+
+

घरेलु फुटबलका नयाँ स्टार ऋतिक

गोविन्दराज नेपाल गोविन्दराज नेपाल
२०७८ फागुन १६ गते १८:५५

१६ फागुन, काठमाडौं । शहीद स्मारक ए डिभिजन लिगका लागि थ्रीस्टारमा यस सिजन राष्ट्रिय टिमका दुई खेलाडी थिए, अनन्त तामाङ र आयुष घलान । अनन्त यस अघिदेखि थ्रीस्टारबाटै खेलिरहेका थिए भने आयुष यसै सिजन थ्रीस्टारमा भित्रिएका थिए ।

राष्ट्रिय टिममा डेब्यू गर्दै युवा उमेरमै गोल समेत गरेपछि आयुषको खुबै चर्चा भएको थियो । त्यसैले उनी ठूलो क्लब थ्रीस्टारमा अनुबन्ध भए ।

यसबाहेक राष्ट्रिय टिमबाट खेलिसकेका कप्तान बिक्रम लामा, निशान खड्का, सञ्जोक राई र हेमन्त थापामगर पनि थिए । हेमन्त पनि यसै सिजन थ्रीस्टारमा अनुबन्ध भएका हुन् । यसबाहेक पनि थ्रीस्टारले लिगका लागि अरु युवा खेलाडीहरु अनुबन्ध गरेको थियो ।

अहिलेका लागि भन्दा भविष्यका लागि सोचेर क्लबले खेलाडीहरु अनुबन्ध गरेको जस्तो देखिन्थ्यो । त्यसैमध्येका थिए २० वर्षका ऋतिककुमार खड्का । अहिले लिग सकिँदा थ्रीस्टारबाट उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीको सूचीमा उनको नाम पनि आउँछ ।

यस सिजन थ्रीस्टारका लागि सर्वाधिक गोल गर्ने पनि उनै ऋतिक रहे । ऋतिकले सबै १३ खेल खेल्दै तीन गोल गरे । सबै खेलमा पहिलो रोजाइमै मैदान उत्रिएका उनले नौ खेलमा पूरा समय मैदानमा बिताए ।

नाम चलेका खेलाडीहरुबाट थ्रीस्टारले ठूलो आशा गरेको थियो । तर, ती खेलाडीले क्लबले आशा गरेअनुसार प्रदर्शन गर्न सकेनन् । जसको अभाव केही हदसम्म युवा खेलाडी ऋतिकले गर्न सके ।

उनले मनाङ मर्स्याङ्दी क्लब, नेपाल पुलिस जस्ता ठूला टिमविरुद्ध गोल गरे । ऋतिकले थ्रीस्टारको सुरुवाती ६ खेलमा भने गोल गर्न सकेनन् । सातौं चरणमा जाउलाखेल युथ क्लबविरुद्ध २–१ को जित हात पार्दा टिमको लागि दोस्रो गोल ऋतिकले गरेका थिए ।

नवौं चरणमा संकटा विरुद्धको खेलमा गोल गर्न नसके पनि उनले १०औं चरणमा मनाङ र ११औं चरणमा पुलिसविरुद्ध गोल गरे । दुवै खेल १–१ को बराबरीमा सकिएको थियो ।

मनाङविरुद्ध एक गोलले पछि परेको अवस्थामा ऋतिकले थ्रीस्टारका लागि बराबरी गोल फर्काएका थिए । यस्तै पुलिसविरुद्ध ऋतिककै गोलमा थ्रीस्टारले पहिले अग्रता बनाएको थियो । अग्रता जोगाउन नसक्दा अंक बाँड्यो ।

ठूलो क्लबबाट खेल्दा पनि ऋतिकले राम्रो प्रदर्शन गरे । जाउलाखेल युथ क्लब विरुद्ध गरेको पहिलो गोल नै उनलाई लिगको उत्कृष्ट गोल लाग्छ । ‘त्यो ट्याप इन गोल थियो । यस लिगमा मेरो बेस्ट गोल त्यही हो । यस्तै मनाङविरुद्ध गरेको गोल पनि राम्रो थियो’ ऋतिकले अनलाइनखबरसँग भने ।

यसअघि ब्रिगेड ब्वाइज क्लब (बीबीसी) बाट दुई पटक ए डिभिजन लिग खेलेका ऋतिकको यो तेस्रो लिग खेल को । उनले क्लबमा सिनियर खेलाडीहरुबाट राम्रो सहयोग र साथ पाएकाले सजिलो भएको बताए । ‘यसअघि बीबीसीबाट दुई सिजन लिग खेलिसकेको थिएँ । यस पटक थ्रीस्टारबाट खेल्दा नयाँ अनुभव भएको छ’ उनले अनलाइनखबरसँग भने ।

ऋतिक बीबीसीबाट खेल्दाका प्रशिक्षक उर्जेन श्रेष्ठ यस पटक थ्रीस्टारको मुख्य प्रशिक्षक बनेका छन् । उर्जेनसँगै ऋतिक पनि थ्रीस्टार आएका हुन् । ‘म यहाँसम्मको यात्रामा प्रशिक्षक उर्जेनले धेरै गर्नुभएको छ,’ ऋतिकले भने ।

प्रशिक्षक श्रेष्ठले पनि ऋतिकको प्रदर्शन राम्रो रहेको र उनी सम्भावनायुक्त खेलाडी भएको बताए ।

सर्लाही लालबन्दीका ऋतिकले सुरुमा मोफसलकै टिमबाट गोल्डकपहरु खेले । त्यसपछि उनी ललित स्मृति यु–१८ फुटबलका लागि काठमाडौं आए । ‘सर्लाही/धनुषाका प्रशिक्षक अर्जनु चौधरीमार्फत नै म ललित स्मृति खेल्न काठमाडौं आएको हो’ उनले सम्झिए ।

यू–१८ च्याम्पियनसिपमा बीबीसीबाटै खेले । बीबीसीले तेस्रो संस्करणको ललित स्मृति फुटबलको उपाधि जित्दाका सदस्य हुन्, ऋतिक । त्यसबेला बीबीसीमा बृजेश चौधरी, शिशिर लेखी, जय गुरुङ, रणदीप पौडेल लगायतका खेलाडीहरु थिए ।

‘सुरुमा मैले सर्लाहीबाट विभिन्न गोल्डकप हरु खेलेको थिएँ । त्यसपछि यू–१८ मा ब्रिगेडबाट खेलें,’ ऋतिकले पुराना दिन सम्झिए, ‘ब्रिगेडले राम्रो अवसर दियो । गोल्डकपहरु पनि खेलें ।’

ऋतिकले उमेर समूहको राष्ट्रिय टिमबाट पनि खेलिसकेका छन् । उनले यू-१९ र यू-२३ उमेर समहूबाट खेलिसकेका छन् । ‘अब सिनियर टिमबाट खेल्ने उनको लक्ष्य छ’ उनी भन्छन्, ‘सिनियर टिमबाट खेल्न अझै राम्रो प्रदर्शनलाई निरन्तरता दिनुपर्छ ।’

सानैदेखि फुटबलमा जीवन देखेका ऋतिकले विदेशमा गएरसमेत फुटबल खेल्ने सपना देखेका छन् ।

लेखकको बारेमा
गोविन्दराज नेपाल

नेपाल अनलाइनखबर डटकमका खेलकुद संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?