४ असोज, काठमाडौं । नेपालमा सम्भावित विपद्को पूर्वतयारी, द्रुत खोजी, उद्धार तथा राहत कार्यलाई प्रभावकारी बनाउने उद्देश्यका साथ ‘क्राइसिस कनेक्ट नेपाल (CCN)’ स्थापना गरिएको छ ।
काठमाडौंस्थित टेकस्पायर कलेजको सगरमाथा हलमा शनिबार आयोजित प्रारम्भिक साधारण सभाले सुरज राज पाण्डेको नेतृत्वमा क्राइसिस कनेक्ट नेपाल गठन गरेको हो ।
संस्थाको दैनिक तथा रणनीतिक कार्यसञ्चालनका लागि ७ सदस्यीय सञ्चालक समिति, मुख्य कार्यकारी अधिकृत र विभिन्न ५ वटा विषयगत समितिहरू क्रियाशील रहने कार्यक्रममा जानकारी दिइएको थियो ।
क्राइसिस कनेक्ट नेपालले आधुनिक डिजिटल कमान्ड प्रणाली र तालिमप्राप्त स्वयंसेवकहरूको सञ्जालमार्फत विपद्का बेला तुरुन्त र स्वायत्त रूपमा खटिने परिपाटीको विकास गर्ने जनाएको छ । संस्थाले स्थानीय तहका साना घटनादेखि राष्ट्रिय स्तरका महाविपद्सम्ममा प्रविधिमैत्री ड्यासबोर्डमार्फत प्रभावकारी खोजी, उद्धार र राहत सञ्चालन गर्ने लक्ष्य राखेको छ ।
संस्थाको प्रशासनिक तथा नीतिगत संरचनामा २१ जना मताधिकारप्राप्त संस्थापक सदस्यहरू, सञ्चालक समिति र विपद् व्यवस्थापन, आपतकालीन चिकित्सा, जीआईएस प्रविधि, कानुन तथा स्रोत परिचालन लगायतका ७ वटा क्षेत्रका विशेषज्ञहरू सम्मिलित सल्लाहकार समितिको व्यवस्था छ ।
क्राइसिस कनेक्ट नेपाल विपद् पूर्वतयारी, आपतकालीन प्रतिक्रिया र सामुदायिक पुनरुत्थानमा समर्पित एक गैर–नाफामूलक संस्था हो । केन्द्रीय डिजिटल कमान्ड सिस्टम र प्रमाणित स्वयंसेवक सञ्जालमार्फत यस संस्थाले नेपालभर जुनसुकै विपद्को समयमा द्रुत खोजी, उद्धार तथा राहत परिचालन गर्ने जनाएको छ ।
प्रतिक्रिया 4