१९ असोज, काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा कोशी प्रदेशको महिला (युवा) तर्फबाट केन्द्रीय सदस्य पदमा रुबी सिटौलाले उम्मेदवारी घोषणा गरेकी छन् ।
झापाबाट कांग्रेसको राजनीतिमा अघि बढेकी उनले अब राष्ट्रिय जिम्मेवारीसँग जोड्ने समय आएको बताउँदै सिटौलाले उम्मेदवारी घोषणा गरेकी हुन् ।
उम्मेदवारी घोषणा गर्दै सिटौलाले आफ्नो लक्ष्य केवल निर्वाचन जित्नु नभई त्यसपछि निर्माण हुने राजनीतिक यात्रालाई परिणाममुखी बनाउनु रहेको बताएकी छन् ।
उनले कांग्रेसमा नयाँ आर्थिक सोच, प्रविधिमैत्री संगठन, अवसरमा समान पहुँच र राजनीतिक संस्थाप्रति पुन:विश्वास निर्माण आजको प्रमुख आवश्यकता भएको उल्लेख गरेकी छन् ।
सिटौलाले आफ्नो उम्मेदवारीलाई कुनै क्षणिक राजनीतिक लहर नभई आगामी दशकको कांग्रेस कस्तो हुनुपर्छ भन्ने आफ्नो दृष्टिकोणको सार्वजनिक घोषणाका रूपमा प्रस्तुत गरेकी छन् ।
सिटौला दन्तचिकित्सा शास्त्र अध्ययनरत छिन् ।
स्वास्थ्य क्षेत्रको अध्ययनसँगै सामाजिक तथा नीतिगत विषयमा सक्रिय रहँदै आएकी उनले राजनीतिमा योग्यता, क्षमता, योगदान र नयाँ पुस्ताको सहभागितालाई प्राथमिकता दिनुपर्ने धारणा राख्दै आएकी छन् ।
सिटौलाले आफ्नो उम्मेदवारीमार्फत महिला तथा युवाको प्रतिनिधित्वलाई थप प्रभावकारी बनाउँदै कांग्रेसलाई नयाँ पुस्ताको अपेक्षा र बदलिँदो समयअनुकूल बनाउने संकल्पसमेत व्यक्त गरेकी छन् ।
‘नयाँ अध्यायतर्फको यो यात्रामा स्पष्ट दृष्टिकोण र जिम्मेवारीबोधका साथ अघि बढेकी छु,’ उनले भनेकी छन् ।
प्रतिक्रिया 4