+
+

‘म यस्तो गीत गाउँछु २’को व्यापार सुखद्, पछाडि परे हिन्दी फिल्म

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन १५ गते १४:०२

१५ फागुन, काठमाडौं । आफ्नै देशमा पनि विदेशी चलचित्रसँग भाग्ने गरेको आरोप नेपाली चलचित्रका निर्माता-निर्देशकलाई बारम्बार लाग्ने गर्दछ । किनकि, विदेशी चलचित्र रिलिज भएको समयमा आफ्नो चलचित्र रिलिज गर्न नेपाली मेकरहरु डराएका उदाहरण धेरै छन् ।

तर बक्स अफिसमा नेपाली चलचित्रले विदेशी चलचित्रलाई पछि पारेका उदाहरण थुप्रै छन् । शुक्रबारदेखि रिलिज भएको सुदर्शन थापाद्वारा निर्देशित चलचित्र ‘म यस्तो गीत गाउँछु २’ले दर्शकलाई फेरि हलसम्म फर्काएको छ । शुक्रबार करिब ६० प्रतिशतको अकुपेन्सीमा व्यापार गरेको चलचित्रले शनिबार बक्स अफिसमा आक्रामक व्यापार गरेको निर्माणपक्षले बताएको छ ।

कोरोनाको महामारीपछि रिलिज भएका चलचित्रमध्ये बक्स अफिसमा सुरुवाती आक्रामक व्यापार गर्ने चलचित्रमा ‘म यस्तो गीत गाउँछु २’ पर्छ । शनिबार देशभरका सिंगल तथा मल्टिप्लेक्स हलमा चलचित्रले आक्रामक सुरुवात गरेको वितरक करण क्रेजी र नरेन्द्र महर्जनले जानकारी दिए । शनिबार काठमाडौंका सिंगल तथा मल्टिप्लेक्स हलमा अनलाइनखबरको टिम पुग्दा दर्शकको उपस्थिति उल्लेख्य देखिएको थियो ।

काठमाडौंका अष्टनारायण, क्यूएफएक्स, बिग मुभिज, वान सिनेमाज, बीएसआर, आरके लगायतका हलमा दर्शकको उच्च चाप देखियो । यस्तै काठमाडौं बाहिरका चितवन, पोखरा, नेपालगञ्ज, विर्तामोड, दमक लगायतका स्थानमा पनि चलचित्रले बम्पर कारोबार गरेको छ ।

यो चलचित्रको तुलनामा बलिउड चलचित्र ‘गंगुबाई काठियावाडी’को समेत व्यापार केही कमजोर देखियो । यसैले मल्टिप्लेक्समा शनिबार हिन्दी चलचित्रको भन्दा नेपाली चलचित्रको शो बढी थियो ।

अर्को भारतीय चलचित्र ‘वलिमै’ भने बक्स अफिसमा पछारिएको छ । हलमा भेटिएका निर्देशक सुदर्शन थापाले भने, ‘राम्रो चलचित्र बनायो भने बक्स अफिसमा जहिले पनि चल्छ भन्ने पुष्टि भएको छ । दर्शकले चलचित्र अत्यधिक मन पराउनुभएकाले गर्दा पनि आगामी दिनमा पनि चलचित्रले राम्रो कमाइ गर्ने अपेक्षा छ ।’

अभिनेत्री पूजा शर्माले दर्शकको माया देखेर आफू भावुक भएको बताइन् । उनले भनिन्, ‘हामी दर्शकलाई पर्दा उहाँहरुको साथमा भयौं भने उहाँहरु पनि हामीलाई पर्दा एकसाथ अगाडि आउनुहुन्छ भन्ने पुष्टि भएको छ । हलमा दर्शक फर्काउन हामी सफल भएका छौं ।’

काठमाडौंका हल सञ्चालकहरुले साउथ चलचित्र ‘पुष्पा’ र हलिउडको चलचित्र ‘स्पाइडर म्यान’पछि दर्शकको उच्च फ्लो ‘म यस्तो गीत गाउँछु २’मा देखिएको बताए । मंगलबार शिवरात्रीका लागि मल्टिप्लेक्सहरुले ‘म यस्तो गीत गाउँछु २’को लागि उच्च शो दिइसकेका छन् ।

पल शाह, पूजा शर्मा, हरिहर शर्मा, दिनेश डीसी, गणेश गिरी लगायतका कलाकारको मुख्य भूमिका रहेको यो चलचित्रलाई सांगीतिक लभस्टोरीमा तयार पारिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?