
१६ फागुन, काठमाडौं। उत्तर कोरियाले जासूसी स्याटालाइटमा जडान गरिने क्यामेरा परीक्षण गरेको बताएको छ ।
आइतबार जासूसी स्याटालाइट (भू-उपग्रह)मा जडान गरिने क्यामेराको परीक्षण भएको उत्तर कोरियाको सरकारी समाचार माध्यम केसीएनएले जनाएको हो । उक्त परीक्षण ‘जासूसी सेटलाइट निर्माणका लागि निकै महत्वपूर्ण’ भएको समाचारमा उल्लेख छ ।
पछिल्लो परीक्षणपछि हरेक कोण (भर्टिकल र ओब्लिक)बाट पृथ्वीको कुनै पनि क्षेत्रको तस्वीर खिच्न सक्ने क्यामेराको विशेषता र सटिक क्षमता प्रमाणित भएको पनि समाचारमा उल्लेख छ । सरकारी समाचार माध्यमले कोरियाली प्रायद्वीपका दुईवटा तस्वीरसमेत सार्वजनिक गरेको छ ।
दक्षिण कोरियाली र जापानी अधिकारीले भने आइतबारको परीक्षणलाई ब्यालेस्टिक क्षेप्यास्त्र भनेका थिए । गतवर्ष उत्तर कोरियाका नेता किम जोङ उनले जासुसी स्याटालाइटसहित अत्याधुनिक हतियार विकास गर्ने बताएका थिए ।
कुनै पनि सेटलाइटलाई पृथ्वीको कक्षमा पठाउन लामो दूरीका रकेट आवश्यक पर्छ । तर राष्ट्रसंघले यस खाले रकेट प्रक्षेपणमा उत्तर कोरियामाथि प्रतिबन्ध लगाएको छ । ब्यालेस्टिक क्षेप्यास्त्र र स्याटालाइट पठाउन प्रयोग हुने रकेटको विशेषता, इन्जिन र अन्य प्रविधि एकै खाले हुने भएकाले प्रतिबन्ध लगाइएको हो । एजेन्सीको सहयोगमा
प्रतिक्रिया 4