+
+

युक्रेनी सेनामा भर्ती हुन स्वयंसेवकको लाइन, भन्छन्- ‘रुसलाई जित्नेमा ढुक्क छौं’

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन १५ गते ११:५९

१५ फागुन, काठमाडौं । रुसले हमला गरेको चार दिन भयो तर युक्रेनका नागरिक भने संसारकै शक्तिशाली सेनासँग डटेर लड्ने मुडमा देखिन्छन् ।

राजधानी किएभ पसिसकेको रुसी सेनाबाट मुलुकको रक्षा गर्न युक्रेनीहरू कति दृढता एवं साहसी छन् भन्ने कुरा राष्ट्रिय सेनामा भर्ना हुन लामबद्ध भएका स्वयंसेवकबाट प्रस्ट हुन्छ । डिनिप्रो शहरमा यस्तै लाइन देखिन्छ । उक्त शहरको स्थानीय सामुदायिक केन्द्रमा रुसविरुद्धको युद्धमोर्चामा जान युवाहरू लाइन लाग्न थालेका छन् ।

देशका लागि ज्यान दिन तयार स्वयंसेवकको लाइनमा उमेर, लिङ्ग र व्यवसायमा मानिस बसेका छन् । झट्ट हेर्दा उक्त लाइन शहरको केन्द्रमा जम्मा भइरहेको स्व:स्फूर्त फौज जस्तै देखिन्छ । कसैले आफ्नो परिचयपत्र मात्रै बोकेका छन् भने कसैले झोला समेत लिएर आएका छन् ।

सेनामा भर्ती हुन भन्दै लाइनमा बसेका अधिकांशसँग न बन्दुक चलाएको कुनै अनुभव छ न त युद्धको नै । तर युद्धमा ज्यान जान सक्ने कुराले उनीहरू कत्ति पनि त्रसित देखिँदैनन् ।

भर्खरै चालिस वर्ष कटेका इगोर भ्याजोभोय लाइनमै थिए । आल्मुनियमका झ्याल-ढोका बनाउने इगोरले लड्ने बेला आएको भन्दै सेनामा भर्ना हुन चाहेको बताए । ‘मेरो राम्रो काम छ’, स्काई न्युजका जोन स्पार्क्ससँग कुरा गर्दै उनले भने, ‘मैले आल्मुनियमका झ्याल बनाउछु, ठूला भवनमा आल्मुनियमको काम गर्छु तर अब म लड्नु पर्छ ।’

‘यसअघि केही आशंका थियो तर अहिले म पूरै तयार छु किनभने यो युद्ध हो’, बन्दुक बोकेर लड्न तयार हुनुहुन्छ भन्ने प्रश्नको उत्तर दिँदै इगोरले भने ।
इगोर नजिकै कलेजी रंगको जाकेट र ऊनीको टोपी लगाएकी काटेजिना कोजी छन् । मिठो बोली भएकी उनी बैंक म्यानेजर हुन् । एघार र चार वर्षे दुई छोरीकी आमा भए पनि उनी सेनामा स्वयंसेवक भन्न तयार छन् ।

‘हतियार प्रयोग गर्न तयार हुनुहुन्छ त ?’ काटेजिनालाई लाई प्रश्न सोधिएको थियो । उक्त प्रश्नको उत्तर दिँदै उनले भनिन्, ‘छु तर मैले शुटिङ रेन्जमा मात्रै गोली चलाएकी छु । मसँग खासै अनुभव छैन तर चाँडै सिक्ने मानिस हुँ ।’

‘हामी घाइते भइसकेका छौं, हामीहरू अघिदेखि नै पीडामा छौं र म डराउन छोडिसकेँ’, लडाइँमा घाइते हुन पनि सक्नुहुन्छ नि भन्ने प्रश्नको उत्तर दिँदै काटेजिनाले भनिन्, ‘यही कारण म केही गर्न चाहन्छु ।’ राजकाजको खासै अनुभव नभएका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीको व्यवहारबाट प्रेरित भएर स्वयंसेवक बन्न तयार रहेको पनि उनको भनाइ थियो ।

सबैलाई थाहा छ- रुसी सेनासँग राम्रा हतियार छन् र उनीहरू तालिमप्राप्त छन् । यही भएर डिनिप्रोका मानिसलाई गम्भीर क्षति हुने खतरा छ । तर सर्गेई सिल्दिभ जस्ता स्वयंसेवकले आफ्नो मनबाट यो कुरा हटाइसकेका छन् ।

‘मेरो विचारमा एक जना युक्रेनी सेना कम्तिमा सात जना रुसी सेनाका लागि भारी हुन्छन्’, सिल्दिभले भने, ‘लडाइँ जितिन्छ भनेर म ढुक्क छु ।’

–स्काई न्युजबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?