्रतिको आम दृष्टिकोणमा सकारात्मक प्रभाव पार्न सकिन्छ ।

५. निर्वाचनका पुरानै मुद्दा

बेरोजगार इन्जिनियरलाई बेरोजगार भत्ता दिनेजस्ता सस्ता र पपुलिस्ट नारादेखि इन्जिनियरिङ हाइड्रो, इन्जिनियरिङ स्टाफ कलेज लगायतका एजेन्डा विगत निर्वाचनका एजेन्डासँग मिल्दाजुल्दा नै छन् । इन्जिनियर्स एशोसिएसन सरकारसँग सौदाबाजी गर्न ट्रेड युनियनको अधिकार नभएको तर सरकारसँग इन्जिनियरिङ मुद्दाहरूसँग सम्बन्धित रहेर लबिइङ्ग, सहकार्य गर्ने समाज कल्याण परिषदमा दर्ता भएको गैरसरकारी संस्था हो । तर कानूनी र कार्यकारीको हैसियत प्राप्त संस्था जसरी गरिने भ्रामक निर्वाचनका एजेण्डाहरूको प्रचारप्रसारले संस्थाको गरिमा कायम हुन दिंदैन ।

संस्थामा रहेर इन्जिनियर्सहरूको पेशाको सम्बन्धनका लागि गर्ने नियमित कार्यक्रमसहित राज्यका के–कस्ता नीतिगत सुधारमार्फत पेशागत मर्यादा कायम गर्न सकिन्छ त्यसको प्रष्ट कार्यक्रमको खाका र एजेन्डाहरूको उठान निर्वाचनमा प्रतिस्पर्धा गरिरहेका प्यानलहरू स्पष्ट देखिंदैनन् ।

६. निर्वाचनको विकल्प

महामारीका कारण चुनावहरू सर्नु र संक्रमण रोकथामको प्रयास गरिनु राम्रो भएतापनि इन्जिनियर्स एशोसिएसनको पुरानो कार्यसमितिले म्याद सकिएको एक वर्षभन्दा बढी भइसकेको छ । भौतिक उपस्थितिमा मात्रै निर्वाचन गराउने मानसिकता राख्नु प्रतिकूलतामा पनि सम्भावनाहरूको खोजी हुने इन्जिनियरिङ पेशामा नसुहाउने प्रसंग हो । युग र माटो सुहाउँदो व्यावहारिक प्रयोग गर्न इन्जिनियरहरू चुकिरहेका छन् ।

समृद्ध प्रजातान्त्रिक देशहरूमा आम निर्वाचन नै भौतिक उपस्थिति विना गर्न सकिने संयन्त्रको विकास र प्रयोग भइरहेकै छ । अमेरिकी सेन्सस् ब्युरोको तथ्यांकले सन् २०२० को अमेरिकी आम निर्वाचनमा ६९ प्रतिशत जनता (जुन अघिल्लो निर्वाचनको भन्दा २९ प्रतिशत बढी) मतदान केन्द्रमा नगइकन भाग लिएको र त्यसमध्ये पनि ७४.५ प्रतिशत जनसंख्या स्नातक तहभन्दा माथि अध्ययन गरेको जनसंख्या हुनुले पछिल्लो शिक्षित जनसंख्या निर्वाचनमा आफ्नो सहभागिता कसरी देखाउन चाहन्छ भन्ने बुझ्न गाह्रो छैन ।

नेपाल इन्जिनियर्स एशोसिएसन अस्ट्रेलिया, कतार, थाइल्यान्ड र बेलायतमा आफ्नो केन्द्रहरू भएको र प्राविधिक दक्षता भएका सदस्यहरू भएको संस्था हो । त्यसैले पनि यसको निर्वाचन संसारको जुनसुकै भूगोलबाट पनि भौतिक उपस्थिति विनै मतदान गर्न सकिने गरी प्रणालीको विकास र सोही अनुसारको प्रविधि भित्र्याउँदै निकास दिन सक्नुपर्दछ ।

इतिहासतर्फ हेर्दा, उन्नाइसौं शताब्दीको अन्त्यतिर अमेरिकाले पूर्वाधारको क्षेत्रमा चामत्कारिक फड्को मार्यो । अमेरिकी समाजले आँखैअगाडि बन्दै गरेका विशाल संरचना, पुल, देशव्यापी फैलँदो रेल सञ्जालहरू देखेर अचम्मित भइरहेको त्यस समयको अमेरिकी समाजमा इन्जिनियरहरूलाई नायकको दर्जामा राखिन्थ्यो ।

इष्ट नदीमा ब्रुकलिन पुल निर्माण सम्पन्न भएपश्चात डिजाइनरहरूको सम्मानसहितको उद्घाटन समारोह उन्नाइसौं शताब्दीको निकै ठूलो उत्सवमध्ये गनिन्छ । तर आजको अमेरिकी समाजमा इन्जिनियरिङ पेशालाई उन्नाइसौं शताब्दीको समाजले दिएकै दर्जामा भेट्न सकिंदैन । अमेरिकीहरूभन्दा एक शताब्दीपछि बीसौं शताब्दीको अन्त्यतिर चीनले अँगालेको आर्थिक सुधारको नीतिसँगै पूर्वाधारको क्षेत्रमा ठूलो छलाङ्ग मार्न सफल रह्यो । विश्व बैंकको आँकडा अनुसार सन् ११९० ताका ३६० बिलियन डलर मात्रै रहेको चीनको कुल गार्हस्थ्य उत्पादन २०२० मा आइपुग्दा १४ हजार ७२३ बिलियन डलर हुनपुग्यो ।

पूर्वाधार विकासका प्रारम्भिक चरणमा हुने इन्जिनियरिङ पेशाप्रतिको निकै सकारात्मक सामाजिक दृष्टिकोणको राजनीतिक लाभ अमेरिकी इन्जिनियरहरूले लिन सकेनन् । पछिल्लो तीन दशक जनवादी चीनको नेतृत्वमा रहेका जियाङ जेमिन, हु जिन्तावो हुँदै सी जिन पिङसम्म सबैजना इन्जिनियरिङ पृष्ठभूमिकै नेताहरू रहँदै आए । तीव्र विकासको चरणमा इन्जिनियरहरूले राष्ट्रिय राजनीतिको नेतृत्व गर्ने अवसर पाएको चिनियाँ उदाहरणबाट हामी प्रोत्साहित हुनुपर्छ ।

नेपाली समाज लामो राजनीतिक संक्रमणकालीन अवस्थाबाट विकास र समृद्धितर्फ वामे सर्दै गरेको छ । यहाँ इन्जिनियरिङ समुदायलाई राजनीतिक प्रक्रियाको सहयोगी मात्रै बनाउने कि राजनीतिक मूलधारमै स्थापित गर्न अग्रसर बन्ने ? इन्जिनियर्स एशोसिएसनले निर्वाह गर्नसक्ने भूमिकाले तय गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?